आवेशमा प्रहरीलाई गालीगलौज गरेर फेसबुक लाइभ गरेपछि आस्था राउत सामाजिक सञ्जालमा आलोचनाको शिकार बनेकी छिन् । उनी ‘जंगी’ स्वभावकी छिन् । तर, भित्री हृदय कोमल एवं भावुक छ उनको । कहिलेकाहीँ सन्तुलन नमिल्दा उनको व्यक्तित्वको लय भंग हुन पुग्छ ।लोकगायक हरिबहादुर राउत र साबित्री राउतकी एक्ली सन्तान हुन् आस्था । घरमा सांगीतिक माहोल भएकाले आस्था बाल्यकालमै संगीत क्षेत्रमा होमिइन् ।
उनले दुईपटक रेडियो नेपालको राष्ट्रिय बालगीत प्रतियोगितामा दोस्रो पुरस्कार जितिन् । एसएलसीपछि उनले रेकर्ड गरेको ‘सालको पात टपरी गाँसेर…’ बोलको रिमिक्स गीतले उनलाई चर्चामा ल्यायो । आस्थालाई संगीत क्षेत्रमा स्थापित गराएको चाहिँ सन् २०१६ मा आएको ‘आधार’ एल्बमले हो । यो एल्बममा समावेश ‘मलाई नेपाली होइन भन्ने कहाँ पाइन्छ ?’ गीत अहिलेसम्म लोकप्रिय छ ।
पत्रकारिता र आमसञ्चारमा स्नात्तकोत्तर अध्ययन गरेकी आस्था संगीतमा अश्लीलता र उछृङ्खलताकी विरोधी हुन् । गीतका शब्द हेरेर मात्रै गाउन तयार हुने नेपालका थोरै गायक-गायिकामा आस्थाको नाम आउँछ । पछिल्लो समय ‘भ्वाइस अफ नेपाल’को कोच भएपछि आस्थाको पहिचान फराकिलो भयो ।
आस्थाका गल्ती
आस्था हातमा कफी समातेर सुरक्षा जाँचमा समावेश भएकी छन् । यो अमर्यादित हो । चेकिङमा हातमा कफी समातेर उभिँदा आस्थाको अहमता वा गैरजिम्मेवारीपन प्रदर्शन भएको छ । यद्यपि, प्रहरीले यसमा सदाशयता नै देखाएर उनको कफी आफैंले समातेर टेबलमा राखिदिएको देखिन्छ । चेकिङ सकिएपछि उनले आफूले ल्याएको कफी आफैंले लैजानुपथ्र्यो । तर, प्रहरीले दिँदा पनि लिन तयार भइनन् । यद्यपि, प्रहरीले उनलाई कफी थमाउने क्रममा हात समाएर थर्काएको जस्तो देखिएको छ । कफी छोडेर हिँडिसकेपछि उनले प्रहरीलाई चेतावनीको शैलीमा चोरी औंला देखाएकी छन् । आस्थाले बताएअनुसार उनले त्यसबेला ‘मान्छे चिनेर व्यवहार गर’ भनेकी थिइन् ।
ड्यूटीमा बसेका प्रहरीलाई को सेलिब्रेटी हो वा को सर्वसाधारण भन्ने हेक्का हुँदैन र हुनैपर्छ भन्ने पनि छैन । सबैलाई लाग्ने कानून एउटै हो । त्यसमाथि विमानस्थलको सुरक्षा निकै संवेदनशील विषय हो । यसमा थोरै भूलचूक भयो भने प्रहरीले जागिर गुमाउनुपर्ने हुन सक्छ । त्यसैले यस्तो सुरक्षाकर्मीले यसमा खुकुलोपन देखाउन सक्दैनन् ।यो सबैभन्दा ठूलो गल्ती आस्थाले फेसबुक लाइभमा आएर गरिन् ।
फेसबुक लाइभमा आउनु नै त गल्ती थिएन, तर उनले सिंगो प्रहरी संगठनलाई लाञ्छित हुने गरी तथानाम गाली गरिन् । आवेशमा आएर उनले प्रहरीमाथि केही आपत्तिजनक शब्दहरु पनि प्रयोग गरेकी छन् । यो भिडियोले उनीप्रति जनताको सहानुभूति बढाउनेभन्दा उनको कद घटाउने काम गर्यो । आस्थाले विनम्रतापूर्वक आफूमाथि भएको व्यवहारबारे गुनासो गरेको भए जनआक्रोश प्रहरीमाथि खनिने अवस्था आउँथ्यो । तर, अत्यधिक आक्रामकता देखाउँदा उनीमाथि नै ‘अमर्यादित’ र ‘अशिष्ट’ को आरोप लाग्यो । आलोचनाको वर्षा भएपछि उनले बारम्बार फेसबुकमा माफी माग्नुपर्यो ।
प्रहरीको गल्ती
व्यस्त ड्यूटीमा रहेका प्रहरीहरुको व्यवहार प्रायः रुखो पाइन्छ । यसमा तर्क गरिन्छ कि ड्युटीको प्रेसरले उनीहरु आफूलाई विनम्र राख्न सक्दैनन् । परन्तु, कामको प्रेसरको बहानामा प्रहरीले जनतासित अमर्यादित बोली-व्यवहार गर्न मिल्दैन ।आस्था बिनाकारण त्यति धेरै आवेशमा आएकी पक्कै होइनन् होला । आखिर के नै दुश्मनी थियो उनको प्रहरीसँग ? उनलाई चोट पुग्ने बोलीवचन प्रहरीबाट भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । प्रहरी संगठनभित्र बोली-व्यवहारको पुरानो समस्या छ नै । उनीहरु सर्वसाधारणलाई त रुखो बोली गर्छन् नै, प्रहरी संगठनमै पनि सिनियरबाट जुनियरलाई निम्नकोटीको बोली-व्यवहार हुने गरेको पाइन्छ । तल्लो तहका प्रहरीलाई माथिल्लो तहकाले ‘तँ’ भन्ने चलन छ । यही सिकाइबाट आएकी महिला प्रहरीले आस्थालाई ‘तँ’ भनिनन् होला भनेर ठोकुवा गर्न सकिन्न । अहिले आस्थालाई अभद्र व्यवहारमा मुद्दा चलाउने कुरा आएको छ । यो चाहिँ प्रहरीको अतिरञ्जित कारवाही हो । उनलाई बोलाएर सामान्य सोधपुछ गर्नु स्वाभाविक मान्न सकिन्छ । लिखितरुपमा माफी मगाउन सक्छ प्रहरीले । तर, एक वर्षै जेल बस्नुपर्ने/हाल्नुपर्ने अपराधचाहिँ उनले गरेकी छैनन् । यदि त्यस्तो गरिएमा अहिले आस्थामाथि आइरहेको गाली प्रहरीमाथि फर्किन सक्छ ।
पहिलो कुरा त आस्थाले आफ्नो गल्ती महसुस गरेर पटक-पटक माफी मागिसकेकी छन् । दोस्रो कुरा, घटनाको यथार्थ राम्ररी निर्क्याेल नै भएको छैन । आस्थाको वयानसँगै विवाद चर्केपछि प्रहरीले संवेदनशील स्थानको सीसीटीभी भिडियो नै सार्वजनिक गरेको छ । यसमाथि पनि प्रश्न उठाउन सकिन्छ । चेकिङमा राखिएको सीसीटिभी फुटेज भनेको अनुसन्धानका लागि हो, सार्वजनिक प्रदर्शनका लागि होइन ।
प्रहरीले गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहारको उजुरी दिएर सिडिओबाट ‘वारेन्ट’ (पक्राउ पुर्जी) लिएको घटना अहिले विवादित छ।पूर्वनिर्धारित कार्यक्रमका लागि त्यहाँ पुगेको सूचना बेवास्ता गर्दै प्रहरीले उनलाई ठूलै अपराध गरेर भागेका अपराधीजस्तो फरार सूचीमा राखेको छ। उनी भागेकी हैनन्। न त विमानस्थलमा भएको घटना उनीविरुद्ध वारेन्ट काट्नुपर्ने गरी गम्भीर प्रकृतिको थियो।
सबै मानिस एउटै स्वभावका हुन्नन्। कोही शान्त हुन्छन्, कोहीले रवाफ देखाउँछन्। कोही छिटो झोंक्किन्छन्, कोही मुसुक्क हाँस्दै ‘अति’ पनि सहन्छन्। झोंक्किएर मानिसले सामान्य गल्ती गरेको हुनसक्छ, तर त्यो दण्डनीय अपराध होइन। हुन सक्दैन। प्रहरी भने झोंक्किन पनि हुन्न। ऊ आमनागरिकको करमा पालिएको राष्ट्र र नागरिकको सेवक हो। त्यसमाथि ऊ तालिमप्राप्त कर्मचारी हो। उसले रिसाएर आमनागरिकलाई गाली गर्न वा ‘तँ’ भनेर सम्बोधन गर्न पाउँदैन। त्यो गल्ती विमानस्थलमा खटिएकी महिला प्रहरीले गरेकी छन्। त्योभन्दा ठूलो गल्ती प्रहरीले आस्थासँग प्रतिशोध साँध्न उनीविरुद्ध वारेन्ट जारी गरेर गरेको छ।
घटनाको पर्सिपल्ट त्रिभुवन विमानस्थलकी ती प्रहरीलाई आस्थाविरुद्ध अभद्र व्यवहार भएको भन्दै जाहेरी दरखास्त दिन लगाएर प्रहरी प्रशासनले आस्थाविरुद्ध वारेन्ट जारी गरेको छ। यहाँनिरबाट प्रहरीको ‘अति’ सुरू हुन्छ। विमानस्थलको सामान्य नोकझोंकलाई लिएर नागरिकविरूद्ध प्रहरी संगठन मुद्दामा ओर्लिनुको सन्देेश के हो? प्रहरी वा प्रहरी संगठनविरुद्ध औंला उठायौ भने हामी त्यसको बदला लिन्छौं भन्ने सन्देश प्रहरीले आमनागरिकलाई दिन खोजेको देखिन्छ। विमानस्थलमा ती प्रहरीले तँ भनेपछि आस्थाले उनलाई चोर औंला देखाउनु अस्वाभाविक हैन। नगारिकलाई प्रहरीले तँ भन्छ, हेप्छ भने नागरिकलाई चोर औंला ठड्याउने छुट हुन्छ।
आस्थाको व्यवहार राम्रो भएन भन्दैमा सुरक्षा जाँचका लागि उभिएकी ती प्रहरीले आफ्नो जिम्मेवारी बिर्सिन मिल्दैन। प्रहरीको जिम्मेवारी नागरिकमाथि शासन गर्ने होइन, नागरिकको सुरक्षा गर्ने हो। उनीहरूमाथि हैकम चलाउने हैन, सबैभन्दा पहिले सम्झाउने, बुझाउने हो। जंगिदै आस्थालाई ‘तँ’ भन्नु प्रहरीले बाचा गरेको ‘मुस्कानसहितको सेवा’ को नमूना हो? विमानस्थलमा एक जना प्रहरीले आस्थासँग दुर्व्यवहार गरेकी थिइन्। उनको विवेक नपुगेको हुन सक्छ। तर, अहिले त सिंगो प्रहरीले विवेक गुमाएको छ। उसले आस्थालाई १ वर्ष कैद हुन सक्ने अभद्र व्यवहारसम्बन्धी उजुरीमा पक्राउ आदेश लिएर बसेको छ।
प्रहरी मात्र हैन, प्रशासन पनि चुकेको छ। काठमाडौंका सिडिओ जनकराज दाहालले आस्थालाई पक्राउ गर्ने आदेश दिएका छन्। प्रहरीले आफूलाई रिस उठेको व्यक्ति यसैगरी पक्राउ गर्न सक्छ, सिडिओले यसैगरी विवेक प्रयोग नगरी आदेश दिन्छन् भने आमनागरिक कसरी मेरो अधिकारको हनन् हुन्न भन्नेमा आश्वस्त हुन सक्छन्? नागरिकको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक हनन् हुन्छ भनेरै पक्राउ गर्न अदालत वा सिडिओको अनुमति चाहिने व्यवस्था हामीले कानुनमा लेखेका हौं। पक्राउ गर्न आदेश दिनुअघि न्यायाधीश वा सिडिओले पक्राउ गर्नैपर्ने अवस्था छ कि छैन भनेर जाहेरी राम्रोसँग हेर्नुपर्छ। आफ्नो विवेक प्रयोग गर्नुपर्छ।
यति सामान्य भनाभनको विषयमा नागरिकलाई पक्राउ गर्ने आदेश दिन कि त कानुनको मर्म थाहा नहुनुपर्यो, नत्र हाम्रो हातमा डन्डा छ, चाहेकोलाई लगाउन सक्छौं भन्ने सोचले निर्देशित हुनुपर्यो। त्यसमाथि यो घटनामा आस्थाले प्रहरीलाई गाली गरेकोमा सार्वजनिक माफी मागिसकेकी छन्। उनको माफीसँगै यो घटना यहीँ टुंगिनुपर्थ्यो। प्रहरीको अहिलेको मुख्य चुनौती कसरी आममानिसको विश्वास जित्ने भन्ने हो। गल्ती नगरी प्रहरीले निसानामा पार्दैैन, अपराध गर्नेलाई छाड्दैन भन्ने विस्वास स्थापित गराउने हो।
हामी सानैमा हुँदा, कसैलाई झिँजो लगायौँ भने ठूलाबढा भन्ने गर्थे- पुलिसलाई भन्दिन्छु। अनि हामी चुप लाग्थ्यौँ। पञ्चायतमा सत्ताविरूद्ध बोल्नसमेत हुन्नथ्यो, बोले जसलाई जतिसुकै बेला प्रहरी समात्न आउँथ्यो। त्यो कुरा अभिभावकले बच्चालाई प्रहरीको डर देखाएर त्यसरी सिकाउँथे। आज प्रहरीप्रतिको विश्वास धिमा गतिले बढ्दैछ। कतिपय अभिभावक सानैदेखि बच्चाबच्चीलाई सिकाउन थालेका छन्— तिमीलाई कसैले केही गर्यो भने प्रहरीकहाँ जानू, असुरक्षित भयौ भने प्रहरीकहाँ जानू। प्रहरी भने आफ्नो पञ्चायतकालीन छवि कायम राख्नमै तल्लीन देखिन्छ। उसको सबैभन्दा ठूलो चासो नै आमनागरिकको मन जित्ने हैन, उनीहरूको मनमा डर जगाउनेमा छ। आस्थाविरुद्धको वारेन्ट त्यसैको दसी प्रमाण हो। सार्वजनिक स्थानमा नागरिकले शासक, राज्यका निकाय र तिनका प्रतिनिधिसँग चर्को स्वरले बोल्नै नहुने ? प्रश्न गर्नै नहुने ? किन यस्तो गरेको भनेर भन्नै नहुने ? भनिहाल्यो भने ठेगान लगाउन पक्राउ गरिहाल्ने ? जेल हालिहाल्ने ? यही हो नागरिकको अभिव्यक्ति स्वतन्त्रता ?
दुवै पक्षलाई पाठ
आस्थाले संगीत क्षेत्रमा लामो यात्रा गर्नु छ । उनको स्वरमा छुट्टै मौलिकता छ । यो घटनाबाट पाठ सिकेर उनले आफूलाई अझै परिपक्व र बलियो बनाउन सक्छिन् । अनि प्रहरीले पनि आफ्नो संस्थागत आचरण सुधार्ने मौकाका रुपमा यो घटनालाई सदुपयोग गर्न सक्छ ।आस्था राउत र प्रहरी जवानबीच भएको विवाद अपराध होइन, एटिच्युड प्रोब्लम हो, यसको समाधान त्यहीअनुसार हुनुपर्थ्यो, कानुन कार्यान्वयनमा सुन अनि थुनको नीति अपनाउनुपर्छ तर थुन अनि सुनको अभ्यास भइरहेको छ, यो उपयुक्त होइन । यस्ता विषयमा सर्वसाधारणलाई अपराधको चार्ज लगाउँदै जाने हो भने सरकार वा प्रहरी/स्थानीय प्रशासनप्रति नै आम नागरिकमा वितृष्ण पैदा हुन्छ। यसप्रति सरकारी पक्ष नै बढी सहनशील बन्नुपर्छ ।