सागको पुरस्कार रकम खेलाडीको बैंक खातामा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई घोषित पुरस्कार  प्रदान गरिएको छ। गत मंसिरमा नेपालमा सम्पन्न साग लगत्तै विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रम गरेर पुरस्कार दिने घोषणा गरेका थिए। युवा तथा खेलकुद मन्त्रालयको लेखा शाखाका अनुसार सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई बैंक खातामार्फत पुरस्कार रकम पठाइएको हो। पुरस्कारका लागि १९ करोड ५३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

प्रशिक्षक र संघका लागि घोषित पुरस्कार भने दिइएको छैन। कतिपय प्रशिक्षकको पेश्की फर्छौट नभएकाले पुरस्कार प्रदानमा ढिलाइ हुने भएको हो। यसअघि चैत पहिलो साता मन्त्रालयले सागका पदक विजेताले पेश्की फर्छ्यौट गरेपछि मात्र पुरस्कार पाउने बताएको थियो। पुरस्कार पाउनले बेरुजु वा अन्य बाँकी रहेको-नरहेको भन्ने स्व:घोषणा गर्ने बाध्यात्मक व्यवस्था भएकाले पुरस्कार वितरण लम्बिएको थियो।

फागुनमा मन्त्रिपरिषद्ले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनलाई स्वीकृत गरेपछि खेलाडीका लागि पुरस्कार दिने बाटो खुलेको थियो। कार्यविधिमा सार्वजनिका कार्यक्रम गरेर पुरस्कार दिनु पर्ने उल्लेख भए पनि लक डाउनका कारण बैंक खातामार्फत पुरस्कार प्रदान गरिएको हो। कार्यविधिमा सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने व्यवस्था छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरी कार्यविधिमा स‍ंशोधन गरिएको छ। नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ। मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।