एनआरटीसँग हार्‍यो च्यासल ,विदेशी खेलाडीको गोलमा मछिन्द्र बिजयी

शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब न्युरोड टिम एनआरटीसँग २-१ ले पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा २३ औं मिनेटमा जुनियर एनगुएनेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । ७१ औं मिनेटमा जोर्डन एनडेम्बा दोहोरो पहेँलो कार्ड पाएर मैदान छाडेर १० खेलाडीमा सीमित हुँदा पनि च्यासलले त्यसको फाइदा उठाउन सकेन । बरु एनआरटीले ८६ औं  मिनेटमा गोल थप्यो ।

दर्शन गुरुङले काउन्टर अट्याकमा प्राप्त बल गोलमा परिणत गर्दै एनआरटीको अग्रता दोब्बर पारे । च्यासलका अमिर श्रेष्ठले इन्जुरी समयको पाँचौं मिनेटमा सान्त्वना गोल गरे । यस सिजन च्यासलको यो पहिलो हार हो भने एनआरटीको दोस्रो जित हो । दुवै टिमको ३ खेलबाट समान ४ अंक छ । एनआरटीले दुई खेलबाट ६ अंक जोडे पनि गत सिजन पुछारमा रहेकोले २ अंक ऋण तिरेपछि ४ अंक मात्र भएको हो ।

विदेशी खेलाडीको प्रभावशाली प्रदर्शनमा मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा फ्रेण्ड्सलाई ३-० ले पराजित गर्दा मछिन्द्रका लागि दुई गोल विदेशी खेलाडीले गरे ।टोलीका प्रभावशाली खेलाडी सन्तोष साहुखलले यस खेलमा एक सय गोलको आँकडा पूरा गर्ने चाहना अधुरै रह्यो । एनआरटीको जितमा निर्णायक गोल गरेका दर्शन म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुस्कार पाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । मछिन्द्रका लागि रेजिन सुब्बा, पिटर सेगुन र सोमिडे एडालाजाले गोल गरे । २१ औं मिनेटमा विशाल राईको फ्रिकिक फ्रेण्ड्सका गोलकिपर देब लिम्बुले बचाए । २६ औं मिनेटमा अभिषेक रिजालले करिब ३५ यार्डबाट गरेको प्रहार गोलकिपर देबले नै बचाए । २७ औं मिनेटमा मछिन्द्रका एडेलाजा सोमिडेले गरेको हेडर पनि देबले बचाए ।

तर २८ औं मिनेटमा भने देबले बललाई सही जज गर्न सकेनन् र फ्रेण्ड्सले गोल खायो । पेनाल्टी बक्समा मछिन्द्रका देवेन्द्र तामाङको प्रहार फ्रेण्ड्सका डिफेण्डरले क्लियर गर्न नसक्दा पिटर सेगुनले हेड गर्दै गोल गरे । ३७ औं मिनेटमा सोमिडेको पासमा अभिषेक रिजालको प्रहार गोलकिपर देबले बचाए । पहिलो हाफको ईन्जुरी टाइममा मछिन्द्रका रन्जित धिमालको फ्रिकिक फ्रेण्ड्सका गोलकिपर देब लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए ।

दोस्रो हाफको शुरुवातदेखि नै मछिन्द्रले दबाब कायम राख्दै गोल थप्यो । ५० औं मिनेटमा सोमिडे एडालाजाले अभिषेक रिजालको ब्याकहिल पासमा गोल गर्दै  अग्रता दोब्बर पारे । मछिन्द्र यतिमै रोकिएन ८५ औं मिनेटमा रेजिन सुब्बाले मछिन्द्रका लागि तेस्रो गोल गरे । जितपछि मछिन्द्रले ३ खेलबाट ६ अंक जोडदै मनाङ मर्स्याङदीलाई गोल अन्तरमा पछि पारेर पहिलो स्थानमा उक्लेको छ । उता लगातार तेस्रो हार बेहोरेको फ्रेण्ड्स भने अंकबिहीन छ ।