कलाकारितामा कोरोना भाइरसको प्रभाव: कलाकार र प्राविधिक वेरोजगार,कला-पत्रकारिता संकटमा

देश लक डाउन भएको आज २४ दिन भयो । आजसम्म आइपुग्दा नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १६ पुगेको छ । जसमा एकजना पहिले नै उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अरु १५ जनाको उपचार चल्दैछ । द्रुत परीक्षणका क्रममा अन्य केही ठाउँमा पनि कोरोना देखिएको  छ ।   सतर्कता अपनाउँदा अपनाउँदै पनि नेपालमा यो संक्रमण भित्रिएको छ । एकैपटक विश्वभरका मानव जाती उस्तै डर र अनिश्चितताबाट गुज्रिएको  घटना हो यो ।

नेपालको सन्दर्भमा यो अवस्थाको संवेदनशीलता नागरिक तहबाट गम्भीरतापूर्वक लिइएको पाइन्छ । पूरै देशलाई लकडाउन गर्ने सरकारको निर्णयलाई बहुसंख्यक नेपालीले साथ दिइरहेका छन् । लक डाउनले कोरोना संक्रमण नियन्त्रणका लागि भूमिका निर्वाह गरे पनि देशको अर्थतन्त्र भने डामाडोल हुँदै गएको देखिन्छ ।

कोरोना प्रभाबले  संगीत र चलचित्रको कुटिर उद्योग  ठप्प छ । केहि गीतकार ,संगीतकारले घरमै बसेर संगीतको काम गरिरहेको फेसबुके गफको केहि तुक देखिदैन । ति गीत संगीत बजार आउने संभाबना पनि छैन । आईहालेमा कसैले सुन्ने वाला पनि छैन । उहि हल्ला गर्न मात्रै काम लाग्छ । पहिल्यै रेकर्ड भएका केहि गीत बजारमा आउलान, चलचित्र प्रदर्शन होलान तर दर्शक श्रोताको ध्यान न गीतमा हुन्छ न त चलचित्रमा ।

सामान्य अवस्थामै  आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्नु परेको नेपाली संगीत र चलचित्र उद्योग अहिलेको अवस्थाले तहसनहस भएको छ । कोरोनाको प्रभावले  नेपाली चलचित्र-संगीत उद्योगमा असर  देखिदै गएको छ । गीत रेकर्डिंग , चलचित्र निर्माण, प्रदर्शन,पोस्ट प्रोडक्सन लगायत सम्पूर्ण गतिविधि  ठप्प छ । यसले नेपाली संगीत -चलचित्र उद्योगको लाखौ आय व्यय रोकिएको छ । कलाकार, प्राविधिक लगायत धेरै बेरोजगार हुने अवस्था पनि सिर्जित हुने देखिन्छ ।

कोरोना त्रासले यो वर्षभरि नै भिडभाड हुने कार्यक्रममा सरकारले  प्रतिबन्ध लगाउछ । न त सिनेमा घर खुल्ने संभाबना छ न त कुनै कन्सर्ट हुनेवाला छ । न त महोत्सव नै हुन्छन् । त्यसैले यो वर्ष संगीत र चलचित्र व्यापार  हुदैन । तर युट्युभ , रेडियो , टेलिभिजनमा गीत र चलचित्र हेर्ने क्रम भने रोकिदैन । नेपालीहरुको स्वभाब नै हो दुख सुख जेमा पनि रमाउने ।

फागुनको दोस्रो सातापछि  कुनै पनि चलचित्र रिलिज भएको छैन । रिलिजमात्र होइन, चलचित्र छायाँकन र निर्माणको अवस्था पनि  शुन्य रहेको छ । केहि निर्माताहरुले चाहि भित्र भित्र लुकी लुकी संपादन डबिंगको काम गरिरहेको सुनिएता पनि यसले हाम्रो कुटिर उद्योगलाई खासै चलाएमान बनाउदैन । हुन त चलचित्र र संगीतमा आश्रीतहरुको संख्या खाशै ठुलो नभएकाले यसले देशको अर्थतन्त्रमा  ठुलो प्रभाब पार्दैन ।

संगीत -चलचित्रमा कति आश्रित भन्ने कुरो स्पस्ट छैन । यसपाली रिलिज भएका चलचित्र केलाउदा बढिमा १ सय जाना प्राविधिक रहेको अनुमान गर्न सकिन्छ । सुटिंग युनिटमा काम गर्ने लाईटमेन, कुक र भरिया टोलीलाई पनि प्राविधिक नै मानेर संख्या थप्ने हो भने पनि बढिमा १०० जना थपिएला । त्यसमाथी अझ गहिरोसंग केलाउने हो भने पुर्ख्यौली सप्पति नै नहुने खानै नपुग्ने अत्यन्त कम भेटिन्छन् । तिनलाई सामान्य भरथेग गरियो भने ठुला समस्या केहि देखिन्न । उहि नियमित कमाई र काम भएन ।

यस्तो अवस्थामा चलचित्र कर्म गर्दै आएका कलाकारहरु भने पूर्ण रुपमा बेरोजगार हुने देखिएको छ ।  तर उनीहरुको दैनिक गुजारामा खासै असर गर्दैन । किनकी धेरैले पहिले नै टन्न कमाएर पैसा व्याकअप गरेकै छन् । कतिपयको खान पुग्ने जेथा छ । डराउनु पर्ने अवस्था छैन ।  नियमित कमाई नहुने मात्रै हो । २ वर्ष पुरै बेरोजगारको समस्या भए पनि कलाकारलाई ठूलो असर पर्दैन । ५ प्रतिशत कलाकारमात्र चलचित्र कर्मबाटै आश्रित छन् ।

यहि कुरा संगीततर्फ हेर्दा पनि त्यस्तो नाज़ुक अवस्था केहि देखिन्न । स्टुडियो संचालक, स्टुडियोमा कार्यरत कर्मचारी , रेकर्डिष्ट , आदि सबै जोड्दा  दुई सय पनि पुग्दैन । त्यहॉ पनि दैनिक पारिश्रमिक बुझेर खानु पर्ने अत्यन्त कम छन् । यसबाट के देखिन्छ भने संगीत-चलचित्र क्षेत्रमा दानापानीको समस्या छैन ।

अहिले नयाँ चलचित्र निर्माणमात्र रोकिएको होइन । छायाँकनमा रहेका चलचित्रसमेत अधुरै छन् । बीचमा रोकिएका चलचित्रको काम सुरु भए पनि छायाँकनमा जाने तयारीमा रहेको फिल्मको काम भने सुरु हुन गाह्रो छ । बनाउने घोषणा भएका चलचित्र बन्ने संभाबना निकै कम छ । तर घोषणा गरेर जग हसाउने काम भने चलचित्रकर्मिहरुले सुरु गरिसके । संचार माध्यमबाट समाचार आउन थालीसक्यो ।

कुन झोकमा निर्देशक नेत्र गुरुंगले फेसबुक मार्फत नयॉ चलचित्र ‘खैलाबैला’ बनाउने घोषणा गरे थाहा भएन । तर परिस्थिति चलचित्र अनुकूल छैन । यसलाई पनि हाम्रा मिडियाले महत्वका साथ समाचार  बनाए । समाचार पढ्ने जो कोहि पनि एकपटक हासे होलान । अथबा अनुमान गरे होलान ‘नेत्र ब्रोले ठुलै माछा पाए कि क्या हो ?’ २०७७ सालको दशै अधि  बनाए भने चाहि यो काम उदाहरणिय पनि हुनसक्छ । कहिले सुरु गर्नेभन्दा पनि सुटिङमा कति सुरक्षित हुने र कसरी सुरक्षित रहने पहिलो प्रश्न हो ।

अहिलेको अवस्थामा लकडाउन खुलेपछि पनि करिब एक वर्ष अर्थात् २०७७ भरि चलचित्र गतिविधि राम्रोसँग हुन सक्दैन । दर्शक श्रोताको क्रयशक्ति नै घटेको हुन्छ । त्यसमाथी फिल्म गतिविधिका लागि कम्तीमा पनि ४०/५० जना भेला हुनुपर्छ । यति मानिस भेला हुनु भनेको अहिलेका लागि खतरा हो । सबै त्रसित अवस्थामा रहेकाले यो संभव देखिदैन । अबको एक वर्ष चलचित्र छायाँकन, रिलिज, गीत रेकर्ड , कन्सर्ट, मेला, प्रवर्धनात्मक कार्यक्रममा प्रभाव पर्छ । चलचित्र छायाँकनमा थोरै मानिसले हुदैन । अहिलेको त्रास सामान्य भयो भने पनि मानिसलाई पहिले झैँ भेला हुन र सामान्य गतिविधिमा फर्किन समय लाग्छ । छायाँकनभन्दा पनि रिलिजको हकमा अझै ढिलो हुनसक्ने देखिन्छ।

धेरै कलाकार कलाकारिताको साथमा अन्य क्षेत्रमा पनि क्रियाशील देखिन्छन् ।  त्यसमाथी कलाकारिता नेपालमा पेशा भन्दा पनि सौखिन पेशाको रुपमा रहेको छ । फिल्म बनाउने निर्माता, निर्देशक , प्राविधिक, कलाकार सबै अन्यत्र पनि क्रियाशील रहदै आएका छन् । संगीतकार , गीतकार, गायक गायिकाहरु पनि अन्य पेशामा आवद्ध देखिन्छन् । ५ प्रतिशत संगीतकर्मी मात्रै पुर्णरुपमा यसैमा समर्पित छन् । तिनको कमाईमा राम्रै असर पर्छ । चलचित्र-संगीतमा संकट आउदैमा कोहि भोकै पर्दैनन । आर्को कुरा केहि वर्षदेखि नै चलचित्र-संगीतको काम घट्दै गएकाले यसमै आश्रित हुनेहरुको संख्या पनि घटेकै हुनुपर्छ ।

कोभिड- १९ को प्रभाव सबैभन्दा धेरै कलाकारितालाई नै आधार बनाएर पत्रकारिता गरिरहेकाहरुलाई बढि पर्ने देखिन्छ । चलचित्र-संगीतकै बिज्ञापन लिएर पत्रिका अनलाईन चलाईरहेका पत्रकारहरुको मिडियामा नराम्रो संकट आउछ । संभवत पत्रिका त बन्दै पनि हुनसक्छ । अनलाईन कम खर्चमा चलाउन सकिने भएकाले जिनतिन टिक्ला ! हिजोआज निस्किएका ठुला मिडिया हाउसकै पत्रिका दुव्लाउन थालीसके । कतिन्जेल टिक्ने अवस्था बहुत कठिन छ । यसको मार पनि त्यहॉ कार्यरत कला पत्रकारलाई नै पर्ने देखिन्छ । देशमा कला गतिबिधी ठप्प भएपछि न समाचार न कारोवार ! कतिन्जेल राख्ने कला पत्रकारलाई मिडिया हाउसले ? प्रश्न गम्भिर छ ।दाल भातकै समस्या त कला पत्रकारहरुलाई पनि पर्ने अवस्था छैन तर आफ्नो मातहातको मिडिया भने संकटमा ! टिकाउन बहुत कठिन छ । तर केहि न केहि उपाय निस्केला आशा गरौ ।

अहिलेको अवस्थामा  रोजगारी गुम्ने, आर्थिक अवस्था कमजोर हुने हिसावले हेर्नु हुदैन । अहिलेको प्रमुख प्रथामिकता स्वस्थ्य हो । कसरी स्वस्थ्य रहने भन्नेतिर सबैले ध्यान दिनुपर्छ । जीवनभन्दा ठुलो धन  होईन । जीबन रहे धन  फेरि पनि कमाउन सकिन्छ । यतिखेर यो महामारीबाट बच्नु प्रमुख कुरा हो । कलाकारलाई मात्र होइन, अहिलेको अवस्थाले जुनै क्षेत्रमा पनि बेरोजगारको समस्या निम्त्याउने देखिन्छ । आशा छ, नयाँ बाटो र उपायहरु पनि भेटिनेछन् ।