मछिन्द्र हारबाट जोगियो ब्रिगेड ब्वाइजको पहिलो जित

ब्रिगेड ब्वाईज क्बलले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । अन्तिम तीन मिनेटमा २ गोल गर्दै ब्रिगेडले फ्रेण्ड्सलाई २-० ले पराजित गरेको हो । दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजका लागि जय गुरुङले ८७ औं मिनेटमा पहिलो गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा रोसन राना मगरले गोल थपेपछि ब्रिगेड ब्वाइज २-० ले विजयी भयो । यसअघि पहिलो खेलमा ब्रिगेड ब्वाइज मछिन्द्रसंग पराजित भएको थियो । फ्रेन्डस क्‍लब भने यसअघि पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।

अन्तिम समयमा गरेको गोलसँगै मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हार टारेको छ । शुक्रबार भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले सन्तोष साहुखलको गोलबाट अग्रता लिएको थियो । उनले २७ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट हाफ भली गोल गरेका थिए । जारी लिगमा उनको यो तेस्रो गोल हो ।

यससँगै सन्तोसले घरेलु लिगमा ९९ गोल पूरा गरेका छन् । सन्तोस लिग फुटबलका सर्वाधिक गोलकर्ता पनि हुन् ।  दोस्रो हाफमा मछिन्द्रले च्यासलमाथि दबाब बनायो । तर गोल गर्न सकिरहेको थिएन । ८८ औं मिनेटमा विशाल राईको पासमा देवेन्द्र तामाङले मछिन्द्रका लागि बराबरी गोल फर्काए । इन्जुरी टाइममा च्यासलका तपयागा नाकामुराको फ्रिकिक मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए ।