५१ दिन मनायो,करोड कमायो भन्ने सुन्छु, घाटा कसरी भयो ?

निर्माताहरु भन्नुहुन्छ–‘हामी घाटामा, घाटामा, घाटामा’ । हलवालाहरु पनि भन्नुहुन्छ–‘हामी पनि घाटामा, घाटामा, घाटामा । कलाकार साथीहरु पनि घाटामा । सबै घाटामा । अनी यता सुन्छु, अर्वौको लगानी छ । अर्वौको लगानी मात्र गर्ने अनी सधै घाटामा नै जाने हो भने तपाइहरु के खाएर बाच्नुहुन्छ ? के गरेर बस्नुहुन्छ ? यो एउटा गम्भिर प्रश्न भयो । यदि केही पनि हुदैन भने, यस्तो घाटाको व्यापार गर्न सक्ने संसारमै नभएको व्यापारिक सिद्धान्तको सफल प्रयोग हामी कहाँबाट गर्दैछौ ? मैले यो बुझ्न सकेको छैन् । यसको निम्ती त हामीले अन्तरराष्ट्रिय पुरस्कार पाउनु पर्ने । नयाँ अर्थशास्त्रको विकास भयो नि त ।

निर्माता र हलवालाई भन्छु, हाम्रो दुई वटा उद्देश्य छ, मनोरञ्जन र सन्देश । त्यस भित्र लुकेको तथ्य भनेको व्यापार हो । सुदुरपश्चिमको पहाडी जिल्लाहरु, कर्णालीका सुर्खेत बाहेकका जिल्लाहरु, कपिलवस्तुदेखि सप्तरीसम्मका हलहरुमा नेपाली चलचित्र कती देखाउनु हुन्छ ? कती दिन चल्छ ? हो त्यहाँ देखाउन जानुस् न । नेपाली संस्कृतिलाई जोगाउने त नेपाली चलचित्रले नै होला । यदि तपाईहरु त्यहाँ जानुहुन्छ भने के सहुलियत चाहिन्छ भन्नुहोस्, हामी गर्न तयार छौ । भाषा, मनोरञ्जन, शिक्षा लगायतको हिसाबमा नेपाललाई जोड्नु पर्यो । भुगोल होइन, नेपाली मनहरु जोड्नु पर्यो र कला साहित्यको साक्षत्कार गराउनु पर्यो ।

नेपाली, मैथिली र भोजपुरीको हलहरुमा चलाउने गर्नुहोस्, जती दिन चल्छ नि त्यसमा के केमा निुशल्क दिनुपर्यो, ट्याक्समा कती छुट दिनुपर्यो ? ल त्यसमा संचार मन्त्रालय तयार । ८० प्रतिशत छुट दिन पनि हामी तयार छौ । तर, एउटा शर्त छ–‘एउटा चलचित्रको नाममा अर्को चलचित्र चलाउनु भएन । हामी पनि दायाँ र बायाँ हेर्ने गर्छौ के । अर्को चलचित्रको बिल आउन मिल्दैन ।

अर्को पनि भन्छु–‘यत्रो धेरै स्थानिय सरकार बनेको छ । त्यसमा हलवाला साथीहरुलाई त्यहाँ पनि चलचित्र चल्छन् र त्यहाँ पनि दर्शक बस्छन् भन्ने विश्वास छ भने वितरकहरु, हलवालाहरु स्थानिय सरकारसँग मिलेर हल बनाउनुस् न । त्यसमा हामी सहयोग गर्न तयार छौ । गाउँ ठाउँमा पनि त्यो चाहिन्छ नि त । २ सय मात्र घर भएको ठाउँमा पनि त मिलेर चलाउन सकिन्छ । त्यस्तो ठाउँमा जानु भयो भने स्थानिय सरकारले नै जग्गा दिन्छ । पछि मुनाफा भयो भने मिलेर लिदा भइहाल्यो । हाम्रो हलहरु शहरमा मात्रै छ । चलचित्र क्षेत्रलाई उद्योग भन्नुहुन्छ भने उद्योग कै रुपमा काम गर्नुपर्छ ।

अब अर्को कुरा । ‘तपाईहरुको संघ संगठन कती वटा हुन्छ ?’ राजनीतिक दलको त सुन्या छु । दुई तिहाईको सरकारमा पनि सभामुख कोसँग बस्छ भनेर समाचारमा पढ्छु । यहाँ पनि उस्तै । यहाँ त कोही सत्ता पक्ष र प्रतिपक्ष हुनुहुन्न होला । कोहीलाई कुर्सी र झण्डा बाड्नुपर्ने पनि होइन होला ? यो त नाफाको उद्योग हो भने सबै नाफा कमाउने काममा लागौँ न ।

यहाँ कुनै चलचित्र यती हप्ता चल्यो, ५१ दिन मनायो, यती करोड कमायो भन्ने सुन्छु । अनि घाटा कसरी भयो ? कि यो वकवासको हल्ला हो, कुनै नाफामा छैनन् भन्ने कुरालाई मान्नुपर्यो । कि घाटामा परेकाहरुले अरुलाई फसाउनको लागि बेपत्ता नाफा छ भनेर ल्याएको छ । ऋणमा डुबाइदिएको छ । फसाइदिएको छ । आखिर सत्य के हो ? आफूले आफूलाई नढाटौँ । नाफा जती निर्माताको, घाटा चलचित्र भवनको । के भिन्नता हो यो निर्माता र हलवालाको ? हलमा चलचित्र गएन भने स्टोरमा परिणत हुन्छ । त्यसैले व्यवहारिक पक्षको खोजी गरौ । हलवालाले पनि चलचित्र निर्माताको भलो सोच्ने गरौ न ।

(नेपाल चलचित्र संघ’को साधारण सभामा  सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिएको मन्तव्य  )