नवौ दिन : नेपालले जित्यो ४ स्वर्ण ५ रजत १ कास्य

बक्सिङमा पहिलो स्वर्णको कीर्तिमान

नेपाली मिनु गुरुङले १३औं दक्षिण एसियाली खेलकुदको बक्सिङमा स्वर्ण जितेकी छन् । यससँगै उनी सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् । साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

बक्सर भुपेन्द्रको  स्वर्ण

बक्सिङको ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका भुपेन्द्र थापा शनिबार नै फाइनलमा पुगिसकेका थिए । तर उनले आफू स्वर्ण पदकनजिक पुगेको परिवारका सदस्यहरुलाई सुइँको पनि दिएनन् । यसअघि अन्तर्राष्ट्रिय थप्रै प्रतियोगितामा फाइनल पुगेका उनले कहिल्यै स्वर्ण चुम्न पाएका थिएनन् । प्रतिद्वन्द्वीबाट कुटाइ खाएर आएको पीडा त हुन्थ्यो नै, परिवारमा पनि ‘जहिले जान्छ, जितेर आउँदैन । घुम्ने त हो नि !’ भन्दै बचन लगाउँथे ।

त्यसैले यो पटक फाइनलमा पुगेपछि सोचे, ‘स्वर्ण जितेर छाड्छु, परिवारलाई सरप्राइज दिन्छु ।’स्वर्णको भोकसँग भारतीय खेलाडीसँग इण्डियन ओपन च्याम्पियनपसिपमा दुई पटक हारेको इख त छँदै थियो । ‘दुई पटक उसकै होम ग्राउण्डमा जितेको गेम पनि हारेर आएको थिएँ । तेस्रो पटक चाहिँ हराएरै छाड्छु भन्ने इख थियो,’ उनले सुनाए । नभन्दै भुपेन्द्रले सोमबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हेभिवेट प्रतिद्वन्द्वी भारतका मनिष कौशिकलाई हराए र, स्वर्ण जित्न सफल भए ।

भुपेन्द्रको करियरको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण आमा र परिवारका अरु सदस्यका लागि भने ‘सरप्राइज’ बनेको छ । गाउँमा रहेकी आमालाई स्वर्ण समर्पण गरेका उनले अनलाइनखबरसँग भने, ‘सरप्राइज दिन आफू फाइनलमा पुगेको घरमा भनेको थिइनँ । अब आमालाई फोन गर्छु । उनले सफलताको श्रेय गुरुहरुलाई पनि दिए । भुपेन्द्र भन्छन्, ‘मेरो जितको श्रेय गुरुहरु, परिवारका सदस्यलाई जान्छ, जसले मलाई तै‌ंले गर्न सक्छन् भनेर मोटिभेट गर्नुभयो ।’

भुपेन्द्रले फाइनलमा हराएका भारतका मनिष हेभिवेट प्रतिद्वन्द्वी हुन् । हरियणाका उनले सन् २०१८ को कमन वेल्थ गेम्समा रजत पदक जितेका थिए । तर घरेलु समर्थकको साथ पाएका भुपेन्द्रले सुरुबाटै आक्रामक खेल खेले र, त्यही रणनीतिले उनलाई सफलता दिलायो । ‘टेक्निक र स्किलमा मभन्दा उ राम्रो हो । मैले पावरले पेल्ने रणनीतिमा नै खेलेको हुँ,’ जितपछि उनले भने ।यद्यपि मनिषलाई प्रतिद्वन्द्वीका रुपमा पाउँदा रत्तिभर डर नलागेको उनले सुनाए ।

   गौरिकाले बनाइन् स्वर्ण कीर्तिमान

पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो ।

पौडी अन्तर्गत महिलाको ४ सय मिटर मिड्ले रिलेमा नेपालले कांस्य पदक जितेको छ । गौरिका सिंहसहितको टीमले ४ मिनेट ३३.६२ सेकेण्डमा दूरी पार गरी कांस्य पदक जितेको हो । यो स्पर्धामा भारतले स्वर्ण र श्रीलंकाले रजत जितेको छ । भारतीय खेलाडीले ४ मिनेट २१.२८ सेकेण्ड र श्रीलंकाका खेलाडीले ४ मिनेट २४.६६ सेकेण्डमा दूरी पार गरे ।

जुडोमा पुनम श्रेष्ठले जितिन् स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले जुडोमा अर्को स्वर्ण पदक जितेको छ । सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनल भिडन्तमा बंगलादेशकी फरिना खानोमलाई पराजित गरेकी हुन्।

बक्सिङमा नेपालकी ललिता स्वर्णबाट चुकिन्

१३औं सागको बक्सिङमा नेपालकी ललिता मर्हजन स्वर्णबाट चुकेकी छन् । महर्जन सोमबार भएको ४८ केजी तौल समूहको फाइनलमा भारतकी कलाइभानी श्रीनिवासनसँग पराजित भएकी हुन् । यससँगै उनले रजत पदकमा चित्त बुझाएकी छन्

महिला ह्याण्डबलमा नेपाललाई रजत

१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा सिमित भएको छ। भारतले स्वर्ण पाएको छ। नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो। यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो।

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो। १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो।स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन्। सोनिकाले टोलीका लागि ११ गोल गरिन्। निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन्। कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन्। निषा राई र उमा राईले समान ३/३ गोल थपे। रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १/१ गोल थपे। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो।

बास्केटबलः नेपालले जित्यो रजत

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत थ्री बाइ थ्री बास्केटबलमा नेपालको पुरुष टोलीले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा सोमबार भएको फाइनल खेलमा  भारतसँग पराजित भएपछि नेपाल रजत पदकमा सीमित बनेको हो ।भारतसँग नेपाल २०–१५ ले पराजित भयो । सोही स्पर्धामा श्रीलंकाले कांस्य जित्यो ।सेमिफाइनल खेलमा नेपाल श्रील्कालाई २१–९ ले पराजित गर्दै फाइनल पुगेको थियो । त्यसैगरी महिलातर्फको खेलमा भारतले स्वर्ण जित्दा श्रीलंकाले रजत र नेपालले कांस्यपदक जिते ।

महिला कबड्डीमा नेपाललाई रजत

१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा सोमबार भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो।

फुटबलको फाइनलमा हारसँगै नेपाल रजतमै सीमित

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ। सोमबार दिउँसो पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई दुई गोलले पराजित गरेको हो। हारसँगै नेपाल रजतमै सीमित भएको छ। भारतका लागि एमजी बालादेवीले दुई गोल गरेकी हुन्। बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेकी थिइन्। नेपालले भने गोल फर्काउन सकेन। ११ औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। अघिल्लो संस्करणमा पनि नेपाल आयोजक टिम भारतसँग २-१ गोलले पराजित हुँदा रजतमै चित्त बुझाउन बाध्य भएको थियो।

पुरुष क्रिकेट: नेपाललाई कास्यपदक

तेह्रौँ दक्षिण एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो स्थानको लागि आज भएको भिडन्तमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक जितेको हो । माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्यलाई नेपालले १६ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आरिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे । त्यस्तै रोहित पौडेलले १५ रन जोड्दा पवन सर्राफ १० तथा विनोद भण्डारीले १२ रनको योगदान गरे । बलिङतर्फ माल्दिभ्सका उमर अदमले ३ विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको माल्दिभ्स निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमा समेटिएको थियो । उसका लागि लिम साफेगले सर्वाधिक १९ रनको योगदान दिनुभयो भने मोहमद रिसवानले १७, कप्तान मोहमद माफोजले १६ तथा अमिल माउरुफले १३ रन जोड्नुभयो । माल्दिभ्सलाई ९४ रनमा समेट्नेक्रममा नेपालका ललितनारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलङकासँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई १४१ रनले हराएको थियो । त्यसैगरी माल्दिभ्सलाई ८४ रनले हराएको थियो । बङ्गलादेशसँग ४४ रनले पराजित भएपछि नेपालको स्वर्ण पदक जित्ने संभावना समाप्त भएको थियो । पुरुषतर्फ स्वर्ण पदकका लागि आज नै श्रीलङ्का र बङ्गलादेश भिड्दैछन् ।