संकटासँग आर्मी बराबरीमा

त्रिभुवन आर्मी क्लब र संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बराबरी खेलेका छन् । लिग अन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र संकटाका लागि अमित तामाङले गोल गरे । २८ औं मिनेटमा नवयुग श्रेष्ठले दिनेश हेन्जनको पासमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ३८ ‍औं मिनेटमा संकटाले बराबरी गर्ने मौका गुमायो । सुवास गुरुङको कर्नर पासमा एर्नेष्ट थम्पीले गरेको हेडर आर्मीका सन्तोष तामाङले गोललाइनबाट बाहिर फ्याँके ।

५४ औं मिनेटमा आर्मीका युद्ध शाहीले रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान छाडेपछि आर्मी १० खेलाडीमा सीमित भएको थियो । संकटाका लक्ष्मण रुचाललाई फाउल गरेपछि युद्धले दोस्रो पहेँलो कार्ड पाएका थिए । त्यसैको उठाउँदै संकटाले बराबरी गोल फर्कायो । ५५ औं मिनेटमा संकटाका लागि अमित तामाङले पेनाल्टीमा बराबरी गोल गरे । आर्मीका सुमन अर्यालले पेनाल्टी एरियामा बल ह्याण्ड गरपछि संकटाले पेनाल्टी पाएको हो ।

एक खेलाडी कम भए पनि आर्मीले खेलमा संकटाविरुद्ध दबाब बनाएको थियो तर गोल गर्न सकेन । यो सिजनको लिगमा आर्मी बराबरीमा रोकिएको यो पहिलो पटक हो । बराबरीपछि ६ खेलबाट आर्मीले १३ अंक जोडेको छ । शीर्ष स्थानको मछिन्द्र क्लबसँग समान अंक भए पनि आर्मी गोल अन्तरमा दोस्रो स्थानमा छ । दोस्रो बराबरी खेलबाट संकटा ६ खेलबाट ८ अंक जोड्दै आठौं स्थानमा छ ।