आफ्नो फोहर आफै व्यवस्थापन गरौ पदमार्ग र सिंगो देश सफा राखौ

तीब्र रुपमा बढिरहेको जनसंख्या तथा अव्यवस्थित शहरीकरणका कारण  फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको छ । जसको परिणाम स्वरुप पर्यावरणीय क्षयीकरणका कारण प्रदुषण तथा प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू समेत विनाशको जोखिममा रहेका छन् । सार्वजनिक स्थानहरू जस्तै राष्ट्रिय निकुन्ज , सामुदायिक वन, धार्मिक वन ,नदी किनारहरू, सडक किनारा, मन्दिरहरू, शिक्षण संस्थाहरू, व्याापारिक तथा औधागिक प्रतिष्ठानहरू तथा निजि घर परिसरहरूमा खुल्ला फोहोर फाल्ने कार्यले सामाजिक क्षेत्रमा नकारात्मक परिणामहरू ल्याउनुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने खतरा बढ्दै गएको हुँदा फाहोरमैलालाई स्रोतमा न्यूनिकरण, पुनः प्रयोग, प्रशोधन वा विसर्जनगरी ब्यबस्थित गर्नु पर्ने अवस्था सिर्जना हुँदै गएको छ ।

रासायनिक र बिधुतिय युगको आगमनसँगै फोहोर मैलाको प्रकृतिमा पनि भारी बदलाव आयो र अब सम्पूर्ण फोहोरहरूको व्यवस्थापन प्राकृतिक उपचारले मात्र सम्भव नहुने भयो। जब स्थानीय निकायहरूको गठन वा पुनर्गठन भए र ऐनले फोहोर मैला व्यवस्थापनमा स्थानीय तहलाई जिम्मेवार निकाय बनायो तब आम नागरिकमा फोहोर मैला व्यवस्थापन नितान्त स्थानीय तहको दायित्व हो भन्ने भ्रम सृजन गरिदियो। स्थानीय तहको क्षमता वृद्धि हुन नसक्दा प्रविधि र प्राविधिक ज्ञानको अभावमा स्थानीय तहमा अन्योलता सिर्जना भयो। स्पष्ट र दर्ह्रिलो कानुनी धरातलको अभावले गर्दा अनुगमन निकाएको भूमिका कर्म काण्डी रहन गयो । यिनै कारणले फोहर व्यवस्थापनमा समस्या आयो ।आज फोहोर मैला व्यवस्थापन हामीलाई  फलामको चिउरा चपाय सरि हुन पुग्यो ।

वातावरण संरक्षण ऐन २०५३ ले दिएको अधिकार प्रयोग गरी बनेको फोहोर मैला व्यवस्थापन ऐन २०६८ लागु भएको ७ वर्ष बितिसक्दा पनि फोहोर मैला व्यवस्थापनमा तात्विक परिवर्तन नआउँदा र तत् सम्बन्धमा सरोकारवालाबाट अझै पनि कुनै ठोस कार्य योजना सार्वजनिक नहुँदा आम नागरिक चिन्तित मात्र हैन दिक्भ्रमित भएका छन् ।

जुन समयमा पश्चिमा राष्ट्रहरू समेत फोहोर मैला व्यवस्थापनमा अलमलमा थिए हामी त्यति बेला फोहोर मैला व्यवस्थापनमा अब्बल थियौ । सन् १९१९ मा चन्द्र शम्शेरको पालामा फोहोर मैला व्यवस्थापन गर्न सफाइ अड्डा गठन गरिएको थियो । अधिकांश फोहोरहरूलाई खाल्डो(जसलाई सागा र नौगा भनिन्थ्यो) मा पुरेर जैविकमल मा रूपान्तरण गरिन्थ्यो र खेतबारीमा विसर्जन गरिन्थ्यो या त अन्य किसानलाई बिक्री गरिन्थ्यो ।

नेपाली समाजमा फोहोरमैलाप्रतिको सोच अत्यन्त सतही रहेको छ । आफैँद्वारा उत्सर्जन भएको फोहोरले कतिसम्म हानि पुर्‍याउँछ भन्नेसमेत हामीलाई थाहा छैन । साथै हावापानी र जमिन के कारणले दूषित हुन्छ र मानिसमा त्यसको प्रभाव कुन प्रकारको पर्छ भन्ने ज्ञानको अभावमा हाम्रो समाजले फोहोरलाई वेवास्ता गरेको पाइन्छ । जसका कारण फोहोरजन्य रोगले धेरै व्यक्ति विरामी बन्ने गरेका छन् । घरमै उत्सर्जन भएको फोहोर उचित व्यवस्थापन गर्न नसक्दा लाग्ने रोगबारे पनि नेपाली समाज अनभिज्ञ रहेको छ । यही कारणले जतासुकै फोहोर फाल्ने चलन हट्न सकेको छैन । उद्योग, कलकारखाना र अस्पतालबाट उत्पादित घातक फोहोरसम्बन्धी जनचेतना जाग्न सकेको पाइँदैन । जसका कारण घातक खालका रोग भित्रिनेद्वार खुल्ने सम्भावना रहिरहन्छ ।

नेपालीको परमपरा नै भन्नु पर्छ आफूले उत्पादन गरेको सामान्य खालको फोहोरसमेत सरकारी निकायले व्यवस्थापन गरिदियोस् भन्ने मानसिकता छ । जतासुकै फोहोर फालिदिने, ठीक समयमा, ठीक ठाउँमा फोहोर नफ्याँक्ने, फोहोर व्यवस्थापनका लागि आएको बहान गइसकेपछि फोहोर ल्याएर कुठाउँमा फाल्ने  समस्याले देश आक्रान्त बनेको छ । समुदायमा रहेको यस खालको बानी हटाउन समुदाय नै लाग्नु पर्ने अवस्था छ ।

कमसेकम आफूद्वारा सिर्जित फोहोर आफैँले उचित व्यवस्थापन गर्नु पर्छ भन्ने ज्ञान सबैमा हुनु जरुरी छ । अहिले फोहोर व्यवस्थापनको कठिनाई उपत्यकाले बढी भोग्नु परेको छ । मुख्यतया सडकमा फोहोर थुपार्नु पर्ने बाध्यता, अस्वभाविक रूपले बढेको जनघनत्वले जतासुकै उत्सर्जन गर्ने अव्यवस्थित फोहोर, प्रत्येक पसलमा प्रयोग गरिने प्लास्टिकका झोला र सडेका सामान मिल्काउने चलन समस्याका रूपमा रहेको छ । हेर्दा झिनामसिना लाग्ने यस्ता फोहोरले कति प्रकारको रोग व्याधी फैलाउँछ भन्ने ज्ञान नहुनु अर्को समस्या देखिन्छ ।

फाहोरको समस्याभन्दा डरलाग्दो समस्या भनेको समाजमा रहेको फोहोरसम्बन्धी अज्ञानता देखिन्छ । यो अज्ञानता हटाउन सक्ने हो भने फोहोमैलासम्बन्धी समस्या समाधान हुने थियो । अर्कोतर्फ सरकारी निकायको मुख ताक्ने परम्पराले पनि फोहोर व्यवस्थापनमा कठिनाइ थपेको छ । प्रत्येक टोलले आफ्नो घर आँगन सफा राख्न, भान्सा र चर्पीबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न साथै प्लास्टिकका झोला भरसक प्रयोग नगर्न र गरे पनि उचित ठाउँमा व्यवस्थापन गर्न लगाउने एउटा समिति गठन गर्नैपर्छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाविस वा फाहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको मुख ताकेर बस्ने परम्परा तोड्नका लागि पनि सचेत नागकिरले सचेतनामूलक गतिविधि गर्न पहल गर्नुपर्छ ।

सहरको प्रत्येक घरबाट फोहोर उत्सर्जन हुन्छ, होटल, कलकारखाना, उद्योग, अस्पताल, स्कुल, खाली मैदान र पसलहरूबाट पनि फोहोर उत्पादन हुनु स्वभाविक हो । घातक फोहोर उचित व्यवस्थापन नहँदा ज्यानमारा रोग फैलन सक्छ । अस्पताल र उद्योगबाट उत्पादन हुने फोहोर मानव स्वास्थ्यका लागि सबैभन्दा घातक हुने ठहर भएको छ । यो फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकाय नै लाग्नुपर्छ । अहिलेसम्म नेपालका अस्पताल र उद्योगहरूले आफ्नै पहलमा फोहोरमैला व्यवस्थापन गरेको दोखिँदैन । सरकारी निकायले उपलब्ध गराएको स्थानमा फोहोर व्यवस्थापन नहुँदा पनि जनताले निकै ठूलो समस्या बेहोर्नु परेको छ ।

सभ्य समाज सधैं सफा रहन्छ। अर्थात् कुनै पर्यटकिय क्षेत्र सफा देखियो भने बाहिरबाट घुम्न आउने मान्छेको मुखबाट स्वत:स्फुर्त यस्ता उद्गार सुन्न पाइन्छ– अहा यो  पर्यटकिय क्षेत्रको मान्छेहरू कस्ता सभ्य रहेछन्। तर आज हाम्रा शहरहरू ,गाउँहरू, निकुन्जहरु अनि अन्य  जंगल र संपदा क्षेत्र सबै फोहर छन्। फोहर मैला व्यवस्थापन हाम्रो लागि चुनौती नै भएको छ। फोहरको थुप्रोले हाम्रो त मन खिन्न ‘मुडअफ’ हुन्छ भने विकसित राष्टूहरूबाट आएका विदेशीहरूको लागि टाउको दु:खाइ नहुने कुरै भएन।

आजभन्दा दुई दशक पहिले काठमाडौंलाई सफा शहर नै मानिन्थ्यो र हामीलाई विदेशीहरूले गिज्याउँदैनथे। तर आज देशको बेरोजगारितासँगै ह्वात्तै बढेको जनघनत्वको चापको कारण जहाँतहीं थुप्रिएको फोहर–मैला देखेर काठमाडौंलाई विदेशीहरूले गिज्याइरहनु नै पर्दैन। उनीहरूको अगाडि हामीलाई त्यसै पनि आत्माग्लानि भइहाल्छ। विकसित राष्ट्रहरूले फोहर मैला व्यवस्थापन चुस्त दुरुस्त गरेको देख्दा हामीलाई अचम्म लाग्छ। कहिलेकाहीं हाम्रो मनमा यस्तो तरङग आउछ– ‘यिनीहरूले फोहर नै गर्दैनन् कि कसो’  फोहर त जरूर गर्छन्। तर, फोहर व्यवस्थापन चुस्त ढङगले गर्छन्।

फोहर मैलाको पहिलो सिद्धान्त त फोहर नै नगर्नु हो। हामीले फोहर नै गरेनौं भने फोहर मैला व्यवस्थापन त्यसै पनि सरल भएर जान्छ। फोहर नै नगर्नु त सम्भव छैन। तर, चेतनाको स्तर अभिवृद्धि भएको छ भने फोहर व्यवस्थापन सहज हुन जान्छ। कुनै पार्टी अथवा पिकनिकमा हामीले खान सक्ने परिमाणको खाना मात्र लियौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग नै गरेको ठहर्छ। कारण, हामीले फ्याँकेको खानाले फोहर मैला व्यवस्थापनको चुनौतीलाई झन् चुनौतीपूर्ण बनाइदिन्छ।

त्यस्तै, कुनै सामान खरिद गर्दा हामीले पोलिथिनको थैलीसहित सामान लिएनौं भने पनि हामीले फोहर मैला व्यवस्थापनलाई सहयोग गरेको ठहर्छ। कुनै पनि सामान प्रयोग गर्दा ‘वेस्टेज’ नगर्ने, गर्नै परे पनि न्यूनतम प्रयोग गर्ने, वेस्टेज सामानलाई सकेसम्म पुन: प्रयोग गर्न कोशिश गर्ने वा पुन: प्रशोधन गरी केही उपयोगी सामान बनाई प्रयोगमा ल्याउने गर्‍यौं भने यसबाट हाम्रो घर, गाउँ/समाज, शहर, बाटो र राष्ट्रमा नै फोहर मैला व्यवस्थापनलाई सहयोग त पुग्न जान्छ नै, र थोरै मात्रामा भएपनि आर्थिक बचत तथा आर्जनसमेत हुन्छ।

फोहर मैला व्यवस्थापनमा अनुशासन तथा संस्कारको पनि भूमिका रहन्छ। जेसुकै फोहर जतासुकै फ्याँक्ने हाम्रो संस्कार छ। यस्तो कार्य व्यक्तिगत लगायत सार्वजनिक हितका निम्ति पनि एकदम नै आपत्तिजनक हो। पान, सुर्ती, खैनी, गुट्खा खाएर फ्याँक्ने, थुक र माटोमा नगल्ने प्रकारको त्यसको प्लास्टिक खोल, सिगरेट (चुरोट) को ठुटा, कागजको टुक्रा, सुर्ती, खैनी, गुट्खाको व्यापार, खकार, सिँगान आदि मात्र पनि निर्दिष्ट ठाउँमा फ्याँके फोहर मैला व्यवस्थापनमा ठूलो सहयोग पुग्न जान्छ।

फोहर मैला व्यवस्थापनमा प्रविधिभन्दा व्यवस्थापन पक्ष हावी जस्तो लाग्छ। सडकको नालामा नबग्ने, नकुहिने जस्ता फोहर जथाभावी फ्याँक्नु हुँदैन भन्ने कुरा सबैलाई थाहा छ, तर सबैले फ्याँकिरहेका छन्। वर्षापूर्व ढल/नाला सफा गर्नु/गराउनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ। तर न कसैले यस्तो काम गर्छ न गराउन कुनै पहल गर्छ। पोलिथिन/प्लास्टिकका टुक्राटाक्री आदिले नाला थुन्छ, यो गलेर जाँदैन भन्ने कुरा पनि सबैलाई थाहा छ।

प्रत्येक जिम्मेवार जनमानसमा यस्ता कुरा थाहा भएर पनि यी सबै गर्न नहुने कामहरू भइरहेको र हुने गरेकोले प्रविधिभन्दा व्यवस्थापन पक्ष हावी भएको भनिएको हो। जसको कारण हामी आफैंले गर्दा सडकमा हिंड्दा या शहर बजार जाँदा दुर्गन्धले नाक खुम्च्याएर, मुख छोपेर हिंडिरहेका हुन्छौं। दुर्गन्धले गर्दा हिड्दा हिंड्दै वा बसिरहेकै ठाउँमा थुकेर थप फोहर दुर्गन्ध गरिरहेका हुन्छौं। यस्तो कुराको कसैले याद गरिरहेको हुँदैन। यी सबै जनचेतना र सुशासनको अभावकै कारण भएको मान्न सकिन्छ।

कुहिएर जाने अर्गानिक फोहरलाई कम्पोस्ट मल बनाई मोहर (आम्दानीको स्रोत) बनाउने प्रविधि विकसित भएको नै छ। साथै, कुहिएर नजाने, तर पुन: प्रयोग गर्न सकिने फोहर जस्तो–पोलिथिन, प्लास्टिक, रबर, शीशा, टिन, फलामका टुक्राहरू आदि कच्चा पदार्थको रूपमा तह लगाउन सकिन्छ। केही सिप नलागे ‘इन्सीनेरेटर’ जस्तो प्रविधि प्रयोग गरी उच्च तापक्रममा पगाल्न पनि सकिन्छ। शहरको मान, मर्यादा तथा शानको लागि पनि फोहर मैला व्यवस्थापन गर्नै पर्छ।

जनताको स्वास्थ्यको लागि पनि फोहर मैला व्यवस्थापन गर्नैपर्छ। फोहरको कारणले आउँ, हैजाजस्तो सङ्क्रमित रोग फैलियो भने जनमानसलाई त हैरान पार्छ नै, देश हाँक्ने सरकारलाई समेत अस्तव्यस्त पार्न पछि पर्दैन। तसर्थ फोहर मैला व्यवस्थापन सही ढङगबाट गर्न सरकारले विभिन्न सरकारी वा गैरसरकारी सङ्घ/संस्थालाई आवश्यकता बमोजिम कानुनी बल, आर्थिक सहयोग र प्रविधि उपलब्ध गराएर भएपनि प्रोत्साहित गर्दै तालिम सहितको जनचेतना अभिवृद्धि गराउनु र सुशासन कायम गर्नु आजको आवश्यकता बनेको छ।

मुख्य रूपमा मानिसमा चेतनाको अभाव नै अहिले खड्किएको विषय हो । अर्को पक्ष भनेको नीति लागू गर्न दबाब सिर्जना गर्न नसक्ने अवस्था पनि हो । तेस्रो पक्ष भनेको फोहोरमैलालाई स्रोतमै पहिचान साथ छनोट गरी व्यवस्थित गर्न नसक्ने नै हो । यसका लागि पनि विशेषगरी विभिन्न माध्यमद्वारा प्रचारप्रसार नै गरिनुपर्छ ।

फोहोर व्यवस्थित हुन नसक्दा राज्यलाई निकै ठूलो घाटा हुन्छ । पहिलो त पर्यटन आगमनमा असर पुर्‍याउँछ । दोस्रो जनस्वाथ्यमा गम्भीर समस्या, उत्पन्न गराउँछ र अन्यखालका बाधा उत्पन्न गराउँछ । तसर्थ फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न जरुरी छ । त्यसका लागि जनस्तरबाट पनि सम्बन्धित निकायलाई सहयोग हुनुपर्छ । यदि नेपालीको सोचमा परिवर्तन आयो र फोहोरले पुर्‍याउने हानि बारे जनचेतना फैलाउन सकियो भने अति सुन्दर ढंगले फोहोर मैला व्यवस्थापन हुन सक्छ ।

पर्यटनलाई देशको मुल आयश्रोत बनाउने निती राज्यले अवलम्बन गरिरहेको छ । त्यसैले सबै पदमार्ग , सम्पदा क्षेत्र , जंगल , निकुन्ज क्षेत्र पनि फोहरमैलाको सबालमा सचेत हुनैपर्छ । पर्यटन व्यवसायी र स्थानिय जनताको यसमा ठूलो भुमिका हुन्छ । आफ्नो फोहर आफै व्यवस्थापन गर्न सकेमा मात्र पर्यटन क्षेत्रले काचुली फेर्न सक्छ नत्र कोहि पर्यटक पुन नेपाल धुम्न आउदैनन् । एकपटकमा नै चित्त बुझाउँछन् ।

यहि कुरालाई मनन् गरेर केहि पदयात्रामा रूची राख्ने व्यक्तिहरूले यसमा चासो देखाएर पदमार्ग सफा राख्ने अभियान सुरु गरेका छन् । बिभिन्न ठाउँमा आफु आफु समुह बनाएर सफा गर्ने काम प्रारम्भ पनि भएका छन् । यसमा काठमाडौ हाईकिग ग्रप, हाईकफर नेपाल , प्रकृतिप्रेमी समुह लगायत एकदर्जन संघसॉस्था र समुहहरू क्रियाशील देखिएका छन् । यस्ता सकारात्मक सन्देशमुलक अभियानको कदर गर्नै पर्छ । फोहर व्यवस्थापनमा सबै जुट्नै पर्छ ।

प्रस्तुति: राजाराम फुयाल

फोटो सौजन्य : काठमाडौ हाईकिंग ग्रुप