एनआरटिले एपीएफलाई हरायो ब्राजिलियन चम्कदा फ्रेन्ड्सको जित

शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले विभागीय क्लब एपीएफमाथि रोमाञ्चक जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले एपीएफलाई ३-२ ले पराजित गरेको हो । ८५औं मिनेटमा दर्शन गुरुङले गोल गरेपछि एनआरटीले जित हात पारेको हो । २४औं मिनेटमा आन्द्रे थियरीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर आशिष लामाले ४१औं र ५३औं मिनेटमा गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । ८० मिनेटसम्म एनआरटीले एक गोलले पछि थियो । तर ८० औं मिनेटमा एनआरटीका जोर्डन एनडेम्बाले गोल फर्काउँदै खेल २-२ को बराबरी गरे । त्यसको पाँच मिनेटपछि दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई जित दिलाए ।

यस सिजन एनआरटीको यो चौथो जित हो । ७ खेलबाट एनआरटीले ४ जित र १ बराबरीसहित १३ अंक जोडे पनि २ अंक ऋण तिरेकोले अब ११ अंक मात्र छ । गत सिजन ननरेलिगेसन लिगमा अन्तिम भएकोले एनआरटीले २ अंक गुमाएको हो । एनआरटीले पनि नेपाल पुलिस र थ्री स्टार समान ११ अंक जोडेको हो । एनआरटीको जितपछि लिगमा टप सिक्समा रहने टोलीबीच २ अंक मात्र अन्तर छ । त्रिभुवन आर्मी, मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको समान १३ अंक छ भने थ्री स्टार, नेपाल पुलिस र एनआरटीको समान १३ अंक छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनको दबाबमा रहेको सरस्वती युथ क्लबविरुद्ध फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा फ्रेन्ड्सले सरस्वतीलाई ४–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा उत्तम राईले दुई गोल गरे । सउलो डे अक्विनो र वाग्नर डे कार्मोले एक एक गोल गरेका थिए । सरस्वतीका लागि काजिम एडेगोके बुसारीले सान्त्वना गोल फर्काएका थिए । फ्रेन्ड्सले पाँचौं मिनेटमा पहिलो गोल गरेको थियो । फ्रेन्ड्सका उत्तम राईले वान टच गोल गरेका थिए । २४औं मिनेटमा सउलोले फिलिप डी सउजाको पासमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । फ्रेन्ड्सका लागि तेस्रो गोल वाग्नर डेले ७०औं मिनेटमा गरेका थिए ।
८६औं मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई सजिलै जिताए । सरस्वतीका लागि ८०औं मिनेटमा काजिम एडेगोके सान्त्वना गोल गरेका थिए । फ्रेन्ड्सका उत्तम राई म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस जितसँगै सात खेलबाट आठ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । एक अंकमा सिमित सरस्वती तालिकाको अन्तिममा छ । ६ खेलमा हार खेपेको सरस्वतीले एक खेल बराबरी खेलेको थियो । लगातार हारले सरस्वतीमाथि रेलिगेसनको दबाब बढेको छ ।