इरानी विद्रोह र इंग्ल्यान्डको ६ गोल इरानी खेलाडीद्वारा राष्ट्रिय गान गाउन अस्वीकार

कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ । इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे । त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।

कप्तान ह्यारी केनले दुई गोलका लागि सहयोग गरे । सन् २००६ को विश्वकपमा डेविड बेकहमले ट्रिडिनाड एण्ड टोबागो विरुद्ध दुई गोलको लागि असिस्ट गरेका थिए । इरानका लागि मेहदी तारेमीले दुई गोल गरे । तारेमीले ६५औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा दोस्रो गोल गरे । पहिलो खेलमै शानदार जितपछि इंग्ल्याण्डले कतार विश्वकपको लागि आफ्नो दाबेदारी समेत पेश गरेको छ । इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्नेछ ।

वास्तवमै इरानी टिम मैदानमा ओर्लनुअघि नै तनावमा थियो । त्यसको कारण आफ्नै देशमा भइरहेको महिलामाथिको अत्याचारविरुद्ध ओर्लिएका जनतामाथि सरकारले गरेको दमन हो । महिलाको लागि सार्वजनिक स्थलमा बुर्का लगाउन अनिवार्य गरेपछि पक्राउ गरिएका २२ वर्षीया मासा अमिनीको प्रहरी नियन्त्रणमा छँदै मृत्यु भएको थियो । प्रहरीको ज्यादतीबाट उनको मृत्यु भएको भन्दै सरकारको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ भने सरकारले दमन गरिरहेको छ । प्रदर्शनमा ४ सय बढीको ज्यान गइसकेको विभिन्न मानव अधिकारवादी संस्थाहरूले जनाएका छन् । महिला अधिकार कायम हुनुपर्ने आवाज इरानी फुटबल खेलाडीहरूले पनि उठाइरहेका छन ।

इरानी राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेलमा सरकारी अत्याचारको विरोध गर्दै विश्वकै सबैभन्दा लोकप्रिय प्रतियोगिताको महाकुम्भमा पनि केही गर्ने संकेत दिइसकेको थियो । खेल सुरु हुनुअघि दुवै प्रतिस्पर्धी देशका राष्ट्रिय गान बजाइन्छ, जसका कारण फुटबलले राष्ट्रियतालाई बलियो बनाउने गरेको छ । छैटौंपल्ट विश्वकपमा सहभागी इरानले विगतका संस्करणमा आफ्नो देशलाई एकताबद्ध बनाउने गरेको थियो । तर, कतार संस्करणको पहिलो खेलमै इरानी टिम एकातिर र महिलामाथि दमन गरिरहेको इरानी सरकार अर्कोतिर भएको छ । इरानी खेलाडीहरूले इंग्ल्यान्डविरुद्धको खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरिदिए । रंगशालाको साउन्ड सिस्टममा आफ्नो राष्ट्रिय गान बजिरहँदा इरानी खेलाडीहरू भने चुपचाप रहे, गाएनन् ।

त्यसपछि भएको प्रतिस्पर्धामा इरानी टिम इंग्ल्यान्डसामु साह्रै फितलो साबित भयो । गारेथ साउथगेटको टिम चार वर्षअघि रुसमा भएको २१ औं संस्करणको सेमिफाइनलमा पुगेको थियो । इंग्ल्यान्डले आफ्नै भूमिमा भएको युरोपियन च्याम्पियनसिप २०२१ को फाइनल पनि खेलेको थियो । त्यसपछि भने इंग्ल्यान्डले उस्तै राम्रो प्रदर्शनलाई निरन्तरता दिन सकेको थिएन । त्यसैले सन् १९६६ यता पहिलो उपाधि जित्ने इंग्ल्यान्डको पुरुष टिमको चाहना भए पनि उसलाई कतारमा उपाधिको प्रमुख दाबेदार मानिएको छैन । तर, पहिलो खेलमा आधा दर्जन गोल गर्दै इंग्ल्यान्डले फेरि कमजोर नभएको संकेत दिएको छ । लयमा फर्किएको देखिएको छ ।

गोलकिपर अलिरेजा बेइरानभान्डले क्रसमा आएको बल रोक्ने प्रयासमा आफ्नै टिमका मजिद होसेनीसँग ठोक्किएर खेलको सुरुआतमै मैदान छाड्नुपर्‍यो, जुन इरानलाई महँगो पर्‍यो । युरोपेली लिगका अनुभवी खेलाडीको साथ भए पनि इरानको प्रिमियर लिगका खेलाडीले भरिएको इंग्लिस टिमविरुद्ध केही सीप चलेन । विश्वकपमा लगातार तेस्रोपल्ट इरानी टिम सम्हालेका प्रशिक्षक कार्लोस क्विरेजले पनि केही गर्न सकेनन् । खेल पूर्णत: इंग्ल्यान्डको नियन्त्रणमा रह्यो ।