फ्रेन्डस क्‍लबको पहिलो जीत, बराबरीले सरस्वतीलाई १ अंक

थ्रीस्टार क्लबलाई हराउँदै फ्रेन्डस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा फ्रेन्डसले थ्रीस्टारलाई १- ० ले पराजित गरेको हो । फ्रेन्डको जीतमा विदेशी खेलाडी वांगर डे कार्नोले १३ औं मिनेटमा गोल गरे । पाँच खेलसम्म जीतविहीन रहेको फ्रेन्डस क्लब जीतसँगै रेलिगेसन क्षेत्रबाट बाहिर निस्केको छ । उसले खेलेका ६ खेलमध्ये एउटामा जीत, दुईवटामा बराबरीको नतिजा निकालेको छ भने ३ खेलमा पराजय ब्यहोरेको छ । पराजयपछि थ्रीस्टार क्लब भने ६ खेलबाट १० अंकसहित लिगको चौथो स्थानमा छ ।थ्रीस्टारको भने यो दोस्रो हार हो।

यता सरस्वती युवा क्लबले जारी लिगमा पहिलो अंक जोड्न सफल भएको छ। सरस्वतीले दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेर अंक जोडेको हो। यसअघि सरस्वती लिगका सुरुवाती पाँचै खेलमा पराजित भएको थियो। पुछारको सरस्वतीको १ अंक भएको छ। ब्रिगेड भने ७ अंक जोडेर आठौं स्थानमा छ।

दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेनन्। विजय गुरुङले ३५औं मिनेटमा पेनाल्टी एरियाको दायाँतर्फ बाट गरेको क्रस सरस्वतीका गोलकिपर प्रदिप भण्डारीले सहज बचाउ गरे।सरस्वतीका कजिम बुसारीले बाँयाँतर्फबाट अगाडि बढाएको बलमा सरस्वतीले ब्रिगेडको रक्षापंक्ती छिचोल्न सकेन। सुषन लामाले ब्रिगेडका विजय गुरुङमाथि खराब ट्याकल गरेका कारण पहेँलो कार्डको सामना गर्नु परेको थियो। सोही फाउलमा पाएको फ्रिकिकमा शिरिर लेखीले गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो।

सरस्वतीका एबेइ एमवानिकाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार टार्गेटमा परेन। दोस्रो हाफमा पनि बनेका मौकामा दुवै टोलीले गोल गर्न सकेनन्। ब्रिगेड ब्वाइजका रोशन राना मगरले ४९औं मिनेटमा गरेको प्रहार बाहिरिएको थियो। निरन्तर सरस्वतीको गोलपोष्टमा आक्रामण गरेको ब्रिगेडका जर्ज भिन्सेन्टले ५२औं मिनेटमा हेडरमार्फत गरेको प्रहार क्रसबारमाथि बाहिरिएको थियो। ब्रिगेडकै जया गुरुङले ६२औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार पुन क्रसबारमाथि बाट बाहिरियो। सरस्वतीका ७९औं मिनेटमा सरस्वतीका तिर्थ बस्नेतले गोल गर्ने सुन्दर मौका गुमाएका थिए। विपक्षी खेलाडीले गरेको फितलो क्लियरिङबाट आएको ‘रिबाउन्ड’ बललाई ६ यार्ड बक्स भित्रबाट तिर्थले गरेको प्रहार आकाशिएको थियो।