आर्मीसँग थ्रीस्टार पराजितआत्मघाती गोलले डुब्यो संकटा

नवयुग श्रेष्ठको एक्रोब्याटिक गोल अनि प्रतिवन्धबाट फर्केपछि सन्तोष तामाङको गोलमा त्रिभुवन आर्मीले शहीद स्मारक लिगमा थ्री स्टारलाई पारजित गरेको छ । बुधबार भएको खेलमा विभागीय टोली आर्मीले थ्री स्टारलाई २-० ले पराजित गरेको छ । यस सिजन ललितपुरे क्लब थ्री स्टारको यो पहिलो हारसमेत हो । शुरुवाती तीन खेलमा कुनै गोल नखाएको थ्री स्टारले बुधबार २ गोल खान पुग्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा आर्मीले चार अवसर गुमायो । कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीले दुई दुई अवसर गुमाउँदा आर्मीले पहिलो हाफमा अग्रता लिन सकेन । थ्री स्टारका लागि पहिलो हाफमा रुपेश केसीको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । ५१ औं मिनेटमा नवयुग श्रेष्ठ वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । तर ३ मिनेटपछि भने नवयुग चुकेनन् । ५४ औं मिनेटमा नवयुगले कप्तान भरत खवासको पासमा एक्रोब्याटिक स्टाइलमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा आर्मीले दोस्रो गोल गर्‍यो । एन्फाको प्रतिवन्धका कारण लिगको शुरुवाती तीन खेल गुमाएका सन्तोष तामाङले पुनरागमन गर्दै गोल गरे । थ्री स्टारका अशोक खवासले जर्ज प्रिन्स कार्कीलाई लडाएपछि आर्मीले फ्रिकिक पाको थियो । सन्तोषले त्यही फ्रिकिकको सदुपयोग गर्दै गोल गरे ।

९० औं मिनेटमा थ्री स्टारले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । आर्मीका विकास तामाङले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । तर रुपेश केसीले गोल गर्न सकेनन् । उनको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।यस सिजनमा तेस्रो जितपछि आर्मी ४ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट १० अंकसहित मनाङ मर्स्याङदी शीर्ष स्थानमा छ भने ९ अंक जोडेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । समान खेलबाट ७ अंकसहित थ्री स्टार पाँचौ स्थानमा छ ।

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बुधबार भएको खेलमा पुलिसले संकटा क्लबलाई २–१ गोलले हरायो । जारी लिगमा पुलिसको यो दोस्रो जित हो । पुलिसको जितमा सुमन लामाले एक गोल गरे । पुलिसले अर्को गोल संकटाबाट आत्मघाती उपहार पाएको थियो ।

संकटाका अमित तामाङले सान्त्वना गोल फर्काए । पुलिसले आत्मघाती गोल सहयोगमै सुरुवाती अग्रता लिएको थियो । १५ औं मिनेटमा संकटाका अमित तामाङले आत्मघाती गोल गरेका थिए । त्यसपछि १८ औं मिनेटमा उनै अमितले पेनाल्टीमा गोल गर्दै संकटालाई बराबरीमा ल्याए । डिबक्स भित्र पुलिसका रक्षकले ह्यान्ड गरेपछि संकटाले पेनाल्टीको मौका पाएको थियो ।  ३३ औं मिनेटमा पुलिसका सुमन लामाले गोलगर्दै टोलीलाई अग्रता दिलाए । उनले सौजन राईको पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा सुमनको त्यही गोल पुलिसको जितमा निर्णायक बन्यो ।  जितसँगै पुलिसले चार खेलबाट सात अंक बनाएको छ । संकटाले समान खेलकाट चार अंक बनाएको छ ।