चलचित्र गीत संगीत २०७६ : न जोस न जागर पुर्णत:असफल

चलचित्रको व्यापार सुखद नहुनुमा गीत संगीतको पनि हात रहन्छ । २०७६ सालमा जति पनि चलचित्र गीत सार्वजनिक भए तिनमा एकाध बाहेक सबै फ्लप नै भएको मान्नु पर्छ । पहिले पहिले गीतले नै चलचित्र हिट बनाउदै आएको पनि हो । यो वर्ष गीत संगीतलाई चलचित्रकर्मीहरुले त्यति महत्व दिएर काम गरे जस्तो देखिएन । कुल निर्मिति ५६ वटा चलचित्र मध्ये ‘घर’ चलचित्र बाहेक सबैमा गीत रहेता पनि ति कुनै पनि गीतले चलचित्र बोक्न सकेनन । चलचित्रमा गीत चाहिन्छ यसो हालौ न भन्ने तरिकाले हालेको मात्र देखियो । त्यसमाथी नयॉ गीत बनाउने भन्दा पनि गायक संगीतकार र गीतकारका रेकर्ड भएर वर्षौ अधिदेखि थन्किएका गीतहरु खोज्न पट्टि निर्देशक र निर्माता लागिपरेको देखियो । गीतमा लगानी गर्ने जमर्को देखिएन ।

बैशाख १३ गते ‘कालो वर्ष’ नामक चलचित्र प्रदर्शनमा आए पश्चात क्रमशः दाल भात तरकारी, पसिना, जात्रै जात्रा, वीरविक्रम-२, कप्स , कुम्भ करण, काउसो, रेश, प्रेमदिवस, झट्का, आप्पा, कृर्तिपुर द लिजेण्ट अफ कृतिलक्ष्मी, सानो मन , घर, बदला, एकलब्य, सुपर गोर्खे, न यता न उता, रातो गलबन्दी, साईनो , रे, काचुली, हजार जुनीसम्म, जायरा, मारुनी, सोच, पासवर्ड, हिरो नं १, कबड्डी कबड्डी कबड्डी, रातोटिका निधारमा, कालेदाई, शिभम्, छ माया छपक्कै, लक्ष्मीरानी, पोई पर्यो काले ,वादशाह जुट, जीवन काडा की फ़ुल , घामड सेरे, मिस्टर नेपाली, साम्हाली राख है , च च हुई, सरौतो, लब यु हमेशा, मखमली मखमली, माछा माछा, माया पिरिम, १२ सत्ताईस, दि कर्मा, सेल्फी किंग,साङ्लो, लभ डायरिज, आमा  सेन्टीभाईरस र धुलो नामक चलचित्र प्रदर्शनमा आएका थिए । तर एक हातको औँला बराबरका फिल्म पनि आर्थिक रुपमा सफल भएनन् । आधा दर्जन फिल्मले पनि आफ्नो लगानी उठाउन सकेन ।

यसपाली चलचित्रमा समाबेस गीत कुल १२५ रहे । यि मध्ये दाल भात तरकारी र साङ्लोका गीत अरु चलचित्रका बढि रोजाई मा परे । तर यिनलाई पनि सुपरहिट भन्न सुहाउदैन । हिट भएका चलचित्रहरुका गीत पनि श्रोताहरुले खाशै रुचाएको देखिएन । भिजिट भिषामा, चरिले काफल  बोलका गीत अन्य गीतको तुलनामा जनमानसले रुचाएको देखियो । अरु सबै गीत फ्लप ।

वर्ष २०७६ मा चलचित्र गीत लेखनमा ६० जाना गीतकारहरु देखापरे । रबि मल्ल, हर्क साउद, बासु,र शंकर अधिकारी घायलले तिन तिनवटा गीत लेखेर अरु गीतकारभन्दा अधि रहे । केहि संगीतकारहरु पनि गीत लेखनमा अग्रसर रहदै आउने परिपाटी यसपाली पनि रोकिएन । राजनराज सिवाकोटी यो ममलामा सबैभन्दा अधि देखिए । उनको आफ्नै रचनामा चार गीत यसपाली सार्वजनिक भएका छन् । यसपाली हिट गीत दिने सौभाग्य चाहि हरिवंस आचार्य र राजनराज सिवाकोटीलाई मिल्यो ।

चलचित्र संगीत तर्फ यसपाली ५७ जाना संगीतकार संक्रिय रहे । चलचित्रभन्दा पनि चलचित्र संगीतकार देखापरे । एकाध संगीतकारले मात्र एकल संगीत गर्न पाएका थिए । प्राय सबैले एउटै गीतमा मात्र संगीत गर्न पाएको देखियो । संगीतकारहरु मध्य अर्जुन पोखरेलले सबैभन्दा धेरै चलचित्रमा संगीत गर्ने मौक़ा पाए । ९ वटा गीतमा उनको संगीत देखियो । उनलाई पछ्छाउदै राजनराज सिवाकोटीले ५ वटा गीतमा संगीत गर्ने मौक़ा पाए । हिट गीत दिने संगीतकार चाहि शम्भुजित बासकोटा र राजनराज सिवाकोटी रहे ।

चलचित्र संगीत संयोजनतर्फ भने यसपाली २५ जाना संक्रिय रहे । रिकेश गुरुंग र उदयराज पौडेलले सबैभन्दा धेरै गीतमा संगीत संयोजन गरेको देखियो । दुवैले अरुलाई पछि पार्दै ९, ९ गीतमा संयोजन गरेका थिए। हिट संगीत संयोजक मा रिकेश गुरुंग र राजन इसान रहे । भिजिट भिषा र चरिले काफल बोलका गीत यि दुई संयोजकको कमाल हो ।

चलचित्र पृष्ठ संगीततर्फ २० जाना संक्रिय देखिए । यि मध्ये शैलेस श्रेष्ठले सबैभन्दा बढि चलचित्रमा पृष्ठ संगीत गर्ने अवसर पाए । उनले ७ चलचित्रमा काम गरेका थिए । उनलाई पछ्छाउदै रोहित शाक्यले ५ , र इमान विक्रम शाहीले ४ वटामा पृष्ठ संगीत गरेका थिए ।

चलचित्र गायनतर्फ यसपाली १०७ गायक गायिका सामेल भएको देखियो । जस्मा पुरुष ६४ जाना र महिला ४४ जाना रहेका छन् । केहि गीत संगीतकार र गीतकार आफैले पनि गाएको देखियो । सबैभन्दा धेरै गीत निशान भट्टराईले गाउने मौक़ा पाए भने उनलाई पछ्छाउदै सुरेश लामा र प्रताप दासले ४, ४ वटा गीत गाएका थिए । निशानले भने ५ वटा गीत गाएका थिए । यसपालीको हिट गायक पनि निशान नै ठहरिए । भिजिट भिषा उनको हिट गीत रह्यो । सुरेश र प्रतापका कुनै पनि गीत हिट भएनन । अन्य गायकको त उहि गाउने काम मात्र भयो । मुल कर्म संगीत र रचना भए पनि यसपटक राजनराज सिवाकोटीले आफ्नै संगीत र रचनामा चलचित्रमा सर्वाधिक धेरै गीत गाए । उनले सबै गायकहरुलाई पछि पार्दै आफैले ७ वटा गीत गाईदिए । उनैले मिलन नेवारसंग युगल गाएको गीत चरिले काफल हिट पनि भयो ।

गायिकातर्फ देखापरेका ४४ मध्ये मेलिना राई अग्र स्थानमा रहिन भने उनलाई पछ्छाउदै अन्जु पन्त दोस्रो स्थानमा रहिन । मेलिनाले कुल १२ वटा गीतमा स्वर दिदा अन्जुले पनि १० वटा गीत गाएका थिईन । मेलिना र अन्जुको पछि पछि मिना निरौला , नित्याशिवा रहे । दुबै गायिकाले क्रमश ६ वटा र ४ वटा गीत गाएका थिए । अन्य गायिकाहरु पछि नै रहे । हिट भएका दुई गीत एउटा अन्जु पन्त र आर्को मिल्न नेवारको थियो । अन्जुले गाएको भिजिट भिषा र मिलनले चरिले काफल हिटको सुचिमा रहे । सबैभन्दा धेरै गीत गाउने मेलिनाको एउटै गीत हिट रहेन ।

यति कमजोर गीत चलचित्रमा यो भन्दा अधि कहिल्यै देखिएको थिएन । गीतमा मिहेनत र लगानी नगर्ने हो भने यसलाई बरु झिकिदिए फरक पर्दैन तर यस्तो झारा टराई नगरेकै राम्रो ।