अजर अमर सम्मान–२०७५ प्रेमध्वज प्रधानलाई

संगीतकार संघ नेपालले ७ बैशाख शुक्रवार काठमाडौंमा ‘मेची महाकाली सांगीतिक अभियान’मा अग्रज गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान–२०७५’ बाट सम्मानित गर्ने भएको छ । एक लाख ११ हजार रुपैयाँ सहितिको सो सम्मान प्रधानलाई प्रदान गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी गराएका छन् ।

अध्यक्ष शेषका अनुसार सकारात्मक सोच सहित कर्तव्यवोधको सांगीतिक अभियान मूल नाराका साथ शुरु हुन लागेको यो अभियानको उद्घाटन पूर्व प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । आर्मी अफिसर्स क्लब भद्रकालीमा साँझ ५ बजेदेखि हुने सो समारोहअघि दिउसो ३ बजे प्रेमध्ववज प्रधानलाई बागबजारस्थित उनको निवासबाट रथारोहण गरी कार्यक्रम स्थल पुर्याईने पनि संघका अध्यक्ष शेषले जानकारी गराएका छन् ।

कार्यक्रममा प्रेमध्वज प्रधान, योगेस बैद्य, दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, जे बि टुहुरे, नन्दकृष्ण जोशी, शम्भु राई, कुन्ती मोक्तान, नारायण रायामाझी, राजेसपायल राई, उदय सोताङ्ग, मनिला सोताङ्ग, पारष मुकारुङ्ग, धिरेन्द्र प्रेमहर्सी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, जेम्स प्रधान, शशी रावल, लगायतले आफ्ना चलचित्र गीत प्रस्तुत गर्ने पनि उनले बताए ।

संघका महासचिब महेश खड्काका अनुसार यो अभियानको अर्को उद्देश्य संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारिणी कोष बृद्धि गर्नु हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र राज्यलाई सघाउ पुर्याउने लक्ष्य पनि लिएको संघले राष्ट्रिय एकता र सदभावका लागि काठमाडौंबाट शुरु गर्ने यो अभियान तीन चरणमा गरी देशैभरि सञ्चालन हुनेछ ।

मुलुकका ७७ जिल्लाको ९० ठाउँमा दुई वर्ष भित्रमा यो अभियान सम्पन्न गर्ने पनि संघले जनाएको छ । विभिन्न जातजाति तथा भाषा भाषीको लोपोन्मुख कला, संस्कृति, परम्परा एवं गीत सङ्गीतको संरक्षण र सम्वद्र्धन गर्ने समेत उद्देश्य बोकेको यो साङ्गीतिक अभियानमार्फत मेचीदेखि महाकालीसम्मका नेपालीहरुलाई कला, सङ्गीत तथा सांस्कृतिक कार्यक्रमको माध्यमबाट गोलबद्ध गर्ने संघको योजना रहेको पनि अवगत गराएको छ ।