कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो । मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए । गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको प्रहरीले  जानकारी दिएका छन् ।उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् ।  स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । गायक भट्टराईको ‘कामनाले भरिएको’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर.’ उनको अर्को लोकप्रिय गीत हो । उनका ‘पिएर नशा अधरको तिम्रो छैन अझै भरिएको दिल’लगायत ‘हेर धर्ती’ जस्ता  गीत छन् । गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् । निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ सम्म उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए ।