आर्मी शीर्ष स्थानमा,संकटाको सानदार जित

विभागीय टोली त्रिभुवन आर्मी सिजनमा पहिलो पटक शहीद स्मारक ए लिगको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा आर्मीले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो । लिगमा आर्मीको यो चौथो जित हो । पाँचमध्ये चार खेल जितेको आर्मी १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । मनाङ मर्स्याङ्दी ११ अंकका साथ दोस्रो स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वतीलाई पराजित गर्न आर्मीका जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी एरियामा दिएको क्रसमा जर्जले गोल गरेका हुन् । दोस्रो हाफमा पनि हार्मीले गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । ७४औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा नवयुग श्रेष्ठले हानेको बल पोष्ट नजिकैबाट बाहिरियो । लगत्तै टंक बस्नेतले वान भर्सेस वानमा चुकेको थिए ।

संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित निकालेको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा संकटाले विभागीय टोली एपीएफ क्लबलाई ४–२ गोलले हरायो । संकटाको जितमा विदेशी खेलाडी अजयी मार्टिनले दुई गोल गरे । लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरेका थिए । एपीएफका नविन लामा र आशिष लामा लामाले एक एक गोल फर्काए ।लक्ष्मण रुचालले १९औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए । त्यसपछि कर्ण लिम्बुले ४४औं मिनेटमा दोस्रो गोल गरे । अजयीले ५३औं र ८८औं मिनेटमा गोल गरेका थिए । अजयी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।संकटाको तुलनामा केही कमजोर देखिएको एपीएफका लागि नविन लामाले ५६औं र आशिष लामाले ७२औं मिनेटमा गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । लिगमा संकटाको यो दोस्रो जित हो । जितसँगै पाँच खेलबाट सात अंक बनाएको संकटा सातौं स्थानमा छ ।समान खेलबाट चार अंक बनाएको एपीएफ ११औं स्थानमा छ ।