एकसाथ चलचित्रका दुई कलाकारको अन्त्येष्टि

जब पशुपति आर्यघाट स्तब्ध बन्यो । जहाँ दुई कलाकारको सामुहिक अन्त्येष्टि भइरहेको थियो । कल्पना समेत गर्न नसक्ने घटना सोमबार भएको थियो । चलचित्र विकास विकास बोर्डका अध्यक्ष तथा बरिष्ठ कलाकार केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि भइरहँदा उपस्थित शुभचिन्तक तथा आफन्त भावविह्वल भएका थिए । बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चावहिलस्थित ओम अस्पताल पु¥याइएको थियो ।  अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो । कलाकार तथा अध्यक्ष भट्टराईले आइतबार रातिमात्र कलाकार क्षेत्रीलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए । तर, सोच्नै नसकिने गरी नै क्षेत्रीसँग सामुहिक अन्त्येष्टि गर्नु परेकोे छ । भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ ।

क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । उनको शव परीक्षणको लागि अस्पतालमै राखिएको थियो । सोमबार दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो । भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख व्यक्त गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जलि दिए । सयौँको संख्यामा आएका चलचित्रकर्मी,  शुभेच्छुकहरुले श्रद्धाञ्जलि दिए ।

को हुन् केशव

चैतमा भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । उनका श्रीमती र एक छोरा छन् । उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन् । उनी आफैँ निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन् । भट्टराईले आफ्नो मान्छे, पाहुना, कर्मयोद्घा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, यात्रालगायतका चलचित्र निर्माण गरेका छन् ।

करिब ३ दशकदेखि फिल्म अभिनय र निर्माणमा क्रियाशिल ५३ वर्षीय भट्टराई पछिल्लो समय विकास बोर्डको अध्यक्षको रुपमा चर्चित थिए । ओखलढुंगामा जन्मिएका केशव कलाकार, निर्माता तथा निर्देशक तुलसी घिमिरेको संगतले फिल्म क्षेत्रमा होमिएका थिए । उनी नेपाल विद्युत प्राधिकरणमा पूर्वकर्मचारी पनि हुन् । चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्ति लागि उनले नेपाल बिद्युत प्राधिकरणको जागिरबाट राजीनामा दिएका थिए ।

‘कोशेली’ फिल्ममा सानो भूमिका निर्वाह गरेर अभिनय सुरु गरेका भट्टराइले आफ्नो जीवनकालमा २ सय बढी चलचित्र अभिनय गरेका छन् ।  उनी चलचित्रमा चरित्र अभिनेताको भूमिकामा देखिँदै आएका थिए । ‘दौतरी’ फिल्मबाट निर्माता बनेका केशवले निर्माण गरेका फिल्म पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, ब्रस्लेट, यात्रालगायत हुन् । ‘आफ्नो मान्छे’ भने उनको अत्यधिक सफल फिल्म हो ।

भट्टराई करिब ८ महिना अगाडि नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । कलाकारिता हँुदै बोर्ड अध्यक्ष बनेका भट्टराईले चलचित्र निर्माता संघको विभिन्न पदमा समेत रहेर काम गरिसकेका थिए । चलचित्रमा  ‘सो सिम्पल’ को असफलतापछि उनी घर बेचेर अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए ।

आइतबार बेलुका ७ बजेतिर चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनको निम्तोमा केशव कीर्तिपुर पुगेका थिए । महर्जनको घरमा मदिरा सेवन समेत गरेका उनको अनामनगरस्थित घर फर्किने क्रममा स्वास्थ्य बिग्रेको थियो ।  राति ९ बजेतिर बाटोमा उनलाई अप्ठेरो महसुस भएको र वान्तासमेत भएको थियो । भट्टराई गाडीको पछाडि सिटमा थिए । चालकले अनामनगरस्थित घर पुर्याएर छोराको साथमा  राति सवा १० बजेतिर अस्पताल पुर्याएका थिए । उनको निधनको कारण हृदयघात भएको बताइएको छ । भट्टराईको श्रीमती र एक छोरा रहेका छन् । ०६२ सालमा ओम अस्पतालमै टेस्टट्यूव प्रविधिबाट उनले छोरा जन्माएका थिए । उनका छोरा १५ वर्षका छन् ।

को हुन् दीपक

त्यस्तै दिवंगत कलाकार क्षेत्री नेपाली चलचित्र क्षेत्रमा खलपात्रका रुपमा चर्चित थिए । नाटकदेखि सानो–ठूलो पर्दाका विभिन्न सकारात्मक र नकारात्मक भूमिकामा अभिनय गरी दर्शकको मन जित्दै आएका अभिनेता दीपक क्षत्रीको शनिबार अज्ञात निधन भएको छ। राजधानीका डिल्लीबजारस्थित डेरामा शुक्रबार राति सुतेका उनी शनिबार दिउँसो ढिलोसम्म नउठेपछि प्रहरीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएका हुन्। बेलुका ढोकामा चुक्कुल लगाएर आफ्नो कोठामा सुतेका क्षत्री शनिबार बिहान अबेलासम्म नउठेपछि छोराले प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत अवस्थामा भेटिएको जनाइएको छ।

लामो समयदेखि घाँटीको समस्याबाट पीडित अभिनेता तथा रंगकर्मी क्षत्रीको निधनका कारण खुलेको छैन। शनिबार उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको थियो। एक फिल्मको डबिङ गरेर घर फर्किएका दीपक बेलुका खानपिनपछि सुतेका थिए। दीपकको श्रीमती विपना बस्नेत (नक्कली हिसिला यमी) छोरीका साथ मलेसियामा थिइन् भने श्रीमान्को निधनको खबरपछि उनी आइतबार काठमाडौं फर्केकी छिन्।

केही समयअघि चलचित्र पत्रकार संघ नेपालको आह्वानमा विभिन्न संघ–संस्था र व्यक्तिहरूको पहलमा सहयोग पाएपछि नक्सालस्थित हिमाल अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा क्यान्सरको पहिलो चरण पत्ता लागेको थियो। स्वर नलीमा मासु पलाएपछि स्वर गुमाएका उनको गत वर्ष स्वर नलीको शल्यक्रिया गरिएको थियो। पछिल्लोपटक फिल्म छ माया छपक्कैमा अस्वस्थ वृद्ध नेताको भूमिकामा देखिएका दीपक करिब ३ दशकदेखि नाटक, सानो पर्दा र ठूलो पर्दाका फिल्ममार्फत कला क्षेत्रमा सक्रिय रहँदै आएका थिए। २०१७ सालमा ४ दिदी र एक दाइपछि छैटौं सन्तानका रूपमा इलाममा जन्मिएका उनको २ बहिनी र २ भाइ छन्। उनी सानैमा परिवारसँगै बसाइँ सरी दार्जिलिङ गएका थिए।

दाजिलिङमै हुर्के–बढेर प्लस टुसम्मको अध्ययनपछि हिरो बन्ने सपना बुनी मुम्बई गएका उनी आफ्नो सपना सहजै पूरा हुन नसकेपछि भवन निर्माणको काममा लागेका थिए। पछि २०३८ सालमा दार्जिलिङबाट अमर राईको निर्देशनमा शुभकामना नामक नाटक लिएर नाट्य टोलीसँग काठमाडौं आई १ महिनासम्म नाचघरमा नाटक मञ्चन भएपछि टोलीका अन्य सदस्य दार्जिलिङ फर्किंदा दीपकचाहिँ काठमाडौंमै बसेका थिए। प्रकाश सायमीको आधा पैसालगायतका नाटकमा अभिनय गर्दै ५ वर्षसम्म नाट्य क्षेत्रमा बिताएका दीपकले २०४३ सालमा प्रकाशले नै निर्देशन गरेको ब्रस इरेजर र क्यान्भास नामक नाटकमा एकल अभिनय गरी अवार्ड पनि जितेका थिए। अभिनय गर्दैगर्दा उनी अन्नपूर्ण होटलमा फ्रन्ट अफिसका जागिरे भएका थिए। होटेलमा जागिर गर्दै गर्दा अभिनयतिर पनि उत्तिकै सक्रिए थिए।

यसै क्रममा द रेड लामा नामक अंग्रेजी फिल्ममा क्यारेक्टर आर्टिस्टका रूपमा पहिलोपटक क्यामेरा फेस गरेका दीपकले निर्देशक प्रताप सुब्बाको फिल्म दिदीमा हिरोको भूमिकामा अभिनय गरेका थिए। चेतन कार्कीको विश्वासमा पनि काम गरेका दीपक प्रकाश सायमीकै फिल्म पृथ्वीबाट सशक्त खलनायकका रूपमा उदाउन पुगे। सुनील थापा, पवन मैनाली, हेमन्त बुढाथोकीजस्ता एकसेएक खलनायकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने क्रममा दीपकले प्रकाश सायमीको हतियार र सिमाना, नारायण पुरीको आगो र शंकर राजकुमार राईको द कमान्डो, अशोक शर्माको नीरमायाका साथ माझीदाइ, झोला, बाटोमुनिको फूल, सेतो सूर्यलगायत २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

उनीलाई विशेष गरी खलचरित्रमा रुचाइएको थिए।नेपालमा टेलिभिजन भित्रिएपछि २०४२ सालबाट उनले टेलिफिल्महरूमा पनि अभिनय यात्रालाई अगाडि बढाएका थिए।लय संग्रौलाको टेलिफिल्म युगको शिकारदेखि चेतना, देवी, थोरै भए पुगिसरी, जीवनचक्र, उद्घाटन, दशैंजस्ता चर्चित टेलिफिल्ममा सशक्त अभिनय गर्दै अगाडि बढेका थिए।