मनाङको पाँचौ जित, शीर्ष टिम आर्मीमाथि दबाब

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रालाई ९ खेलसम्म पुर्‍याएको छ । लिग अन्तर्गत बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३-० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन विष्ट र निशान सुब्बाले एक-एक गोल गरे । संकटाका अमित तामाङले एक आत्मघाती गोल गरे ।

४१ औं मिनेटमा लुइस भिडालको क्रसमा अन्जन विष्टको प्रहारलाई संकटाका डिफेण्डर अमित तामाङले आफ्नै पोस्टमा गोल गर्दा मनाङले खेलमा अग्रता लियो । ४३ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी बक्सबाट गोल गर्दै टिमको अग्रता दोब्बर पारे । फेमी जोसुअको पासमा संकटाका डिफेन्डर रोमन लिम्बुले गल्ती गर्दा अन्जनले एकल प्रयासमा गोलकिपरलाई विट गर्दै गोल गरेका थिए । ५३ मिनेटमा मनाङका विमल रानाले गरेको गोल अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिएनन् । 

त्यस्तै ७३ औं मिनेटमा निशाल लिम्बुले पेनाल्टी बक्सको दायाँ भागबाट उत्कृष्ट गोल गर्दा मनाङले ३-० को अग्रता बनाएको थियो । खेलको सातौं मिनेटमा अन्जन विष्टको प्रहार डिफ्लेक्ट भएपछि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाएका थिए । १५ औं मिनेटमा मनाङका कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा संकटाका सुवास गुरुङको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाए ।

२० औं मिनेटमा मनाङका बिमल रानाको प्रहारलाई संकटाका गोलकिपर बिनय श्रेष्ठले बचाउन नसक्दा बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरेका थिए । यस सिजन मनाङको यो पाँचो जीत हो । जीतपछि ९ खेलबाट १९ अंक जोडेको मनाङले दोस्रो स्थानको मछिन्द्र क्लबसंग अंक बराबरी गरेको छ भने शीर्ष स्थानको त्रिभुवन आर्मीसंग अंकदूरी १ मा झारेको छ । संकटा ९ खेलबाट १२ अंकसहित आठौं स्थानमा छ ।