च्यासल र एपीएफको बराबरी,एनआरटीसँग हार्‍यो पुलिस

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको दोस्रो खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । तुलनात्मक रुपमा राम्रो खेलेको च्यासलले बढी मौका खेरफालेको थियो । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । एपीएपका राजन गुरुङ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै ६ खेलबाट ६ अंक बनाएको च्यासल १०औं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा छ ।

दर्शन गुरुङको एक गोलको मद्दतमा न्यूरोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो जीत हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले विभागीय टोली पुलिसलाई १-० ले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा एनआरटीले ७६ ‌औं मिनेटमा अग्रता बनायो । राजेश परियारको लङ पासमा दर्शन गुरुङले पेनाल्टी एरिया भित्रबाट गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । पुलिसले गोलका केही अवसर गुमाएको थियो । ४९ औं मिनेटमा पुलिसका अन्जन राईको हेडर एनआरटीका अरिक विष्टले गोल लाइनबाट बचाउँदा पुलिसले अग्रता लिन सकेन ।

ईन्जुरी टाईममा पुलिसका अन्जन राईको प्रहार क्रस बारमा लागेर फर्कँदा पुलिसले बराबरी गर्ने मौका गुमायो ।यस सिजन लिगमा एनआरटीको यो तेस्रो जीत हो । जीतपछि एनआरटीले ६ खेलबाट ८ अंक जोडेको छ । गत वर्ष अन्तिम भएकाले एनआरटीले यसपटक २ अंक घटेको छ ।उता लिगमा पुलिसको यो दोस्रो हार हो । पुलिसको पनि ६ खेलबाट ८ अंक नै छ ।