हिमालयन शेर्पा र एपीएफ बराबरीमा

हिमालयन शेर्पा क्लब र विभागीग टोली एपीएफले शहीद स्मारक ए डिभिजन लिगमा बराबरी खेलेका छन् । आइतबार दशरथ रंगशालामा भएको खेलमा यी दुई टिमले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । विश्वास श्रेष्ठको कर्नरमा आशिष गुरुङले गरेको हेड बारमा लागेर फर्कदा त्रिदेवले गोल गरे ।

५८ औं मिनेटमा प्रविन स्याङ्तानले एपीएफका लागि बराबरी गोल फर्काए । हिमालयन शेर्पाले यसअघिको खेलमा नेपाल पुलिससंग गोलरहित बराबरी खेलेको थियो । यसअघिको खेलमा मनाङ मर्स्याङ्दीसँग २-० ले पराजित भएको एपीएफले भने आइतबारको खेलपछि एक अंक जोडेको छ ।