नेपाली खेलकुदले २०१९ प्राप्त गरेको सफलता

सन् २०१९ मा भए गरेका काम कारबाहीको समीक्षा गर्दै नयाँ जोश र उत्साहका साथ अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएको छ ।  नेपाली खेलकुद क्षेत्रले पनि २०१९ मा महत्त्वपूर्ण सफलता हात पारेको छ ।

१.सागमा ऐतिहासिक ५१ स्वर्ण  

लामो समयको अथक प्रयासपछि नेपालले घरेलु मैदानमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न गर्‍यो । पटक–पटक पूर्वाधार तयार नभएको कारण देखाउँदै सारिएको साग अन्ततः महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै सम्पन्न भयो ।

जसमा नेपालले ५१ स्वर्ण पदकको इतिहास बनायो ।  आयोजकको हैसियतले उद्घाटन र समापनलाई अहिलेसम्मकै ऐतिहासिक दाबी गरेको नेपालले पदकमा पनि नयाँ इतिहास रच्न सफल भयो ।

यसले खेलाडीमात्र नभई समग्र खेल क्षेत्रलाई उत्साहित बनाएको छ । तेक्वान्दोमा सर्वाधिक १२ र करातेमा १० स्वर्णसहित पौडीमा पनि नेपालले अपेक्षाकृत उपलब्धी हासिल गर्‍यो । पहिलो स्वर्ण जिताउने करातेका मन्डेकाजी श्रेष्ठसहित तेक्वान्दोकी आयशा शाक्य र पौडीकी गौरिका सिंह सर्वाधिक चर्चामा रहे । एउटै सागमा चार स्वर्ण जित्ने खेलाडी बनेर गौरिका सिंहले नयाँ कीर्तिमान बनाइन् भने करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् ।

२.क्यान निलम्बन फुकुवा, पारसको आश्चर्यचकित राजीनामा 

सन् २०१९ नेपाली क्रिकेटका लागि सुखद रह्यो । नतिजाका हिसाबले यात्रा सुखद नरहे पनि अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन भने हट्यो । २०१६ मा राजनीति हाबी भएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गरेको थियो ।

खेलाडीलाई आफ्नो समन्वयमा विभिन्न प्रतिस्पर्धामा सहभागी गराएको आईसीसीले अन्ततः असोज २७ गते नेपालमाथिको प्रतिबन्ध सशर्त फुकुवा गरेको थियो । त्यसअघि क्यानको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा चतुरबहादुर चन्दको प्यानल विजयी भएको थियो ।

२७ गते निलम्बन फुकुवा भएको भोलिपल्टै अर्थात् असोज २८ गते नेपाली क्रिकेट सकर्थकलाई आश्चर्यमा डुबाउने निर्णय कप्तान पारस खड्काले गरे । उनले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामनासहित राजीनामा घोषणा गर्दा समर्थकलाई निराश बनाएको थियो । उनको राजीनामापछि क्यानले ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तान बनायो ।

३.महिला भलिबललाई स्वर्ण 

महिला भलिबलका लागि वर्ष २०१९ ऐहितासिक रह्यो । किनकि महिला भलिबलले लामो समयको प्रतीक्षापछि देशलाई महत्त्वपूर्ण स्वर्ण पदक जिताएको थियो । बंगलादेशको ढाकामा सम्पन्न प्रथम सेन्ट्रलजोन च्याम्पियनसिपमा महिला भलिबल टोलीले भलिबलकै इतिहासमा पहिलो स्वर्ण जिताएको हो ।

अरुणा शाहीको कप्तानीमा रहेको टोलीले अपराजित रहँदै स्वर्ण जित्दा सरकारले जनही ५ लाखबाट सम्मानित पनि गर्‍यो । साग सुरु हुन केहीदिनअघि सम्मान थापेको टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि सागमा भने भारतको बर्चश्व तोड्न सकेन ।

पहिलो पटक फाइनलमा स्थान बनाए पनि नेपाल अन्ततः भारतसँग पराजित भयो । सुनौलो अवसर गुमाए पनि महिला टोलीले भारतलाई जित्न सजिलो हुनेछैन भन्ने भान भने गरायो । पुरुष भलिबल टोलीले अपेक्षाकृत नतिजा ल्याउन सकेन । घरेलु मैदानमा आयोजना भएको सेन्ट्रलजोन भलिबल च्याम्पियनसिपमा समूह चरणबाट नै बाहिरिएको थियो । यस्तै सागमा पनि समूह चरणबाट नै बाहिरियो ।

४. विश्वकप छनोटमा सुधारिएको प्रदर्शन, अत्यमा स्वर्ण

नेपालको पुरुष फुटबल टोली २०१९ मा विभिन्न कारणले चर्चामा नै रह्यो । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटमा गरेको प्रदर्शन होस् या खेलाडीको काण्ड वर्ष तातिरह्यो । वर्षको अन्त्यमा सागमा जितेको स्वर्णले केही दुःखद पललाई भने बिर्सायो ।

विश्वकप छनोटका पाँच खेलमध्ये चाइजिन ताइपेइसँगको जितले नेपाली फुटबल उत्साहित बन्यो । बाँकी खेलमा भने पराजित भए पनि नेपालले केही पाठ पक्कै सिकेको छ । कुवेतसँगको पहिलो खेलमा नेपाल ७–० को खराब नतिजासँगै यात्रा सुरुवात गरेको नेपाल अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० पराजित हुन पुग्यो । चाइनिज ताइपेइसँगको जितसँगै नेपालले सुरुआतमा गरेको खराब प्रदर्शन कुवतेसँग दोस्रो खेलमा भने दोहोर्‍याएन ।

घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रंगशालाको स्तरोन्नति नसकेपछि भुटानमा सारिएको थियो । जहाँ नेपालले कुवेतलाई १–० ले रोक्यो । बाँकी होम खेल भने अब दशरथ रंगशालामा खेल्नेछ ।

वर्षको अत्यमा भएको १३ औं सागमा भने पुरुष फुटबल टोलीले स्वर्ण जित्न सफल भयो । भारत सहभागी नभएको सागमा नेपाल भुटानलाई पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यो खुसीले पुरुष फुटबल उत्साहित बनेको छ ।

यता महिला फुटबल टोलीले पनि आफूलाई अब्बल सावित गरेको छ । भलै घरेलु मैदानमा भएका दुई प्रतियोगिता साग र साफको उपाधि भारतलाई सुम्पिए पनि अन्तर्राष्ट्रिय फुटबलमा आशाका किरण देखाएको छ । फाइनलमा भारतसँग गरेको प्रदर्शन र भारतमा आयोजना भएको हिरो वुमेन्स गोल्डकपमा भारतलाई हराएको नेपालले किर्गिस्थानमा भएको नाडेज्दा कपमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

५.विकेटमा छाएका सन्दीप र करण

वर्ष २०१९ नेपाली क्रिकेटर सन्दीप लामिछानेका लागि निकै सुखद रह्यो । विभिन्न विदेशी फेन्चाइज लिगमा गरेको प्रदर्शनका कारण सन्दीप चर्चामा रहिरहे । उनी २०१९ टि–ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने । १६ टि–ट्वान्टी खेलमा सन्दीपले २८ विकेट लिए । देशसँगै विदेशी फ्रेन्चाइज लिगमा चर्चा कमाइरहेका सन्दीप अहिले अस्ट्रेलियामा बिग बास लिग खेलिरहेका छन् ।

विश्व क्रिकेटको दुनियामा सन् २०१९ लाई नेपालका चर्चित लेस स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीले पनि यादगर बनाए । सन्दीप र करण सन् २०१९ मा टी–२० क्रिकेटमा विश्वकै सर्वाधिक विकेट लिने खेलाडी बने । सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा सन्दीप र करणसँगै नेदरल्यान्डका ब्रान्डम ग्लोभर पनि रहे । सन्दीप, करण र नेदरल्यान्डका ब्रान्डम ग्लोभरले समान २८ विकेट लिएका छन् ।

सन्दीपले १६ खेलमा ५९ ओभर बलिङ गर्दै तीन सय ८४ रन खर्चिएर २८ विकेट लिएका थिए । यसैगरी  नेदरल्यान्डका ब्रान्डम ग्लोभरले १९ खेलमा ६५ ओभर बलिङ गर्दै चार सय ४८ रन दिएर २८ विकेट लिएका थिए । नेपालका करणले १९ खेलमा ६५ ओभरमा बलिङ गर्दै चार सय ७६ रन खर्चिएर २८ विकेट लिएका थिए । चौथो स्थानमा रहेका आयरल्यान्डका मार्क आदिर र नेदरल्यान्डका पल भान मार्करेनले समान २७ विकेट लिएका छन् । नेपालमा अभिनास बोहोरो १७ खेलमा १६ विकेट लिएर ३५औँ स्थानमा छन् ।

६. रोहितको कीर्तिमानी अर्धशतक

२०१९ मा नेपाली युवा क्रिकेटर रोहित पौडेलको सर्वत्र चर्चा भयो । कारण सानो उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अर्धशतक । उनले २०१९ को जुन २६ मा यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा २३ वर्ष अघिको रेकर्ड तोड्दै नयाँ रेकर्ड राखे । ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाएका उनको सर्वत्र चर्चा भएको थियो ।

सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले श्रीलंकाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए । त्यो बेला साहिद अफ्रिदीको उमेर १६ वर्ष २ सय १७ दिन थियो । रोहित पौडेलको उमेर अर्धशतक बनाउने क्रममा १६ वर्ष १ सय ४६ दिन थियो ।

७. पारसको ऐतिहासिक शतक 

यसै वर्ष कप्तानबाट राजीनामा दिएका पारस खड्काका लागि पनि २०१९ सुखद बन्यो । उनले एकदिवसीय क्रिकेटमा शतकको कीर्तिमान बनाए । उनी शतक बनाउने एक्लो नेपाली खेलाडी समेत हुन् ।

२०१९ को जनवरी २८ मा यूएईविरुद्ध शतक बनाएका उनको टि–ट्वान्टी क्रिकेटमा पनि शतकको कीर्तिमान छ । उनले सिंगापुरविरुद्धको खेलमा शतक बनाएका थिए । १ दशक नेपाली क्रिकेटको कप्तानी गरेका पारसले असोजको अन्तिममा कप्तानबाट राजीनामा दिएका थिए ।

८.अजित यादवको स्वर्ण 

वर्ष २०१९ मा एथ्लेटिक्सका अजितकुमार यादव पनि चर्चामा नै रहे । कारण एथलेटिक्समा भित्र्याएको ऐतिहासिक स्वर्ण । उनले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । १२ राष्ट्रका १५ खेलाडी सहभागी भएको स्पर्धामा उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । एसियाली स्तरको पहिलो स्वर्ण जितेका अजित १३ औं सागमा भने हेपाटाइटिस भएका कारण सहभागी हुन पाएनन् ।

९.सावित्रा भण्डारीको नयाँ कीर्तिमान 

नेपाली महिला फुटबलमा सावित्रा भण्डारीका लागि वर्ष २०१९ उत्कृष्ट रह्यो । पूर्वकप्तान अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भङ्गसँगै विदेशी लिगमा अनुबन्ध भएका कारण सावित्रा चर्चामा रहिन् । उनले भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ताको पहिचान बनाइन् । उनीसँगै अनिता बस्नेतले पनि लिग खेलेकी थिइन् । नेपालले प्रतिस्पर्धा गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सावित्राको पहिचान गोल मेसिनका रूपमा रह्यो ।