प्रधानसेनापति अन्तर्राष्ट्रिय फुटबलको उपाधि एपीएफलाई

आयोजक त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा पुरानै प्रतिद्वन्द्वी आर्मीलाई २–० को गोलअन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । योसँगै एपीएफले प्रधानसेनापति महिला फुटबलको उपाधि पाँचौं पटक जितेको हो । भद्रकालीस्थित आर्मी हेडक्वाटरको मैदानमा एपीएफका लागि रेखा पौडेल र सरु लिम्बुले गोल गरिन् । पाँचौ मिनेटमा एपिएफलाई अग्रता दिलाउन सरुले गोल गरेकी थिइन् । सावित्रा भण्डारीबाट फुस्किएको बललाई सुरु गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पाँचौ मिनेटमा नै अग्रता सुम्पिएको आर्मीले खेलमा फर्किन पहिलो हाफमा निकै संघर्ष गर्‍यो । तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न भने सकेन । दोस्रो हाफमा दुबै टोली आक्रमक बनिरहेका बेला एपीएफ खेल सकिन एक मिनेट बाँकी रहँदा दोस्रो गोल गर्न सफल भयो ।  एपीएफका लागि दोस्रो गोल रेखा पौडेलले गरिन् ।

आर्मीले पाएका केही अवसर सदुपयोग गर्न सकेन । ८०औं मिनेटमा एपिएफकी रेखा पौडेलले फाउल गरेपछि पाएको फ्रिकिकलाई आर्मीले खेर फाल्यो । २० यार्ड टाढा पाएको फ्रिकिक पुनम जर्घा मगरले सोझै एपीएफकी गोलकिपर एन्जिल तुम्बापो सुब्बाको हातमा दिएकी थिइन् ।त्यसअघि ६३ औं मिनेटमा एपीएफकी सावित्रा भण्डारी गोल गर्न चुकेकी थिइन । पेनाल्टी बक्सभित्र आर्मीकी गोलकिपर अञ्‍जन राना मगरलाई विट गराए पनि डिफेन्डर पुनम जर्घा मगरले गोल लाइनबाट उत्कृष्ट बचाउ गरेपछि एपीएफ अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।

२०७० सालबाट सुरु भएको प्रतियोगितामा विभागीय (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब) तीन टिम लगायत प्रदेश नं. १, २ र ५ का तीन टिम र मित्रराष्ट्र भारतको सिक्किम र भुटानका दुई गरी कूल ८ टिम सहभागी थिए। प्रतियोगिता मङ्सिर २९ गतेबाट सुरु भएको थियो। प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा एक विशेष समारोहका बीच समापन गरेका थिए।

प्रथम भएको एपिएफ क्लबका खेलाडीलाई प्रधानसेनापति थापाले मेडल, प्रमाणपत्र, ट्रफी र नगद ३ तीन लाख रुपैयाँ प्रदान गरेका थिए। प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दिपा राईलाई यमाहा कम्पनीले सहयोग स्वरुप उपलब्ध गराएको स्कुटर प्रदान गरिएको थियो। यस्तै खेलमा द्वितीय भएको त्रिभुवन आर्मी क्लबका खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मेडल, प्रमाणपत्र र नगद १ लाख ५० हजार रुपैयाँ प्रदान गरेका थिए।

प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल नेपाल प्रहरी र भुटानका टिमलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नगद ५०–५० हजार रुपैयाँ प्रदान गरेका थिए। यसैगरी प्रतियोगितामा उत्कृष्ट मिड फिल्डर, फरवार्ड र टिम कोचलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले र उत्कृष्ट गोलरक्षक र डिफेन्डरलाई बलाधिकृत रथी शरदकुमार गिरीले पुरस्कार प्रदान गरेका थिए।प्रतियोगिता सञ्चालन गर्ने रेफ्री तथा अफिसियलहरूलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पुरस्कार प्रदान गरेका थिए। सैनिक श्रीमती संघको तर्फबाट उपाध्यक्ष रिता गिरीले नेपाली सेनाको उदीयमान खेलाडी विमला वि.क.लाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेकी थिइन्।