जाउलाखेलले एपीएफलाई हरायो,हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा

शहीद स्मारक ए डिभिजन लिगको बिहीबारको खेलमा जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा भएको खेलमा ललितपुरे क्लब जाउलाखेलले विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको हो । जाउलाखेललका लागि एक मात्र गोल फोडे फोफानाले ७१ औं मिनेटमा गरे । खेलको ५७ औं मिनेटमा जाउलाखेलका गोलकिपर टेकेन्द्र थापाले पेनाल्टी एरिया बाहिर बल समातेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

त्यसपछि जाउलाखेलले आधा घण्टा भन्दा बढी १० खेलाडीमा रहेर खेलेको थियो । तर एक खेलाडी कम भएको फाइदा एपीएफले उठाउन सकेन । यस सिजन तेस्रो जित हात पारेको जाउलाखेल ८ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । जाउलाखेलले ८ मध्ये ३ खेलमा जीत, ३ खेलमा बराबरी खेलेको थियो भने दुई खेलमा हार ब्यहोरेको थियो । उता यस सिजन खराब प्रदर्शन गरिरहेको एपीएफको यो पाँचौ हार हो । १ जीत र २ बराबरीबाट ५ अंक मात्र जोडेको एपीएफ पुछारबाट दोस्रो स्थानमा छ । यस हारले एपीएफलाई रेलिगेसनको दबाब बढेको छ ।

हिमालयन शेर्पा क्लबलाई ३-१ ले पराजित गर्दै थ्री स्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्रीस्टारलाई जित दिलाउन सुशील राई, सञ्जोग राई र वासियु हजमतले १/१ गोल गरे । हिमालयन शेर्पाका लागि विदेशी खेलाडी स्टेफेन समिर देउबनीले एक गोल गरे । यसै खेलबाट यस सिजन लिगमा १०० गोलसमेत पूरा भएको छ । थ्रीस्टारका संजोग राईले गरेको गोल चालु लिगको १०० औं गोल हो । खेलको छैटौं मिनेटमै सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए ।पहिलो हाफको ईन्जुरी टाइमको दोस्रो मिनेटमा शेर्पाका स्टेफन समीर देउबेनीले गोल गर्दै खेल बराबरीमा गरे।

तर त्यो खुशी लामो समय टिकेन । त्यसको एक मिनेटपछि नै सञ्जोग राईले गोल गर्दै थ्री स्टारलाई २-१ को अग्रता दिलाए । हाजमतले ५० औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई ३-१ को अग्रता दिलाए । त्यो अग्रता कायम राख्दै थ्री स्टारले यो सिजनको लिगा चौथो जीत हात पारेको हो । जितपछि ८ खेलबाट १४ अंक जोड्दै थ्रीस्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने थ्रीस्टार समान ८ खेल खेलेको मछिन्द्र क्लब दोस्रोमा छ । आर्मी र मछिन्द्रको समान १६ अंक भए पनि गोल अन्तरमा आर्मी अगाडि छ ।