कोरोना कहरमा सतर्क रहदै प्रशिक्षणमा लगानी गरौ यो वर्ष

                                                                           सुशील नरसिंह राणा

                     (लेखक अन्तर्राष्ट्रिय एसोसिएसन अफ एथलेटिक्स महासंघका प्रशिक्षक एवं लेक्चरर हुन्)

अनिकालमा बीउ जोगाउनु भनेझैं यस कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका बेला विश्व खेलक्षेत्रले कसरी आ–आफ्नो खेल बचाउने र सुरक्षित तबरले अगाडि बढाउने भन्नेबारे चिन्तन गरिरहेका छन् । कतिले भाबी कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् । यसमा हामी पनि अछुतो रहनुहुँदैन । कोरोना संक्रमणबाट खेल क्षेत्रमा लागेका युवापिँढीको प्रतिभा जोगाउनु सम्पूर्ण खेलकर्मीहरूको दायित्व रहन्छ भने राष्ट्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडीहरूको स्तर जोगाउनु राष्ट्रको मुख्य दायित्व रहन्छ ।

गत वर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालको खेल इतिहासमै गर्व गर्न लायक  रह्याे । नेपाली खेलाडीहरूले ५१ स्वर्ण, ६० रजत, ९६ कांस्यसहित २ सय ७ पदक जितेर राष्ट्रको पोल्टामा हालिदिए । यो पदकपछाडि खेलाडीको पसिनाका साथै प्रशिक्षण, प्रशिक्षक, व्यवस्थापनको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो भने राष्ट्रिय खेलकुद परिषद्ले लामो समयदेखि प्रशिक्षण, पूर्वाधार र प्रतियोगितामा गरेको अर्बौं रुपैयाँको लगानीको सुखद प्रतिफल पनि  रह्याे ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण अन्य क्षेत्रझैं विश्व खेलक्षेत्रका साथै नेपालको खेलक्षेत्र पनि अछुतो रहेन । वर्ष २०७७ सालको आगमनसँगै कोरोनाको त्रासदीले नेपाली खेलक्षेत्र पनि अस्तव्यस्त देखिन्छ । पत्रपत्रिका तथा सामाजिक सन्जालमा प्रशिक्षण गर्न नपाएर खेलाडीहरूको पीडा छताछुल्ल पोखिएको देख्न पाइन्छ । यी खेलाडीका पीडाहरू अत्यन्त स्वाभाविक पनि छन् । यिनले जीवनमा खेलकै लागि मात्र पसिना बगाए । यिनका प्रशिक्षकले यिनलाई खेलकै कखरा पढाए । यसै क्षेत्रको ग्रेडिङ गराए । यिनले यसैलाई इज्जत, प्रतिष्ठा र आयआर्जनको बाटो रोजे, आफ्नो प्राप्त क्षमता बचाउन र अझमाथि उठाउन यिनीहरू सधैं दत्तचित्त भएर चिन्तित रहनु स्वाभाविक हो । यिनका अभिभावक या आमाबुबा भने पनि अधिकारका लागि कराउने ठाउँ राष्ट्रिय खेलकुद परिषद्लाई नै देख्नु स्वाभाविक नै हो ।

जुन प्रकारले कोरोनाको संक्रमण बढ्दै गएको अवस्था छ । सम्भवतः २०७७ साल कुनै पनि प्रतियोगिताहरू आयोजनाका दृष्टिले उपयुक्त नहुन सक्छ । तर हामीले खेलक्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेर प्राप्त गरेको आजको अवस्थाको नतिजाप्रति नजरअन्दाज गर्ने अवस्था छैन । खेल विज्ञानमा एउटा भनाइ छ ‘ईफ यू डोन्ट युज ईट य लुज ईट’ प्राप्त अवस्थालाई निरन्तरता दिन सकिएन भने आजसम्म गरेको लगानी गुम्नेछ ।विश्वस्तरीय खेलाडी र तिनले दिने नतिजा विज्ञानसम्मत् गरिएको दीर्घकालीन प्रशिक्षण योजनाकै नतिजा हो । आजसम्म हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेका नतिजा विश्लेषण नै गर्ने हो भने सबै औसत अवधिको तयारीमै प्राप्त गरेको (४ देखि ६ महिना) देखिन्छ ।

दीर्घकालीन बन्द प्रशिक्षण सञ्चालन गर्दा चरणबद्ध रूपमा खेलाडीहरूको विभिन्न मोटर एबिलिटीको विकास तथा कार्यक्षमता, स्वास्थ्य अवस्था, मानसिक क्षमता आदिको सूक्ष्म तबरले नतिजा मूल्यांकन गर्न सकिने र खेलाडीको व्यक्तिगत आचरणमा समेत व्यापक परिवर्तन आउने कुरा विभिन्न अध्ययनबाट प्रमाणित भइसकेको छ ।

जापानमा यही जुलाई २४ बाट सुरु हुने भनिएको ३२ औं ग्रीष्मकालीन ओलम्पिक कोभिड–१९ को कारण एक वर्षपछि जुलाई २३, २०२१ मा हुने भनिएको छ । यसपछि २०२१ र ०२२ मा हुने एसियन च्याम्पियनसिप र एसियाली खेलकुदलगायत विश्व च्याम्पियनसिपको तयारी पनि महत्त्वपूर्ण छ । यसैगरी घरेलु खेल गतिविधिमा पनि आगामी एक वर्षसम्म कुनै पनि प्रतियोगिता गर्ने वातावरण नदेखिएको अवस्थामा नेपाली खेलकुदले पनि दीर्घकालीन प्रशिक्षण योजना तर्जुमा गरेर वैज्ञानिक प्रशिक्षण प्रणालीको फाइदा लिँदै यस संक्रमणकाललाई अवसरका रूपमा प्रयोग गर्न सक्ने देखिन्छ ।

खेलाडीलाई संक्रमणबाट सुरक्षित राख्न बन्द प्रशिक्षण उपयुक्त प्रशिक्षण विधि हुन सक्छ, हालको अवस्थामा १३ औं सागमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मिलित गराई बन्द प्रशिक्षण सुरु गर्दा यसको दूरगामी प्रभाव अत्यन्तै सुखद हुने देखिन्छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको दूरगामी प्रभावका कारण बन्द अवस्थामा रहेका स्तरीय होटल वा रिसोर्टहरूमा सर्तसहित बन्द प्रशिक्षण सञ्चालन गर्दा होटल व्यवसायलाई पनि केही राहत पुग्ने देखिन्छ । खेलकुदको उच्च निकाय खेलकुद परिषद र खेलाडी उत्पादन अनि भई राखेका स्तरिय खेलाडी जोगाई राख्नु संघहरुको दायित्व हो त्यसैले समय परिस्थिति अनुसार अगाडी बढनु पर्ने बेला आएको छ ।

साभार :कान्तिपुर दैनिक