फिल्ममात्र होइन, दर्शक पनि घटे

  प्रस्तुति:रिना मोक्तान

यो वर्ष भने प्रदर्शनमा आउने फिल्मको संख्या घटेको छ । अघिल्लो वर्षको तुलनामा झन्डै आधा अर्थात ५० जति मात्रै फिल्म यो वर्ष प्रदर्शनमा आएका र आउने देखिन्छ । किन घट्यो त फिल्मको संख्या यसरी ? यसका केही प्रमुख कारणहरु छन्।

पोहोरका फिल्म फ्लप भइदिनाले…

गत वर्ष फ्लप भएका अधिकांश फिल्मको प्रभाव यो वर्ष देखियो। थुप्रै फिल्म डुबेको देखेपछि अधिकांश निर्माताहरु पछि हटे। गत वर्ष फिल्म बनाएका केही थोरै निर्माताले मात्रै फेरि लगानी गर्ने आँट गरे। हलमा पानीसमेत भन्न नपाएका कति निर्माता यो वर्ष दोहोरिएनन्।कलाकार एवं निर्माता दीपकराज गिरी गत वर्षका फिल्मले लगानीसमेत उठाउन नसकेका कारण निर्माताहरु डराएको बताउँछन्। ‘फिल्म त व्यापार पनि हो। फिल्म नचलेपछि पोस्टर टाँसेको पैसासमेत आउँदैन। २ करोडको जुवा खेल्न कसलाई रहर लाग्छ र? २ करोड त आजको मितिमा ठूलै कुरा हो। २ करोड लगाएर २ लाख पनि फिर्ता नआउँदा त ठाडै घाटाको व्यापार हुन्छ,’ उनले भने, ‘त्यसैले फिल्महरु चल्न छोडेपछि निर्माता डराउन थाले। निर्माताले त त्यस्तै फिल्म गर्न खोज्छ जसबाट लगानी सुरक्षित हुन्छ।’

संख्यालाई मात्र हेर्ने हो भने यो पुस महिनासम्म मात्रै ४६ वटा नेपाली फिल्म प्रदर्शनमा आए। ती मध्ये व्यवसायीक रुपमा सफल भनेर वितरकहरु तीनटा फिल्मलाई मात्रै मान्छन्। ‘छ माया छपक्कै’, ‘जात्रै जात्रा’ र ‘कबड्डी कबड्डी कबड्डी’ले व्यवसायिक सफलता बटुले। अन्य दुई तीन फिल्मले लगानीसम्म उठाएको र ४० फिल्मको लगानी नउठेको वितरकहरुको भनाइ छ। केही फिल्मले विदेश प्रदर्शनमै चित्त बुझाए भने केहीले पोस्टरको पैसासमेत उठाएनन्। २०७६ मा आस गरिएका फिल्म ‘पोइ पर्‍यो काले’, ‘घामड शेरे’, ‘चचहुँई’, ‘माछा माछा’, ‘जाइरा’ हलमा नराम्ररी चिप्लिए। स्टार कहलिएका कलाकारको फिल्म फ्लप भइदिए। पुससम्मको फिल्मलाई हेर्दा नतिजा निराशाजनक छ।

फिल्महरु उस्तै उस्तै बनिदिनाले…

निर्माता संघका अध्यक्ष आकाश अधिकारी फिल्मको संख्या घट्नुलाई समस्या मान्दैनन्। ‘संख्या घट्नु ठूलो समस्या होइन। तर, फिल्मको बनावटले पनि प्रदर्शनमा प्रभाव पार्छ,’ अधिकारीले भने। ‘एकैनासको फिल्म बन्दा यस्तो अवस्था आउँछ। सिनेमा, सिनेमाजस्ता बन्न नसकेर पनि हो यसपाली फिल्म कम भएको। हाम्रो चाहना पनि त्यहि हो, थोरै फिल्म बनाउ तर राम्रो बनाउ। क्वान्टिटी भन्दा पनि क्वालिटीमा ध्यान दिउँ,’ उनले भने। कुनै एकखाले फिल्म चलेपछि त्यसकै पछि लाग्ने चलन छ। ‘लुट’ चले लुटजस्तै ‘कबड्डी’ चले कबड्डीजस्तै। ‘छक्कापन्जा’ त्यस्तै फिल्म बनाउनेको पनि लहर नै चल्यो। सिक्वेलहरुको लहर पनि यसकै उपज हो। जुन कथा, पात्र वा सेटिङमा बनेका फिल्म चले त्यसैलाई पछ्याउँदै दोस्रो तेस्रो भाग बनाउनु सामान्य भइसकेको छ।

फिल्मकर्मीहरुको ध्यान राम्रो कथा खोज्ने र अझ राम्रोसँग भन्नेतिर नभइ पैसा कमाउनेको पछिमात्र हुन पुग्दा दर्शक बिच्किएको समीक्षकहरु बताउँछन्। एकैथरिका फिल्मको पछि दौडिनाले उद्योग नै धरासायी हुने अवस्था आएको समीक्षकहरुले बताउँदै आएका छन्। ‘त्यसैले निर्माताहरु फिल्म निर्माण गर्नुअघि सचेत हुन थालेका छन्,’ अधिकारी बताउँछन्। नेपालका लागि वर्षमा ३५ देखि ४० वटा फिल्म पर्याप्त रहेको उनको धारणा रहेछ। ‘फिल्म घट्‌नु त बजार घट्नु हो। फिल्म धेरै नै प्रदर्शनमा आए गत वर्ष। फिल्मको संख्या घट्दा, किन घट्यो भनेर चिन्ता छँदैछ। तर, अर्को पक्षबाट हेर्दा यो राम्रै हो, क्वालिटी फिल्म आउँछ नि त,’ उनले तर्क गरे।

अझै घट्‌न सक्छ संख्या

वितरक प्रचण्डमान श्रेष्ठ गत वर्षका फिल्म फ्लप भएकाले यसवर्ष संख्या घटेको भन्दै यस वर्ष व्यापार कम भए अर्को वर्ष झन् संख्या घट्न सक्ने बताउँछन्। ‘२०७५ मा कति फिल्म त्योभन्दा अघिल्लो वर्ष रिलिज हुन नसकेका फिल्म थिए। त्यसैले पनि संख्या धेरै हुन गयो। यो वर्ष चाहिँ गत वर्षको अधिकांश फिल्म फ्लप भएका कारण फिल्ममा लगानी नै कम भयो,’ उनले भने ‘ ‘यसपाली पनि धेरै फिल्म फ्लप भए, अर्को वर्ष यो वर्षभन्दा पनि कम फिल्म हुन्छ जस्तो लाग्छ मलाई। किनकि यही फागुनबाट त कति फिल्महरु फ्लोरमा गएको छ’।

फिल्ममात्रै होइन दर्शक पनि घटे !

हलमा नेपाली फिल्मको संख्या घटेसँगै नेपाली दर्शक पनि घट्न थालेको हल संचालक र वितरकहरुले बताउन थालेका छन्। केही महिनाअघि हल सञ्चालकसमेत रहेका निर्माता प्रदीप उदयले नेपाली फिल्मको दर्शक नै नभएर सो नै बन्द भएको फेसबुकमै लेखे। कति हलवालाले दर्शक नभएर झिँगा मार्दै बस्नु परेको उनले बताए। हुन पनि नेपाली फिल्म हेर्न जाँदा दर्शक कम भएर सो नै रद्द भएका घटना धेरै छन्। त्यो पनि नाम चलेका कलाकारको फिल्मको पहिलो सो नै रद्द भएका छन्।

दीपकराज गिरी नेपाली फिल्मले दर्शकको विश्वास गुमाउँदै गएको बताउँछन्। ‘हामीले दर्शकबाट विश्वसनियता गुमायौं। यो वर्ष जति फिल्म रिलिज भए त्यसमध्य दर्शकले विश्वास गरेकै फिल्मले मात्रै पैसा कमाए,’ उनले सुनाए, ‘कबड्डी कबड्डी कबड्डी, जात्रै जात्रा र छ माया छपक्कै दर्शकबाट अनुमोदित फिल्म थिए। यिनका मेकर टिम र अघिल्ला फिल्मका कारण दर्शकमा विश्वास थियो। तर बाँकी फिल्म, ब्यानरलाई दर्शकले पत्याइदिएनन्।’

सफल कमेडी फिल्मको लेखन र निर्माणमा पनि सक्रिय गिरी नेपाली फिल्ममा मनोरञ्जन कम भएको तर्क गर्छन्। ‘यो वर्ष जति फिल्म चले ती सबै कमेडी जनराका हुन्। गम्भीर कुरालाई पनि हास्यका साथ प्रस्तुत गरिएका फिल्मलाई दर्शकले मन पराए तर फिल्म कला हो भन्नेहरुले बनाएको फिल्म हेर्न दर्शक नै आइदिएनन्,’ उनले भने। उनी फिल्मको कन्टेन्टमा कला र मनोरञ्जनको मिश्रण आवश्यक ठान्छन्।

फिल्मलाई व्यापारसँगै जोडेर हेर्ने गिरी ९८ प्रतिशत नेपाली दर्शक हलमा मनोरञ्जनका लागि मात्रै आउने गरेको बताउँछन्। फिल्मले मनोरञ्जन दिन नसकेका कारण दर्शक घटेको उनले बताए। ‘कला हेर्न, उपदेश लिन, शिक्षा लिन कोही पनि जाँदैन नि दर्शक हलमा। यो मूल मर्म नबुझेर यस्तो अवस्था आएको हो,’ उनले भने।