परमिता राणाले गल्ती स्वीकार्दै मागिन् माफी

मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५ बसपार्क नजिकै भएको कार दूर्घटनाबारे नायिका तथा मोडल परमिता राणाले मुख खोलेकी छिन् । मादक पदार्थ सेवन गरेर चारजना सवार कारले सडकको पेटीमा हिँडिरहेकी गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भएको थियो ।दुर्घटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाएको थियो । चौथो यात्रु को थिए भन्ने बारे चाहिँ प्रहरी आधिकारिक रुपमा मौन थियो ।

समाजिक सञ्जालमा भने चौथो यात्रु परमिता राणा नै रहेको चर्चा परिचर्चा भइरहेको थियो ।आफूमाथि आरोप लागे पनि दुर्घटना भएको एक महिनासम्म राणा मौन थिइन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने राणाले आफूमाथि लागेको आरोप न त स्वीकार गरिन् न त खण्डन नै  । घटना भएको २५ दिनपछि परमिताले फेसबुकमा लामो स्टाटस लेख्दै गाडीमा आफू सवार रहेको स्वीकार गरेकी छिन् । यो घटनापछि आफू विक्षिप्त बनेको भन्दै उनले आफूमा आत्महत्याको सोचसमेत आएको उल्लेख गरेकी छन् । फेसबुक स्टाटस लेख्दै राणाले आफूले बल्ल यो कुरा खुलासा गर्ने हिम्मत जुटाएको भन्दै भन्दै उक्त घटनामा माफी मागेकी छिन् । फेसबुकमा लामो स्टाटस लेखेर उनले भनेकी छन् –

सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चार जना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गयो,’ उनले लेखेकी छिन्, ‘यो सत्य नहोस् र यो सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कार भित्र म पनि एक यात्रु थिएँ । म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु । मप्रति जनताले देखाएको आक्रोशलाई बुझ्छु ।’

चार सन्तानले आफ्नो प्रिय आमा र एक पतिले आफूलाई साथ दिने पत्नी गुमाएको भन्दै हरेक विहान आफ्नो हृदय र आत्मामा पीडा र शोक लिएर ब्युझने कुरा भगवानलाई मलाई थाहा भएको उल्लेख गरेकी छिन् । ‘अब म कहिल्यै पहिलेको जस्तो व्यक्ति हुनसक्दिनँ,’ उनले लेखेकी छिन् ।‘मापसे गरेर गाडी चलाउनु विकल्प नभएर र आफू र अरुलाई सुरक्षित राख्ने मैले चाँडै  बुझ्नुपर्थ्यो । मेरो जीवनको हरेक पलमा मलाई मारिरहने छ कि एउटा निर्दोषको ज्यान गएको छ । मैले यो पीडा जीवन भर लिएर बाँचनुपर्छ ।’

परमिताले आफूले पनि आफ्नो पितालाई कार दुर्घटनामा गुमाएको बताउँदै आफूलाई आमाले हुर्काएको र परिवारको सदस्य साथमा नहुनुको पीडा आफूलाई थाहा भएको पनि बताएकी छिन् ।समाज आफ्नो हैसियत जे भए पनि आफू अन्त्यमा सामान्य मानिस भएको र आफूलाई पनि डर लाग्ने बताएकी छिन् । दुर्घटना भएपछि आफूलाई के गर्ने थाहा नभएको र केही समय कारभित्रै स्तब्ध भएको बसेको र पछि साथीहरुले कारबाट तानेर ‘यहाँ बाट जाऊ’ भनेर भनेको पनि बताएकी छिन् ।

केही समय आफू बाटो पारी सडकको पेटीमा बसेको र स्थानीयहरुले सोध्दा आफू पनि कारमा रहेको भनेर खुलाएको बताएकी छिन् ।सामाजिक सञ्जालमा आफूबारे आएको सन्देश देखेर आफू हरेक दिन र रात रुने गरेको राणाले बताएकी छिन् । घटनापछि परिवारको वकिलले नै आफ्नोबारे नकात्मक कमेन्ट गर्नेलाई ब्लक गर्न सुझाव दिएको र उनले भने अनुसार आफूले अरुलाई ब्लक गरेको खुलाएकी छिन् । उनले आफू डिप्रेसनको बिरामी भएका कारण त्यसलाई भुलाउन आफूलाई मनपर्ने ठूलो संगीत भएको स्थानमा नाच्न जाने गरेको तर्क पनि अघि सारेकी छिन् ।

स्टाटस हेर्दा परमिता अहिले पनि निकै आत्तिएको प्रतीत हुन्छ । उनले पटकपटक क्षमायाचना गरेकी छिन् । तर परमिता किन यतिका दिनसम्म मौन रहिन् भन्ने चाहिँ कौतुहलको विषय हो । साथै गाडी चालकले मदिरा सेवन गरेको थाहा हुँदाहुँदै त्यसमा यात्रा गर्न तयार हुनु चाहिँ उनको गल्ती देखिन्छ ।अब हेर्न बाक़ी छ कानुनी चक्कर कसरी चल्छ ।