पुलिसको पहिलो सानदार जित: रेखा र सिर्जनाले २-२ गोल गरे

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले फराकिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा पुलिसले उदयपुरको चौदन्डीगढी नगरपालिकालाई ६–० ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन रेखा पौडेल र सिर्जना खड्काले २/२ गोल गरे । यस्तै, अमृता जैशी र निर्मला विकले एक/एक गोल गरे ।

खेलको २८औँ मिनेटमा रेखाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ४०औँ मिनेटमा अमृताको गोलसँगै पुलिसले अग्रता दोब्बर पार्‍यो । ४५औँ मिनेटमा सिर्जनाले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाइन् । पहिलो हाफको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिसले ४–० को अग्रता बनायो । ८९औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले ५–० को अग्रता बनायो । खेलको अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६–० को जित दिलाइन् । जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित चौदन्डगढी पहिलो खेलमा नै पराजित हुन पुगेको हो ।