मनाङको लगातार तेस्रो जित,जावलाखेल र संकटाले अंक बाँडे

साविक विजेता मनाङ मर्स्याङदी क्लबे शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई १-० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङका लागि जगजित श्रेष्ठले गोल गरे ।

७३ औं मिनेटमा ब्रिगेडका विजय गुरुङलाई फल गरेकाले मनाङका एकराज बुढाथोकीले सिधै रातो कार्ड खाएका थिए । त्यसपछि मनाङ दस खेलाडीमा सीमित भए पनि ब्रिगेगड ब्वाइजले त्यसको फाइदा उठाउन सकेन । लिगमा ब्रिगेड ब्वाइजको यो लगातार दोस्रो हार हो । साविक विजेता मनाङ भने लगातार तेस्रो जित हासिल गर्दै ९ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि मनाङले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

संकटा क्लब र प्रभु बैंक जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार १–१ को बराबरी खेलेका छन् ।दशरथ रंगशालामा भएको खेलको ७२ औं मिनेटमा ड्याडी जुनियर बाम्बाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । फ्रिकिकमा आएको बललाई जुनियरले हेडमार्फत पोष्टको दिशा लिएका थिए । संकटाले पहिलो हाफमा कप्तान लक्ष्मण रुचालको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा फोडे फोफानेले आफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा लक्ष्मणले झन्डै ३५ यार्डबाट गोल गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा जावलाखेलका फोडे फोफानोले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । लगत्तै सोही टोलीका ड्याडी जुनियर वाम्वाको प्रहार आकासियो । तीन खेलमा अपराजित रहेको जावलाखेलको खातामा ५ अंक र संकटाको ४ अंक पुगेको छ ।