‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक, संकलित आधा रकम रंगशाला निर्माणमा सहयोग गर्ने

पारिवारिक र राजनीतिक बिषयवस्तुलाई समावेश गरेर तयार पारिएको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रामबाबु गुरुङ निर्देशित चलचित्रको ट्रेलर रिलिज गरियो । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतलाई देखाइएको छ । यो चलचित्रले विशेषगरि, श्रीमान् श्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको छ ।

डिन्डु लामाको लगानीमा बनेको यो चलचित्रमा फुर्पा होल्मो सह–निर्माताको रुपमा छन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको समपादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको संगीत छ । यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

‘सेन्टी भाइरस’ फिल्मको प्रमोसनका लागि जगदम्बा सिमेन्टले १० लाख सहयोग गर्ने भएको छ । नेपालको चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस्द्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले १० लाख बराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको हो । समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउण्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा जगदम्बा सिमेन्टले मिडिया प्रमोसन मार्फत सरिक भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुने जगदम्बा सिमेन्टले जनाएको छ । धुर्मुश सुन्तली फाउन्डेसले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ । २०७२ को महाविनाशकारी भुकम्पको पुर्निमाणमा धुर्मुश सुन्तली फाउन्डेसनको योगदान महत्वपूर्ण र उल्लेखनिय रहेको छ ।महोत्तरी,  बर्दिबासस्थित  नमुना मुशहर बस्ती फाउन्डेसनको नमुना योग्य कामको रुपमा रहेको छ । बाढी पीडितका लागि रौटहट, चन्द्रनिगाहपुरमा निर्मित ‘एकिकृत नमूना सन्तपुर बस्ती’ प्रशंसनीय रहेको छ ।राष्ट्र र समाजमा योगदान पुर्याउनुहने व्यक्ति तथा संस्था सबै प्रति जगदम्बा सिमेन्टको सदैब साथ, सहयोग र सद्भाव रहिरहनेछ । जगदम्बा सिमेन्टले धुर्मुश सुन्तली फाउण्डेसनद्वारा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरेको थियो ।

आफू निर्मित तथा अभिनित चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल भावूक देखिए । विशेषगरि, चलचित्र निर्माण गरेपनि खासै समय दिन नसकेको भन्दै उनले आफूले हरेक समय रंगशाला मात्र देख्ने गरेको सुनाए। उनले भने–‘म ६ बर्षदेखि आफ्नो पेशा, घर परिवार, सानी छोरी सबै छाडेर बिहान ४ बजेदेखि बेलुकी ११ बजेसमम देशका लागि खटिरहेको छु । मैले कला क्षेत्रको प्रतिनिधित्व गरेको छु । कैयौ रात सुतेको छैन, कैयौ रात खाएको पनि छैन ।’

सितारामले अगाडि भने–‘अबको ४ महिनापछि रंगशालाको आकार हेरेर कला क्षेत्रले गर्व गर्छ भन्ने लाग्छ । यो रंगशाला कला क्षेत्रले बनाएको हो भन्दा हामी सबै खुशी हुन सक्छौ भन्ने लाग्छ । हामीले यति धेरै काम कला क्षेत्रको प्रतिनिधित्व गर्दै गरिरहेका छौ ।’ उनले रंगशाला नबन्ला किन भन्ने दोधारमा नरहन पनि सबैसँग आग्रह गरे । सितारामले भने–‘रंगशाला ठडिदा हरेक नेपालीको भावना र विचार ठडिन्छ । हामीले एउटै काम गरेको छौ, त्यो हो नेपाल र नेपालीलाई खुशी पार्ने ।’

उनले यी कामहरु नेताले गर्दिएको भए आफूहरु सामाजिक अभियन्ता बनेर जन्मिनु पर्दैन भन्दै अगाडि भने–‘हामी कला क्षेत्रमै रमाएका थियौं । बुढाबुढी जहाँ जाँदा पनि एकसाथ थियौं । अहिले त बुढी कता, म कता थाहा नै हुँदैन । हरेक दिन म रंगशाला बाहेक केही पनि देख्दिनँ ।’उनले चलचित्रको काममा समय दिन आफूले नभ्याएको पनि स्विकार गरे । भने–‘एक दिन १५ घन्टा लगाएर चलचित्रको डबिङ गरेँ । मैले समय दिन भ्याएको नै छैन ।’