विश्वकपको भव्य उद्घाटन

१२ वर्षअघि आयोजनाको अधिकार पाएदेखि नै लगातारको विवाद र आलोचनापछि विश्वकप फुटबलको २२ औं संस्करण कतारमा सुरु भएको छ । प्रविधिको उच्चतम प्रयोग र कतारी सभ्यताको झलक प्रदर्शन गर्दै अल रायनस्थित अल बायत रंगशालामा आइतबार उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ । विश्व फुटबलको सर्वोच्च प्रतियोगिता ९२ वर्षको इतिहासमा पहिलोपल्ट खाडी क्षेत्रमा आयोजना गरिएको हो । हालसम्मकै सबैभन्दा बढी २ खर्ब २० अर्ब अमेरिकी डलर लगानी गरिएको यो विश्वकपका खेल सञ्चालन हुने आठ रंगशालामध्ये सातवटा नयाँ निर्माण गरिएको हो ।मरुभूमिमा शीतल छहारीमा बस्नका लागि बनाइने टेन्टको आकृतिमा निर्मित ६० हजार दर्शक क्षमताको अल बायत रंगशालामा करिब ३० मिनेटको उद्घाटन समारोह आधुनिक प्रविधिबाट प्रेरित थियो ।

चार वर्षपछि उत्तर अमेरिकी महादेशको अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने विश्वकपमा ४८ देशले प्रतिस्पर्धा गर्नेछन् । त्यसर्थ ३२ टिमको अन्तिम विश्वकप कतार संस्करण नै हो । यिनै ३२ देशका टिमले यो विश्वकपमा लगाउने जर्सी र झन्डा उद्घाटन समारोहमा प्रस्तुत गरियो ।सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपका सबै संस्करण (२२) कै मस्कट पनि प्रस्तुत गरियो । कतारी सभ्यता र संस्कृति झल्को दिने प्रस्तुतिसँगै ओस्कर अवार्डमा ५ पल्ट नोमिनेसनमा परेका कलाकार मोर्गन फ्रिम्यान मैदानमा आएका थिए ।

उद्घाटन समारोहको प्रमुख प्रस्तुति विश्व विख्यात दक्षिण कोरियाली ब्यान्ड बीटीएसका गायक जुङ कुकको सोलो गीत ‘ड्रिमर्स’ रह्यो । उनले कतारी गायक फहद अल खुबइसीसँग ट्रयाकमा गाउँदै उक्त गीत ड्रिमर्स सार्वजनिक गरे । मानवअधिकार र श्रमिकलाई दिइएको सुरक्षा तथा सुविधाबारे प्रश्न उठाउँदै विश्वका चर्चित केही कलाकारले उद्घाटन समारोहमा प्रस्तुति दिन अस्वीकार गरेका थिए ।विश्वकप १९९८ को च्याम्पियन फ्रान्सेली टिमका रक्षक मार्सेल डेसाइजीले ट्रफी प्रदर्शन गरे । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी, उनका बुबा शेख हमाद बिन खलिफा, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो अतिथि रहेका थिए । शेख तमिमले फुटबल खेल्दा लगाउने जर्सी रंगशालामा उपस्थित सबैलाई दिएका थिए । पहिलोपल्ट हिउँद याममा आयोजित विश्वकप २९ दिन चल्नेछ, जसको फाइनल १८ डिसेम्बरमा लुसेल रंगशालामा हुनेछ ।