३२औं गृष्मकालीन टोकियो ओलम्पिककी कान्छी खेलाडी

३२औं गृष्मकालीन ओलम्पिकमा विश्वभरका करिब ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा कोही स्वर्ण पदक जितिसकेका खेलाडी छन् भने कोही पहिलो पटक सहभागिता जनाउँदैछन् ।

यस्तै उमेर अनुसार पनि विभिन्न समूहका खेलाडीहरु छन् । त्यसमध्ये टोकियो ओलम्पिक २०२० मा सिरियाकी हेन्ड जाजा सबैभन्दा कान्छी खेलाडी हुन् । उनको उमेर १२ वर्ष मात्र रहेको छ । उनी टोकियोमा सिरियाबाट टेबलटेनिसमा प्रतिनिधित्व गर्दैछिन् । उनी कान्छी खेलाडी मात्र भएर चर्चामा आएकी होइनन् । उनी ओलम्पिकमा सिरियाबाट टेबलटेनिसमा सहभागी हुने पहिलो खेलाडी समेत हुन् ।

ओलम्पिकको इतिहासमा निकै प्रतिभावान युवा खेलाडीले विश्वव्यापी यो मञ्चमा राम्रो प्रभाव छाडेको धेरै उदाहरण छन् । यो क्रम टोकियो ओलम्पिकमा पनि टुटेको छैन । यसपटक सिरियाकी १२ वर्षीया हेन्ड जाजा ओलम्पिकमा डेब्यु गर्दै छिन् । उनी टोकियो ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।

शनिबार टोकियो ओलम्पिकमा जाजाले आफ्नो पहिलो खेल अष्ट्रियाकी लिउ जियासँग प्रतिस्पर्धा गर्दै छिन् । शनिबार ओलम्पिकमा डेब्यु गरेसँगै उनी ओलम्पिक खेल्ने सन् १९६८ यताकै सबैभन्दा कम उमेरकी खेलाडी हुने छिन् ।

सिरियाकी १२ वर्षीया टेनिस खेलाडीले गत वर्षको फेब्रुअरीमा जोर्डनमा भएको एसियाली छनोटमा लेबनानकी ४२ वर्षीया मारियाना साहाकियानलाई हराउँदै टोकियो ओलम्पिकमा आफ्नो सिट सुनिश्चित गरेकी हुन् ।

सबै उमेर समूहमा राष्ट्रिय उपाधि जित्ने उनी पहिलो सिरियाली खेलाडी हुन् र उनी शनिबार टोकियो ओलम्पिकमा आफ्नो डेब्यु गर्न गइरहेकी छिन् । त्यतिमात्र होइन, जाजा सिरियाबाट सोझै ओलम्पिकमा छनोट भएकी पहिलो खेलाडी हुन् । ‘यो मेरो देश, मेरा अभिभावक र सबै साथीहरुका लागि उपहार हो,’ मार्क डटकमसँगको कुराकानीमा जाजाले भनिन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो लक्ष्य विश्व च्याम्पियन बन्नु हो र एकदिन ओलम्पिक च्याम्पियन बन्नु हो ।’

अन्य सिरियाली बालबालिका जस्तै जाजाको बाल्यकालको अधिकांश समय सिरियाली गृहयुद्धको छायाँमा बितेको छ । यसबाट बाहिर निस्किन उनले टेनिसलाई रोजिन् । बारम्बार बत्ती जाने समस्याका कारण जाजाको अभ्यास रोकिएको थियो ।

बन्द कोठामा अवस्था राम्रो नभएका चारओटा टेबल र सम्म नपरेको भुइँमा उनले अभ्यास गर्नुपर्थ्यो । तर, विषम परिस्थितिले उनको ओलम्पिक खेल्ने सपनालाई छेक्न सकेन । उनले पाँच वर्षको उमेरदेखि नै टेबल टेनिस खेल्न थालेकी थिइन् । जाजाका प्रशिक्षकका अनुसार मुलुकमा जारी रहेको युद्धको कारण जाजाले एक वर्षमा जम्मा दुई वा तीनओटा बाह्य खेल खेल्ने मौका पाउँनेछिन् ।

जाजा परिवारकी कान्छी सदस्य हुन् । उनका चार दाइ छन् । उनका बाबु पूर्वफुटबल खेलाडी हुन् र अहिले जिम्न्यास्टिक्स सिकाउँछन् । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन डटकमसँगको कुराकानीमा जाजा भन्छिन्, ‘खेलकुद मेरो रगतमा छ ।’

‘मेरो परिवारका सबैले मलाई सानैदेखि निकै सहयोग गर्दै आएका छन्, उनीहरुले सानैदेखि मेरो ख्याल राख्दै आएका छन् । उनीहरुले मलाई खेलकुदमा अघि बढ्न हौसला दिए ।’

जाजाले आफ्नो पढाइ पनि छाडेकी छैनन् । उनी आफूलाई गणित विषय मन पर्ने बताउँछिन् ।

युद्धको बीचमा हुर्किएकी स्टार

सन् २००९ मा सिरियाको हामा भन्ने स्थानमा जन्मिएकी जाजा २०१४ मा पहिलोपटक टेबलटेनिस खेल्न थालेकी थिइन् । उनको सहर आतंकवाद र युद्धबाट सबैभन्दा धेरै प्रभावित भएको स्थान हो । त्यसैले जाजा र उनको दाइले धेरै अवरोध तथा चुनौतीको सामना गर्नुपरेको थियो ।

जाजाका दाइ पनि टेबल टेनिसका राष्ट्रिय च्याम्पियन हुन् । बीबीसीसँगको कुराकानीमा जाजा भन्छिन्, ‘मैले यो खेल सुरु गर्नुको कारण मेरो दाइजस्तै बन्ने चाहना हो । मैले उनका भिडियोहरु हेर्थेँ र उनलाई आफू पनि त्यस्तै बन्न चाहेको बताउँथे ।’

‘उनले पनि मलाई हौस्याए र मैले कडा मेहनत गरे ठूलो उपलब्धि हासिल गर्न सक्ने बताए’, जाजा थप्छिन् ।

सन् २०१६ मा जाजाका दाइ कतारमा वेस्ट एसिया होप्स वीक एण्ड च्यालेन्समा भाग लिन गए । त्यतिबेला जाजा सात वर्षकी थिइन्, उनी पनि दाइसँगै कतार गइन् । त्यहाँ उनलाई आफूभन्दा बढी उमेरका खेलाडीसँग अभ्यास खेल खेल्ने अवसर जु¥यो । त्यसपछि उनले आफ्नो क्षमता देखाइन् र धेरैको ध्यान तान्न सफल भइन् ।

जाजा यसपटकको ओलम्पिकमा राम्रो प्रभाव पार्ने लक्ष्य रहेको बताउँछिन् । टोकियो ओलम्पिकमा सिरियाको टोलीका ६ खेलाडीमध्ये उनी एकमात्र महिला हुन् ।

एजेन्सीहरुको सहयोगमा