आर्मीले लियो ३ अंकको अग्रता ब्रिगेड र संकटाले अंक बाँडे

विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ जित हात पार्दै ३ अंकको अग्रता बनाएको छ । सोमबार भएको सातौं चरणको अन्तिम खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३-० ले पराजित गरेको हो । जितपछि आर्मीले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबमाथि ३ अंकको स्पष्ट अग्रता बनाएको हो । दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक/एक गोल गरे । पहिलो हाफमा दुवै टोलीले गोलका अवसर बनाउन सकेनन् । ४०औं मिनेटमा च्यासलका हेमन्त थापा मगरको फ्रिकिक क्रसबार माथिबाट बाहिरियो ।

दोस्रो हाफको शुरुबाटै च्यासलले आर्मीमाथि दबाब बनाएको थियो । तर गोल आर्मीले गर्यो । ५८औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । ६७औं मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलले पेनाल्टी बकस भित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो । ६८औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी एरियामा गोल गर्ने अवसर खेर फाले । तर ५ मिनेटपछि नवयुगले मौका गुमाएनन् । ७३औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । सेसेहाङ आङदम्बेले हानेको प्रहार च्यासलका गोलकिपर एलन न्यौपानेले बचाउन नसक्दा रिबाण्डमा नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

८४औं मिनेटमा आर्मीले पेनाल्टी पायो । च्यासलका छिरिङ गुरुङले सुमन अर्याललाई पेनाल्टी एरियामा फाउल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । त्यसमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाए । इन्जुरी समयमा आर्मीले अर्को पेनाल्टी पायो । च्यासलका छिरिङले दिनेश हेन्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीमा नवयुग श्रेष्ठले गोल गर्न सकेनन् । नवयुगको पेनाल्टी प्रहार पोष्टमा लागेर फर्केको थियो । जितपछि लिग लिडर आर्मीले ७ खेलबाट १६ अंक जोडेको छ । समान खेलबाट मछिन्द्र र मनाङको १३ अंक छ । आर्मीले ७ मध्ये ५ खेल जित्दा १ बराबरी खेलेको थियो । एक खेलमा भने हार बेहोरेको थियो । उता तेस्रो हार बेहोरेको च्यासल ७ खेलबाट ६ अंकसहित १२औं स्थानमा छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । मध्यभागमा बल नियन्त्रणमा प्रखर देखिएको संकटाको स्ट्राइकिङ लाइन कमजोर बनेको थियो । संकटाको प्रहारमा बाधक बनेका ब्रिगेडका गोलरक्षक विशाल सुनार म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै सात खेलबाट नौ अंक बनाएको संकटा आठौं र आठ अंक बनाएको ब्रिगेड नवौं स्थानमा छ ।