रामकृष्णले लेखे :No matter what others say our bond never dies❤️ढकालको वैवाहिक सम्बन्धमा पूर्णबिराम

चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो।

निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए। श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन्। निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए।

गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले सामाजिक सञ्जाल तात्तिएको छ । उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर अप्रत्याशित बन्यो । डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चलिरहँदा रामकृष्णले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले आफूहरुबीचको सम्वन्ध कहिल्यै नमर्ने उल्लेख गरेका छन् । रामकृष्णले श्रीमतीसँगको फोटो हालेर ‘लभ रियाक्ट’ सहित लेखेका छन्, ‘अरुले जेसुकै भनुन्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’

४५ वर्षीय ढकाल निलमसँगको १७ वर्षे सहयात्रापछि एक्लो जीवन जिउने अवस्थामा पुगेका छन् । उनले निलमसँग १७ वर्षअघि अर्थात २०५९ सालमा प्रेम बिबाह गरेका थिए । कार्यक्रमकै दौरानमा निलमसँग पटकपटकको भेटमा प्रेम बसेपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका थिए ।कतिपयले यो जोडीलाई उदाहरणीय जोडीको रुपमा लिँदै आएकोमा हाल एकाएक सम्बन्धबिच्छेद हुनुलाई आश्चर्यको रुपमा समेत हेरिएको छ । विगतमा विभिन्न कलाकारको पारिवारिक कहल मिडियासम्म आइपुग्ने गरेको उदाहरण भएपनि ढकालको भने बाहिरिएको थिएन । यस्तै विभिन्न औपचारिक समारोहमा पनि उनले छोरी र निलमको निकै तारिफ गर्ने गर्थे । लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो।