न्यु डायमन्ड सेमिफाइनलमा

जारी पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यु डायमन्ड स्पोर्टस् क्लब सेमिफाइनलमा पुगेको छ। योसँगै महिलातर्फ सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ।यसअघि तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब अन्तिम चारमा पुगेका हुन्। मंगलबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा न्यु डायमन्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–३, २५–१६, २५–१२ ले हराएको थियो।

न्यु डायमन्डले अन्तिम चारमा आर्मीसँग खेल्ने पनि तय गरेको छ। अर्को खेलमा पुलिस र एपीएफले खेल्नेछन्। यस्तै एपीएफले समूह ‘ए’मा शीर्ष स्थान हात पारेको छ। हिजै भएको समूह चरणको खेलमा एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८ र २५–१० ले हराएको थियो।यसै गरी पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब समूह ‘सी’ र नेपाल एपीएफ क्लब समूह ‘बी’का विजेता टोली बन्दै अन्तिम आठमा पुगेका छन्। समूह चरणको अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–२० र २५–१४ ले पराजित गरेको थियो।

हार बेहोरे पनि मणिमुकुन्दले उपविजेता हुँदै अन्तिम आठमा प्रवेश पाएको छ।त्यस्तै एपीएफले जावालखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४, २५–१० र २५–९ ले हरायो। बुलबुले रारा क्लब समूह ‘बी’मा उपविजेताका रूपमा अन्तिम आठमा पुगेको थियो।आर्मीले अघिल्लो दिनमै समूह ‘ए’ विजेता टोली बन्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। सो समूहबाट नयाँ बजार सामाजिक युवा क्लब उपविजेता बन्दै अगाडि बढेको थियो।त्यस्तै समूह ‘डी’बाट हेल्प नेपाल स्पोर्टस् क्लब समूह विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेता हुँदै अन्तिम आठ पुगे।