चलचित्र वर्ष २०७६ रहेन सुखद्,छैन लक्षण शुभ

बि.सं.२०७६ सालमा कुल ५६ वटा चलचित्र सार्वजनिक प्रदर्शनमा आए । अधिल्लो वर्ष कुल १०० चलचित्र प्रदर्शनमा आएका थिए । तुलनात्मक रुपमा लगभग ४५% ले यसवर्ष चलचित्र प्रदर्शनमा कमि आएको देखियो ।

बैशाख १३ गते ‘कालो वर्ष’ नामक चलचित्र प्रदर्शनमा आए पश्चात क्रमशः दाल भात तरकारी, पसिना, जात्रै जात्रा, वीरविक्रम-२, कप्स , कुम्भ करण, काउसो, रेश, प्रेमदिवस, झट्का, आप्पा, कृर्तिपुर द लिजेण्ट अफ कृतिलक्ष्मी, सानो मन , घर, बदला, एकलब्य, सुपर गोर्खे, न यता न उता, रातो गलबन्दी, साईनो , रे, काचुली, हजार जुनीसम्म, जायरा, मारुनी, सोच, पासवर्ड, हिरो नं १, कबड्डी कबड्डी कबड्डी, रातोटिका निधारमा, कालेदाई, शिभम्, छ माया छपक्कै, लक्ष्मीरानी, पोई पर्यो काले ,वादशाह जुट, जीवन काडा की फ़ुल , घामड सेरे, मिस्टर नेपाली, साम्हाली राख है , च च हुई, सरौतो, लब यु हमेशा, मखमली मखमली, माछा माछा, माया पिरिम, १२ सत्ताईस, दि कर्मा, सेल्फी किंग, सांग्लो, लभ डायरिज, आमा र सेन्टीभाईरस र धुलो नामक चलचित्र प्रदर्शनमा आएका थिए । तर एक हातको औँला बराबरका फिल्म पनि आर्थिक रुपमा सफल भएनन् । आधा दर्जन फिल्मले पनि आफ्नो लगानी उठाउन सकेन ।

कोभिड १९ को प्रभावले फागुन ९ यता कुनै पनि चलचित्र प्रदर्शनमा आउन सकेनन । कोभिड–१९ (कोरोना भाइरस)का कारण विश्वभरका चलचित्र प्रभावित हुँदा नेपाली चलचित्र पनि यसबाट अछुत रहन सकेन । विभिन्न रिपोर्टका अनुसार चलचित्रको विश्व बजारमा यस भाइरसकै कारण चलचित्रको प्रदर्शन सार्दा र प्रदर्शन भइरहेका चलचित्र रोक्नुपर्दा सात खर्बको क्षति भएको छ । चलचित्रका प्रवर्द्धनात्मक कार्यक्रमहरु रोकिएका छन् । चलचित्रका प्रदर्शन मितिसमेत धकेलिएका छन् । अब संसारमा यस्तो प्रभाब नहटेसम्म चलचित्र क्षेत्र बन्द नै रहने देखिन्छ । सरकारले अब हामी भाईरसबाट सुरक्षित छौ नभनेसम्म सुटिंग, पोष्टप्रोडक्सन,प्रदर्शन सबै रोकिने देखिन्छ । उद्योग राम्रोसंग तंग्रिन कम्तिमा १ वर्ष लाग्छ ।

नेपालको चलचित्र उद्योगमा यो वर्ष खाशै चर्चा गर्न लायक गतिबिधी केहि देखिएनन । पुर्ववत् चल्ने बाहेक केहि भएन । दर्शकहरु पनि एकाध बाहेक कुनै पनि चलचित्रपट्टी आकर्षित भएको देखिएन । अधिल्ला वर्षहरुमा जस्तो चलचित्र प्रदर्शन गराउन हुने चलखेल अलि कम देखियो । तुलनात्मक रुपमा चलचित्र क्षेत्र शान्त नै देखियो । संध सस्थाका गतिबिधी पनि उल्लेख्यिय केहि देखिएन । झै-झगडा विबाद पनि अत्यन्त कम भए । कलाकारको स्कि्यान्डल पनि त्यति सारो देखिएन । यो वर्ष नेपाली चलचित्रको व्यापार मात्र होइन, कलाकारको करिअर पनि सुखद देखिएन । धेरै स्टार भनिएका कलाकार यो वर्ष चिप्लिए । केही कलाकारको त चलचित्र नै रिलिज भएन ।

एकै कलाकारको पारिश्रमिक ५० लाख दाबी गरिए पनि नेपाली फिल्मको लगानी सरदर ५० देखि ७० लाखै हो। यस हिसाबले हेर्दा नेपाली चलचित्रमा ३५ करोड लगानी भएको अनुमान गर्न सकिन्छ । व्यवसायिक रुपमा  अत्यन्त कम चलचित्र सफल देखिए । दाल भात तरकारी, कबड्डी , जात्रै जात्रा,छ माया छपक्कै, र आमा दर्शकले रुचाएको देखिदा अन्य ५१ चलचित्र असफल साबित भए ।

अनुमानित ३१ करोड लगानी पुर्ण त सुरक्षित बन्न सकेन । ५ चलचित्रले राम्रो व्यापार गरेर राम्रो नाफा कमाए । बाकी सबै पुर्णत घाटामा रहे । डुबेका ५१ फिल्मको लगानी ६० लाखको दरमा राख्दा ३१ करोड हाराहारी आउँछ। यी फिल्म सबैले गरेर लभभग ५ करोड जति फिर्ता लिए पनि कुल लगानीको २६  करोड त पुर्णत डुब्यो ।  तैपनि फिल्म निर्माणको गति भने रोकिएको छैन। फिल्म बनाउँदा डुबेका केही निर्माता चुपचाप बसेका छन् । केही निर्माता अझै कस्सिरहेका छन्। हल्काफुल्का फिल्म बनाउँदा पनि लगानी सुरक्षित गर्न सफल भाग्यमानी निर्माताहरु नयाँ फिल्म घोषणामा लागेका छन्।

निर्माण

५६ चलचित्रमा कुल १६५ जाना लगानीकर्ता देखिए । यो हुलमा नयॉ पुराना सबै छन् । पुराना भन्दा पनि नयॉ अनुहार बढि छन् । एकल निर्माणभन्दा पनि संयुक्त लगानीका धेरै चलचित्र देखिए । राम शाक्य,चन्द्रकान्त चौधरी, राजेन्द्र त्रिपाठी, किरण शर्मा, शुभेच्छा थापा,प्रेमराज दाहाल,अमृत गर्तौ ला,साबित्रा चिलुवाल, तेजबहादुर खड्का र बिनोद सापकोटाले मात्र एकल लगानीमा चलचित्र बनाएको देखियो । एउटै चलचित्रमा ८ जानासम्म लगानीकर्ता देखिए ।

चलचित्र निर्माणमा महिला लगानीकर्ताको पनि राम्रै उपस्थिती देखियो । शान्ता ढकाल,रन्जिता सिवाकोटी,सरिता गिरी,चन्दा लिम्बु,शर्मिला पाण्डे,इश्वरी ठकुरी,बिनिता अधिकारी,भुवन चन्द्र,कला राई, क़र्ज़ा राई,कबिता रेग्मी,प्रनिता श्रेष्ठ,पुनम गौतम,दर्शना केसी,मिना क्षेत्री,गंगा रजक,कल्पना खरेल,जिनु नेपाल,शुभेच्छा थापा,अमलादेवी राई,जुनु गौतम,किरण शर्मा , कृति शर्मा ,सृजना जोशी,साबित्रा चिलुवाल, रेणु राणा,निशा खतिवडाहरु चलचित्र निर्माण मा देखिए ।अझ शर्मिला पाण्डेले त यहि साल दुईटा चलचित्र बनाईन ।

निर्देशन

कुल ५६ चलचित्रमा ५४ जाना निर्देशक देखापरे । केहि पुराना र बाक़ी सबै नयॉ निर्देशकको आगमन देखिएको छ । कुनै पनि निर्देशकको प्रभुत्व रहेन । रामबाबु गुरुंग र राजु गिरीले २, २ वटा चलचित्र निर्देशन गरे भने अरु सबै एउटै चलचित्रमा सिमित रहे । सफलताको हिसाबले चाहि रामबाबु गरुंगलाई मान्नु पर्छ । उनले निर्देशन गरेको कबड्डी कबड्डी कबड्डी र सेन्टी भाईरस  । तर पछिल्लो सेन्टी भाईरस भाईरसकै कारण मारमा परेर असफल भैदियो । सुदन केसी,प्रदिप भट्टराई, दीपेन्द्र लामा,दीपेन्द्र के खनाल आआफ्नो काममा सफल ठहरिए । शुभेच्क्षा थापा महिला निर्देशकको रुपमा उदाईन ।

लेखन

चलचित्र लेखनमा यो वर्ष २०७६ मा कुल ७१ जाना संक्रिय देखिए । केहि पुराना लेखनको साथमा अध्याधिक नयॉ लेखक देखापरे। प्रदिप भारद्वाज  किरण माईकलले दुइ दुइ चलचित्र लेखेका थिए । प्राय निर्देशकहरुले नै चलचित्र लेखेको देखियो ।

नृत्य

नृत्य कोरियोग्राफीतर्फ कुल ३४ जाना देखापरे । सबैभन्दा धेरै कोरियोग्राफ़ी कबिराज गहतराजले गरेको देखियो । उनी एक्लैले १३ वटा चलचित्रमा नृ्त्य कम्पोज गरेका थिए । उनलाई पछ्छाउदै रामजी लामिछाने पनि ११ वटा चलचित्रमा कोरियोग्राफ़ी गरेका थिए । यसपटक कोरियोग्राफीमा केहि नया महिला अनुहार समेत देखियो । मेघनाद मगर,अंजली खत्री,निशिला शाक्य एन्जिला खत्री पनि चलचित्रको नृत्य कोरियोग्राफ़ी संक्रिय रहे ।

द्वन्द

वर्ष २०७६का केहि चलचित्रले एक्सनलाई पनि महत्व दिएका थिए । एक्सन प्रधान चलचित्रहरुमा यसपाली मारकाट कम्पोज गर्ने काममा १८ जाना कोरियोग्राफरहरु संकिय देखिए । ति मध्ये शंकर महर्जनले सबैभन्दा धेरै फाईट कम्पोज गरेको देखियो । उनले ५ चलचित्रमा द्वन्द कोरियोग्राफी गरेका थिए ।हिजोआज चलचित्रमा एक्सन प्रयोग गर्ने चल्न कम हुदै गएको छ।

सम्पादन

चलचित्र सम्पादनमा ३० जाना संपादकहरु देखा परेका थिए । यि मध्य नेमिष श्रेष्ठले सबैंभन्दा धेरै चलचित्र सम्पादन गरेर आफुलाई अग्रस्थानमा राखेका थिए । उनले यों वर्ष कुल ६ वटा चलचित्र संपादन गरेका थिए । मित्र डि गुरुंगले ५ वटा र तारा थापा किम्भेले ४ वटामा सिमित रहे ।

छायॉकन

चलचित्र छायांकनमा ४८ जाना सिनेमेटोग्राफ़रहरु संक्रिय रहे यों वर्ष । सबैभन्दा धेरै चलचित्रमा रामेश्वर हुमागाईले क्यामरा चलाए । उनले जम्मा ५ वटा चलचित्र छायांकन गरेर  अग्रस्थानमा रहे । उनलाई पछाउदै शैलेन्द्र डी कार्कीले ३ वटा र पुरुषोत्तम प्रधानले २ वटा चलचित्र छायांकन गरेको देखियो । सुसन प्रजापति,रामेश्वर कार्की,शिवराम श्रेष्ठले र संजय लामाले पनि २, २ वटा चलचित्र छायांकन गरे। बाक़ी सबै एउटा एउटा मैं सिमित रहे ।

अभिनय

अभिनय तर्फ पुरुष महिला दुबै गरेर ४२५ जाना पर्दामा देखिएकी पनि संख्यात्मक रुपमा कसैको वर्चस्व रहेन । तीनबटा बढि फिल्म कसैले खेलेनन । अझ महिला कलाकारको त खाशै लोकप्रियता पनि कसैको देखिएन ।

विपिन कार्कीलाई यो बर्ष ‘जात्रै जात्रा’ले सफलता दिलायो । यो चलचित्र जेठको ३ गते रिलिज भएको थियो । यो चलचित्रले व्यापारमा झन्डा गाड्दा विपिनलाई फाइदा भयो । चलचित्र ‘सेल्फी किङ्ग’ व्यापारिक रुपमा असफल भए पनि यस चलचित्रबाट विपिनले राम्रै चर्चा कमाए । यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले रुचाए । विपिनको अभिनयमा विविधता यो चलचित्रबाट पनि देखियो । चलचित्रले समिक्षागत रुपमा तारिफ कमाउँदै गर्दा विपिनको कामको पनि चर्चा भयो । दुई वटा चलचित्रबाटै तारिफ पाएका विपिनि यो वर्षका सफल नायक हुन् ।

नायक दयाहाङ राईका लागि पनि यो वर्ष सुखद मान्नुपर्छ । ‘जात्रै जात्रा’मा उनको उपस्थितीले दर्शकलाई नयाँ स्वाद दियो । दयाहाङ यो चलचित्रबाट छाए । यो वर्षकै सर्वाधिक कमाई गर्ने दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ का नायक दयाहाङका लागि बक्स अफिस सफलता पनि स्वादिलो तरिकाले नै मिल्यो । चलचित्र हाक्ने मुख्य कलाकार भएकाले पनि ‘कबड्डी कबड्डी कबड्डी’ सफलताको श्रेय उनर्लाइ पनि जान्छ ।उसो त, बक्स अफिसमा उनी अभिनित तथा निर्मित चलचित्र ‘माछा माछा’ चिप्लियो भने चलचित्र ‘सेन्टी भाइरस’मा उनको उपस्थितीलाई दर्शकले निको मानेनन् । तर, दुई सफल चलचित्र दिएका दयाहाङका लागि यो बर्ष सुखद देखिएको छ ।

यो वर्ष फेरि एकपटक चम्किएका कलाकार हुन, दीपकराज गिरी ।  रोहितको लगानी रहेको चलचित्रको नाफाको आधा भन्दा बढी हिस्सा लिने घोषण उनले गरे । उनको जोखिमले यो बर्ष उनको काम गर्ने शैलीमा नयाँपन देखियो । तर, जोखिम मोलेर पनि उनी सफल भए । यो बर्षकै सर्वाधिक कमाई गर्ने चलचित्रको रुपमा ‘छ माया छपक्कै’ रहन पुग्यो । दीपकराज गिरीलाई हलमा हेर्ने दर्शकको भीड मात्र देखिएन, यसपटक उनको अभिनयलाई समिक्षकले पनि तारिफ गरे ।

समग्रमा हेर्दा नेपाली चलचित्रमा कोहि पनि सुरक्षित छैन । तिब्र प्रतिस्पर्धा , अबसरको कमीले यसैलाई करियर सोच्ने अवस्था छैन । यसमै लागेर जीवन निर्वाह हुने अवस्था देखिदैन । प्रदर्शन हुने चलचित्र यसमा क्रिर्यासिल हुनेहरुको संख्यालाई भरथेग गर्ने सक्ने संख्यानुसार छैन । प्लक्ष भरि एउटा चलचित्रमा काम गरेर गुज़ारा चल्दैन । न प्राविधिक, न त कलाकार नै बाच्न सक्छन् । अझ नायक, नायिका चलाई अझ गाह्रो ।एउटै चलचित्रबाट ठुलै ख्याति कमाईसकेका कलाकारलाई त वार्षिक खर्च पनि थग्नेअवस्था देँकिदैन ।

फ्लपको बहार 

लगातार नेपाली फिल्म फ्लप हुनुको कारण राम्रो कन्टेन्टको अभाव नै हो । फिल्ममा रहरले आएका निर्माता र मुर्गा खोज्दै हिँडेका निर्देशकले गर्दा फिल्मको व्यापार नबढेको देखियो । आफु निर्देशक बन्न अरुलाई फसाउने काईदा जानेका निर्देशक यो वर्ष पनि हाबी भए । फिल्मसम्बन्धी अध्ययन गर्नेहरु कम छन् । नयाँले फिल्म बनाउँदा विदेशमा कमाएको पैसा पोखेका मात्रै हुन् । अपेक्षा अनुसारको फिल्महरु बनाउन नसक्दा हलसम्म दर्शक आउन रुचि नदेखाएको , दर्शकको छनोट एकातिर, फिल्म अर्कोतिर बन्दा असफल फिल्मको संख्या बढेको  छ । फिल्मका निर्देशक र निर्माताबीच समन्वय हुन नसक्दा स्तरीय फिल्म बन्न सकेनन् । जे मन पर्छ त्यही गरे, दर्शकले कस्तो फिल्म रुचाउँछन् भन्नेतिर ध्यान नदिएकाले धेरै फिल्म फ्लप भए । नेपाली दर्शकले नेपाली फिल्मलाई माया मारेका हैनन्, नेपाली फिल्म नै झुर बनेका हुन्। दर्शकले कुन फिल्म हेर्ने, कुन नहेर्ने पहिल्यै निर्णय गरेर मात्र हलमा आउँदा बजार शिथिल भयो । केही दर्शक इन्टरनेटमा फिल्म कुरेर बस्ने गरेकाले समेत बजार सुस्त  छ । पहिलाको तुलनामा फिल्मको मेकिङ राम्रो भएको छ तर दर्शकको मन मनोरञ्जनतिर नहुँदा त्यसको सकारात्मक प्रभाव पर्न सकेन ।