खुश्वु खड्का:कमजोर चलचित्रकी कुशल अभिनेत्री

नेपाली चलचित्रमा आफ्नो भाग्य अजमाउन मोफसलबाट धेरै प्रतिभाहरु आईनै रहेका छन् । आउने क्रम हिजो पनि थियो आज पनि छ भोली पनि रहन्छ । यसरी सपनाको शहरमा आएर केहि गर्ने र नाम कमाउने सपना देख्ने युवतीमा ख़ुश्बु खड्का पनि पर्छिन् । सिन्धुपाल्चोकको सागाचोकमा जन्मिएकी खुश्बुको नाम मात्रै ख़ुश्बु होइन काम पनि नाम जस्तै छ । सानैदेखि सबैको आखॉमा आटाएकी यिनलाई सृजनात्मक र कृति राख्न सकिने काममा रुची थियो । पढाई पनि राम्रै थियो ।

मनोरन्जनको रुपमा खेलकुद र नाच गानमा रुची थियो । स्कुलमा पनि यस्ता कुरामा अधि नै थिइन । यिनको वाल्यकाल आधि काठमाडौमा आधी सिन्धुपाल्चोकमा बित्यो । अन्तत: परिवार काठमाडौमै बस्ने गरि हिडे पछि यिनले यतै हुर्किने मौक़ा पाईन ।परिवार काठमाडौ हिडे पछि बाटोमै यिनले ‘अब शहर पसे पछि खेलाडी बन्ने अनि आफु र देशको नाम राख्ने’ सपना बुनेको थिईन ।सोहि अनुसार यता आएपछि आकाश गंगा स्कुलमा पढ़ाई जारी राख्दै साझ बिहान खेलाडी बन्ने उद्देश्य पुरा गर्न तेक्वान्दो सिक्न घर नजिकैको डोजांगमा भर्ना  भईन । मन लगाएर सिकिन । ब्ल्याकबेल्ट फस्टडानसम्म पुगिन । राष्ट्रिय , क्षेत्रिय प्रतिस्पर्धामा भिड्न तयार भएकी थिईन । मनोबल पनि उच्च थियो ।अभ्यासकै क्रममा एक्कासी लिगामेन्टमा समस्या आईदियो । हलचल नै गर्न नसक्ने भईन । अनि इच्क्षा नहुदा नहुदै खेलकुद छाड्न बाध्य भईन । आफ्नो रहर पुरा गर्न नपाउदा निक्कै दिन भाबुक बनिन् । आखॉबाट आशु झारिन । तर के गर्नु नआउनु पर्ने समस्या आएपछि उनीसंग खेल छाड्नु बाहेक अरु उपाए पनि त थिएन। अन्तत: मनलाई निकै कठोर बनाएर आफ्नो खेलकुद करियर बन्द गरिन।

नचाहादा नचाहादै खेलकुद करियर बन्द भए पछि निकै दिन सोचिन । आफुमा अर्को प्रतिभा पनि भएको सम्झिन्। स्कुलमा नाचेको अभिनय गरेको याद आयो । अनि मन मनै सोचिन , खेलकुद नभएर के भयो त म नाच्न पनि सक्छु, अभिनय पनि गर्न सक्छु , चलचित्रको हिरोईन बने कसो होला त ! निकै सोचबिचार गरेपछि कलाकार नै बन्ने निष्कर्षमा पुगिन । घर परिवारसंग पनि सल्लाह गरिन । सबैले प्रोत्साहित नै गरे पछि अबको बाक़ी जीवन कलाकारितामै बिताउने निश्चय गरिन ।परिवारको कान्छी छोरी सबैको माया उनलाई थियो । उनको इच्क्षामा कसैले पनि छेकवार लगाएनन् ।रेखा थापाको सुपर फ्यान । टिभीमा रेखा थापाको नाचको नक्कल गर्दै खुव नाचेर उनको समय व्यतित हुन्थ्यो । खेलकुद टुटेपछि झन् बढि चलचित्र हेर्ने बुझ्ने गर्न थालिन ।बिस्तारै चलचित्र मनदेखि नै मनपर्न थाल्यो । पारिवारिक बिजनेशमा पनि लागिपर्ने गर्थिन । कालाकार भन्ने भएपछि नृत्य पनि सिक्न थालिन । कलेज पनि पढ्दै थिईन ।

परिवारले आफ्नै आत्मनिर्भर बन्नु पर्छ भनेर उनलाई एउटा छुट्टै बिजनेशमा लगाएको थियो । उनी आफ्नो बिजनेश हेर्दै कलाकारितामा आउन तयारी गरिरहेकी थिईन । तिहारको टाईम थियो । साथीहरुबिच द्यौसी भैलो खेल्न जाने कुरा चल्यो । त्यहि सिलसिलामा एउटा साथीलाई आफुलाई चलचित्रमा रहर भएको कुरा उनले बताईन । चलचित्रमा आउन संम्पर्क सुत्रको खोजीमा रहेको जानकारी ति साथीले पाए पछि सकेको सहयोग गरे ।साथी रविमार्फत अरु पनि चिन्दै गईन । साथीहरुकै मार्फत निर्देशक ऋषी लामिछानेको सम्पर्कमा पुगिन । लामीछाने त्यतिखेर एउटा चलचित्रको कलाकार खोजीरहेका थिए । उनले खुश्बुलाई देख्ने बित्तिकै आफ्नो फिल्मको एउटा गीतमा नाच्ने प्रस्ताब राखे । खुश्वुले त्यो प्रस्ताब स्विकार गरिन अनि नाचिन ‘हाम्रो माया जुनी जुनीलाई’ नामक चलचित्रमा । विवाहको पार्टी गीत थियो । ‘लाग्यो बरै मायाको तिर्खा’ बोलको त्यो गीतमा अन्जु पन्तको स्वर थियो भने पर्दामा खुश्वुले ठुलो कोरसलाई लिड गरेर नाचेकी थिइन ।

बि.सं. २०६८ सालमा सार्वजनिक प्रदर्शनमा आएको यहि फिल्मबाट खुश्बु पनि नेपाली रजतपटमा देखापरिन । नृत्य मात्रै भए पनि धेरैले हेरेर यिनको प्रतिभा पारख गर्न पाए । यसपश्चात यिनले पनि चलचित्र क्षेत्रका मान्छेहरु चिन्दै गईन । अफरहरु आउन थाले । म्युजिक भिडियोहरु गर्न थालिन । २०६९ सालमा यिनी नायिकाको रुपमा पहिलोपटक ‘साईना’ नामक चलचित्रमा देखापरिन ।

यो अवसर यिनलाई सुरज प्रधानले दिएका थिए । यो चलचित्रमा यिनी तिनपटक इन आउट हुदै काम गरेकी थिइन । के चित्त बुझ्दैन थियो निर्माण युनिटले हटाउथ्यो अनि फेरी के सोचेर हो बोलाउथे । कुनै झर्को नमानी खुश्बुले इन आउट हुदै यो चलचित्र पुरा गरेकी थिइन । यो फिल्म पश्चात खुश्वुको अभिनय के कस्तो सबैले बुझिसकेका थिए ।त्यहि अनुसार अभिनयको प्रस्ताबहरु पनि उनलाई आउन थाल्यो । खुश्वुका २०७३ सालमा ;उहिले बाजेको पालामा’ , २०७४ सालमा ‘भ्रम’ र ‘दिपज्योती’, ३०७५ सालमा ‘सुकुलगुण्डा’ र २०७६ सालमा ‘रातो टिका निधारमा’ प्रदर्शनमा आएका थिए । यसबिचमा उनी ‘मेरि वास्सै’ मा पनि देखापरेकी थिईन । ‘जुनी’ र ‘सिस्टम’ नामका चलचित्र भने प्रदर्शनमा आउन बाक़ी नै छ ।

१२ वर्ष लामो सिनेयात्रा यिनले तय गरिसकिन । संख्यात्मक रुपमा कम चलचित्र गरे पनि यिनका सिनेमा हेरियो भने उनको अभिनयमा बिबिधता देखिन्छ । जे जस्तो पनि सुहाउने नायिका हुन खुश्वु । गाउले छोरी पनि सुहाएको नै छ । शहरिया युवती पनि सुहाएकै छ । डायलग डेलीभरि पनि पात्र परिवेश अनुसार गर्न सक्ने क्षमता देखिन्छ । आवाज पनि स्पस्ट र मिठो छ । यिनको काम गराईमा कुनै खोट देखिन्न ।दिएको होमवर्क गरेकी नै छिन् । आफ्नो तर्फबाट शत प्रतिशत नै दिएकी छन् । तर बिडम्बना फ़िल्म नै दर्शकको रोजाई पर्न सकेनन । सुटिंग टाईममै भएका चलचित्र  समयमै प्रदर्शनमा आउन सकेका भए  खुश्बुलाई राम्रै न्याय हुन्थ्यो कि ? जति पनि फिल्म यिनले गरिन ति कुनै पनि आशातित सफल भएनन । कमजोर चलचित्रमा सशक्त अभिनय जम्न सकेन । फलस्वरुप आफुमा क्षमता हुदाहुदै पनि खुश्वु चलचित्रको भिडमा हराईन ।

खुश्वु आफू कलाकार भएकोमा गर्वका गर्छिन् । अब त कसैले आफूलाई असफल नायिका भन्छन् कि भन्ने पिर पनि उनलाई लागेको छ । १२ बर्षको दौरानमा खुश्वुभन्दा पछाडि आएका नायिकाहरु स्टार भैसकेका छन् । तर, उनीआफू  ‘फेल’ भएको अनुभव गर्दैछिन् । खुश्वु  ईमान्दार कलाकार हुन भन्ने कुरामा दुइमत छैन । आफूसँग धैर्यता भएको बताउने खुश्वु काममा आफूले मिहिनेत गर्ने बताउँछिन् । आफूले मिहिनेत गर्दा गर्दै पनि चलचित्र नचल्दा कहिलेकाही दिक्क लाग्ने उनको भनाई छ ।खुश्वु अभिनय र व्यापारको अलबा आफ्नो निजी कमाईबाट समाजसेवा पनि गर्छिन् । २०७२ सालको भुकम्पमा मानिसहरुले दुख पाएको देखेर उनको मन चसक्क भयो । अनि आफुसंग भएको ६ लाख रुपैयाबाट खाद्य वस्तु र लत्ताकपडा किनेर पिडितलाई सहयोग गरिन् । भुकम्पमा आफ्नै गृह जिल्ला तहसनहस भएको थियो । सकेको सहयोग गरिन ।

आफु बाल्यकालमा पढेको स्कुल भत्कियो । गाउमा गएर भिमसेन मा वीलाई दुइ कोठे भवन बनाईदिइन। तराईमा गएको बाढीमा जनकपुर र सर्लाइ पुगेर पिडितलाई सहयोग गरिन ।अहिले पनि कोरोनाको महामारीमा पनि यिनी संक्रिय छिन् । दैनिक गंगबु वसपार्क एरियामा कुकुर र चराहरुलाई खुवाई रहेकी छिन् । यिनको मन साच्चिकै परोपकारी छ । दयालु छिन् ।अझै पनि दर्शकको मन मुटुमा बस्न सकिन्छ कि भन्ने सोच लिएर उनी काम गरिरहेकी छिन् । राम्रा चलचित्र यिनले पाउने हो भने वास्तविक रुपमा यिनको कला र प्रतिभाले मुर्तरुप पाउने थियो । धैर्य गुमाएकी छैनन । कलाकारिताको अलबा आफ्नो पर्सनल बिजनेश पनि भएकाले यिनलाई अभिनय गरेरै कमाउनु पर्ने छैन । केबल खाँचो छ त राम्रो अभिनय देखाउन सकिने चलचित्र र राम्रो समय । सहि चलचित्र सहि समयमा सार्वजनिक भयो भने यिनी एकपटक पक्कै चलचित्रको उचाईमा पुग्छिन्। त्यसैले धैर्य साचेर पर्खिरहेकी छिन् । आशा गरौ समयले यिनलाई पक्कै साथ दिन्छ ।