बहुआयामिक साहित्य सेवी !!

नेपाली गीतिकारितामा भर्खरै देखापरेकी गीतकार हुन् सुनिता वस्नेत थापा । सुरवी एल्बम लिएर नेपाली संगीतमा आएकी सुनिता गोरखाको नारेश्वरमा जन्मिएर कर्म गर्न अमेरिका पुगेकी छिन् । पेशाले स्वास्थ्य परिचारिका भए पनि उनको मन मस्तिष्क साहित्यिक छ । कोमल र दृढ़निश्चयी स्वभावले सुनितालाई सबैको प्यारो बनाएको छ ।वाल्यकालदेखिनै गीत कबितालाई मनपराउने सुनिता लेख्ने जमर्को गरिरहन्थिन् ।जानेको सकेको लेख्थिन ।त्यहि लेख्ने र रहरी मन नै अहिले परिपक्व कबि र गीतकार भएर देखापरेको छ । उनका दुइटा कृति सुरवी एल्बम र विम्ब कविता संग्रह सुन्दा र पढ्दा उनी राम्रो सृजनात्मक क्षमता भएकी साहित्य सेवी प्रतित हुन्छिन् । यि दुई कृति नै काफ़ी छ यिनको मुल्याकंन गर्न ।

प्रवासमा रहे पनि यिनी फुर्षद निकालेर बेला बेलामा कविगोष्ठीमा कविता, हाइकु,मुक्तक भन्न पुगेकी नै हुन्थिन् । कहि कहि गीत लिएर पुग्थिन् ।सामाजिक अभियन्ता बनेर पनि निक्कै काम गरेकी छिन् । मुल कर्म त स्वास्थ्य परिचारिका त आफ्नो ठाउमा छदैछ । साहित्य संगीत र समाजसेवा उनका रुचीको बिषय नै भयो । कला क्षेत्रकों प्रभाव यिनमा बचपनदेखी नै थियो । जागिर गरेर बचेको समय यिनी साहित्य कर्ममा लगाउथिन् । अमेरिकाका बिभिन्न शहरमा हुने साहित्यिक जमघटमा यिनी पुगेकी छिन् । रहर र जागरले यिनलाई यि सबै काम सहज लाग्थे । लगावले बनाएको साहित्य सेवी भन्दा फरक पर्दैन यिनलाई ।

सुनिताको लेखनकलाबाट धेरै अमेरिकन नेपाली साहित्य सेवीहरु प्रफुल्लित छन् । एकपटक कोलोराडोमा सम्पन्न भएको नारायणगोपाल स्मृति साझमा उनले नारायणले नै गाएका गीतहरु उनेर बनाएको कविता सबैको प्रिय बनेको थियो । उनको त्यो कामको निक्कै तारिफ भएको थियो ।समाजिक संजालमा पनि उनी निक्कै संक्रिय छिन् । आफ्ना गीत कविता, मुक्तक,कथा पोस्ट गरिराख्छिन् । हिजो आज त आफ्ना रेकर्डेड गीतहरु पनि पोस्टमा हेर्न पाईन्छ । समयको हिसावले हेर्ने हो भने उनको लेखनयात्रा २० वर्ष अधि प्रारम्भ भएको देखिन्छ । आफ्नो कवितासंग्रहमा  २० वर्ष पुराना रचनाहरु समावेश देखिन्छन् । पढ़ाई, जागिर , पारिवारिक कर्मले उनको लेखन छेक्न सकेन । समय व्यवस्थापन राम्रो गर्न सक्ने क्षमता पनि उनीमा रहेछ ।

समयसंगै उनको लेखन पनि माझिदै गएको देखिन्छ । नारी प्रधान लेखन छ उनको । नारीलाई प्रधान बनाएर प्रेम आदर्श , कर्तव्य,समानतामा उनको कलम दौडेको देखिन्छ । प्रकृति र मातृभूमि माथी पनि कलम चलाएकी छिन् । उनी सैद्धान्तिक चेतभन्दा माथी उठेर स्वतन्त्र रुपमा आफ्ना भोगाई, परिवेश,घटना, पात्र र प्रवृत्तिलाई चित्रण गर्न रुचाउछिन् भन्ने कुरा कृति पढ्दा सजिलै बुझ्न सकिन्छ । आफु बहुआयामिक भएको आफ्नै रचनामा प्रमाणित गरेकी छिन् । उनको रचनामा विविधता स्पस्ट देखिन्छ ।

गीतिकारिता पनि उनको तारिफ योग्य देखिन्छ । रचना प्रकाशनमा ढिलो देखा परेता पनि लेखकिय यात्रा लामो छ । तसर्थ उनी खारिएकी गीतकार हुन् ।सुरवी उनको पहिलो एल्बम हो । जसमा ६ वटा गीत समावेश छन् ।सुनिल मास्के, शिव परियार ,विश्व नेपाली, वानिका प्रधान,मेलिना राई, अस्मिताअधिकारीको स्वर समावेश एल्बम पनि निक्कै गहकिलो बनेको छ । सुनिल मास्केले सुनिताको गीतमा जीवन भनिदिएकाछन् । मिठो छ उनको संगीत । गीत गहकिला बनेका छन् । लेखनलाई निरन्तरता दिने हो भने एकदिन सुनिताको नाम पनि गीतिकारिता र कविताको क्षेत्रमा चर्चित बन्ने कुरामा दुईमत छैन ।

सुनिताको एल्बम र कविता पढे पछि जो कोहि उनको प्रसंसक बनिहाल्छ । स्तरिय लेखन छ उनको । साहित्य सेवा र कर्म तारिफ योग्य छ । निरन्तरताको कामना ।