संकटा र जावालाखेल युथको पहिलो जित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले पहिलो जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शंकटाले न्यूरोड टिम (एनआरटी) लाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको आठौं मिनेटमा कप्तान अमित तामाङकोे पासमा दिपेश आले मगरले गोल गर्दै शंकटालाई अग्रता दिलाएका थिए । नियमित कप्तान रवि सिलवालको अनुपस्थितिमा अमितले शंकटाको आर्मब्याण्ड लगाएका हुन् । दोस्रो हाफको शुरुमै शंकटाले अग्रता दोब्बर पार्ने मौका गुमायो ।

संकटाका जिन मारीको प्रहार एनआरटीका कप्तान प्रकाश बुढाथोकीले गोललाइनबाट क्लियर गरे । यस्तै ६८औं मिनेटमा एनआरटीका दर्शन गुरुङको प्रहार शंकटाका गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै बचाएका थिए । ७७औं मिनेटमा दर्शनले वान भर्सेस वानमा संकटाका गोलकिपरलाई बिट गर्न सकेनन् भने ८०औं मिनेटमा एनआरटीका जोर्डन ओवानाले गोल गरेपनि अफसाइड भएको थियो । जारी लिगमा संकटाको यो पहिलो जित हो । गत सिजनको उपविजेता संकटा पहिलो खेलमा च्यासल युथ क्लबसँग पराजित भएको थियो । एनआरटीले भने सरस्वती युथ क्लबलाई ४-० ले पराजित गरेको थियो । जितसँगै संकटाले तीन अंक बनाएको छ । एनआरटीको एक अंक छ । गतबर्षको लिगमा अन्तिममा परेको एनआरटीले पहिलो खेलजितेपनि दुई अंक घटाईएको हो ।

जावालाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको हो । उसले लिगको पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलमा जावालाखेललाई जित दिलाउन विदेशी खेलाडी ड्याडि जुनियर वाम्बावले निर्णायक गोल गरे । उनले खेलको १०औं मिनेटमा गरेको गोल नै जावलाखेललाई ३ अंक दिलाउन पर्याप्त बन्यो । जावलाखेलले २ खेलबाट ४ अंक जोडेको छ । लिगको पहिलो खेलमा जावलाखेलले ललितपुरकै अर्को टोली थ्रीस्टारलाई बराबरीमा रोकेको थियो । सरस्वतीले भने लगातार दोस्रो हार खेपेको छ ।