सीताराम पोखरेलको म्युजिक भिडियो सार्वजनिक

मनकारी एवं गुणकारी व्यक्तित्वको परिचय बनाएका गायक सीताराम पोखरेल ३१ वर्षदेखि गायनमा सक्रिय रहँदै आएका देखिन्छन् । आधा दर्जन एल्बम र दर्जनौँ गीत उनका सार्वजनिक भइसकेका छन् । अभिनय, गायन, सङ्गीत, रचनाजस्ता सबै सिर्जनात्मक क्षमता भए तापनि उनी आफुलाई गायकका रुपमा नै चिनाउँदै आएका छन् । आज काठमाडौँमा एक समारोहबीच उनको नयाँ गीतको श्रव्य सामग्री सार्वजनिक गरियो ।

गीतकार रमेश अधिकारी, सङ्गीतकार करणराज कार्की तथा सङ्गीत संयोजक विजेश्वर तण्डुकारसँगको सहकार्यमा बनेको उनको गीतमा वजनदार भिडियो बनेको छ । चलचित्रकै ढाँचामा बनाइएको यो श्रव्य सामग्रीमा निर्देशन जनकदीप पराजुली, छायाङ्कन अर्जुन तिवारी, सम्पादन निशान घिमिरेको रहेको छ । अभिनयमा गायक स्वयं सीताराम पोखरेल, नायिका अनु शाह, सुवास पराजुली, अर्जुन गौतम, प्रांस तिवारीको संलग्नता देखिन्छ । सबैको बेजोड अभिनयको गीत जीवन्त बनेको छ ।

नेपाललगायत विदेशमा समेत साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका गायक पोखरेलले राष्ट्रिय गायन सम्मान, भानु कलाकारिता सम्मान, रानुदेवी अधिकारी सम्मान, लायन्स, जेसिस, लिओ क्लब सम्मान, नेपाल भारत मैत्री सम्मान, भक्तपुर नाटक संघद्वारा सम्मान, राष्ट्रिय नागरिक सम्मान, पूर्वाञ्चल सङ्गीत कला सम्मान, सिम्पल सम्मान, नेपाल सिङ्गापुर समाजद्वारा सम्मान, अनलाइन क्रियसन अमेरिकाद्वारा सम्मान गरी ३५ भन्दा बढी संघ–संस्थाद्वारा सम्मानित भइसकेका छन् ।