फ्रेण्ड्सले मनाङ बराबरी,अन्तिम मिनेटमा मच्छिन्द्र विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब  फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा  फ्रेन्ड्सले मनाङलाई  १-१ गोलको बराबरीमा रोकेको हो । खेलमा मनाङले पहिले अग्रता लिएपनि जोगाउन सकेन । दोस्रो हाफमा भारतीय खेलाडीले फ्रेण्ड्सका लागि बराबरी गोल फर्काएका थिए । यो सिजन लगातार ३ खेल जित्दै उत्कृष्ट शुरुवात गरेको मनाङको यो पहिलो बराबरी हो ।

खेलको ११ औं मिनेटमा रन्जन बिष्टले जगजित श्रेष्ठको कर्नरमा हेडमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६४ औं मिनेटमा रमेश गर्तौलाको  लङ क्रसमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।

फ्रेन्ड्ससँग बराबरीमा रोकिए पनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट १० अंक जोडेको मनाङले मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको  हो । समान खेलबाट मछिन्द्रको ९ अंक छ । यसअघि लगातार ३ खेल हारेको फ्रेन्ड्सको भने जारि लिगमा यो पहिलो अंक हो । ४ खेलमा १ अंक जोडेको  फ्रेन्ड्स १३ औं स्थानमा छ ।

नाइजेरियन फरवार्ड आडेलाजा सोमिडेले अन्तिम मिनेटमा गरेको गोलको मदतमा मच्छिन्द्र क्लबलेे न्यूरोड टिम (एनआरटी)लाई हराएको छ सोमवार भएको खेलमा मच्छिन्द्र क्लबलेे एनआरटीलाई १-० गोल अन्तरले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रका लागि सोमिडेले अन्तिम मिनेटमा गोल गरेका थिए । यसअघि मच्छिन्द्रले थुप्रै अवसर सृजना गरेपनि गोल गर्न सकेको थिएन ।यससँगै मछिन्द्रको ९ अंक भएको छ ।