जाउलाखेलसँग च्यासल पराजित ,सयौं खेलमा बिबिसीको जित

अन्तिम दस मिनेटमा २ गोल गर्दै जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।  जाउलाखेलका लागि रुपबहादुर लामा र विजय घलानले एक-एक गोल  गरे । ८० औं  मिनेटमा  विजय घलानको पासमा रुपबहादुरले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै रिबाउण्ड बलमा विजय घलानले गोल गर्दै जाउलाखेलको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा दुबै टिमले आक्रामक खेल्दै गोलका केही अवसर सिर्जना गरेका थिए । ५१ औं  मिनेटमा च्यासलका विदेशी खेलाडी टाएगा नाकामुराको  फ्रिकिक पोष्ट बार भन्दा केही माथिबाट बाहिरियो । ६९ औं  मिनेटमा जाउलाखेलका रुपबहादुर लामाको प्रहार च्यासलका गोलकिपरले बचाए । ७१ औं  मिनेटमा च्यासलका सन्तोष साहुखलले पेनाल्टी एरियाबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । लिगमा ९९ गोल गरेका उनी लगातार दुई खेलमा गोल गर्न चुकिसकेका छन् । जितपछि जावलाखेलले अपराजित यात्रा कायम राख्दै ४ खेलबाट ८ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लेको छ ।

ब्रिगेड ब्वाइज क्लबले ए डिभिजन लिगको आफ्नो सयौं खेलमा हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । बिबिसीको जितमा विजय गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । खेलकाे १७ औं मिनेटमा विजय गुरुङले गाेल गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले खेलमा अग्रता दिलाए । उनले पेनाल्टी एरियाबाट गरेकाे प्रहार डिफेन्डरलाई लाग्दै गाेलमा परिणत हुँदा शेर्पाका गाेलरक्षक किशाेर गिरी मुकदर्शक बने ।

२९ औं मिनेटमा शिशिर लेखीकाे कर्नरमा ताजुदिन बुसारीकाे हेडर बाहिरिदा बीबीसीले अग्रता दाेब्बर पार्ने माैका खेर फाल्याे । ३५ औं मिनेटमा विजय गुरुङले एकल प्रयासमा पेनाल्टी बक्सभित्रकाे सशक्त प्रहार गाेलरक्षक किशाेर उत्कृष्ट बचाउ गरे । ६४औं मिनेटमा त्रिदेव गुरुङको सशक्त प्रहार बीबीसीका गाेलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गर्दा शेर्पा बराबरीबाट चुक्यो । ७९ औं मिनेटमा त्रिदेव गुरुङको ब्याक फ्लिक पासमा सन्जय धिमालले बललाई राम्ररी नियन्त्रणमा लिन सकेन । लगत्तै बिशालले अर्को उत्कृष्ट बचाउ गर्दा शेर्पा बराबरीबाट चुकेको थियो ।

८६औं मिनेटमा सन्जय धिमालको बक्सभित्रको सशक्त प्रहार बीबीसीका गाेलरक्षक बपशाल सुनारले पञ्च गर्दै बराबरी टारेको थियो । ९०औं मिनेटमा विजय गुरुङले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहारलाई शेर्पाका गाेलरक्षक किशाेर गिरीले पञ्च गर्दै बचाए । इन्ज्युरी समयमा शेर्पा १० खेलाडीमा समेटियो । शेर्पाका निरज बस्नेत दाेहाेराे पहेँलाे कार्ड खादै मैदानबाट बाहिरिए । यस सँगै बिबिसीले लिगमा दोस्रो जित दर्ता गरेको छ । बिबिसीको ४ खेलमा २ जित र २ हारसहित ६ अंक रहेको छ । शेर्पाको भने ४ खेलमा २ बराबर र २ हारसहित २ अंक मात्र रहेको छ ।