कतारले नचाहेको रेकर्ड

कतार विश्वकप फुटबलको उद्घाटन खेलमा पराजय बेहोर्ने पहिलो आयोजक टिम बनेको छ । उसले अल बायत रंगशालामा भएको खेलमा दक्षिण अमेरिकी टिम इक्वेडरविरुद्ध २–० को हार बेहोरेपछि नचाहेको कीर्तिमान लेखाएको हो ।एसियन च्याम्पियनविरुद्ध दुवै गोल प्रिमियर लिग क्लब वेस्टह्याम र एभरटनका पूर्वफरवार्ड इनर भ्यालेन्सियाले गरे । उनले तेस्रो मिनेटमै बललाई पोस्टको दिशा दिएर घरेलु दर्शकलाई शान्त पारेका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्री (भार) ले उक्त गोलको मुभमा माइकल एस्ट्राडालाई अफसाइड देखाइदियो । उनले १६ औं मिनेटमा पेनाल्टीमा गोलकिपर सद अल सिबलाई उल्टो दिशामा डाइभ गर्न लगाउँदै सहजै गोल गरेर इक्वेडरलाई अग्रता दिलाए । अल सिबले भ्यालेन्सियालाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

भ्यालेन्सियाले ३१ औं मिनेटमा दोस्रो गोल गरेपछि इक्वेडरले २–० को अग्रता लियो । कतारमा आएर इक्वेडरका लागि ३७ गोल पुर्‍याएका ३३ वर्षीय उनले विश्वकपमा गरेको पाँचौं गोल हो । उनी इक्वेडरका लागि विश्वकप र अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी हुन् । मिडफिल्डमा नियन्त्रण राखेको इक्वेडरले खेलमा अरू थप गोलका अवसर पनि पाएको थियो तर उपयोग गर्न सकेन । कतारले पहिलो हाफ र दोस्रो हाफमा पाएका एक–एक अवसरमा बललाई पोस्टको दिशा दिन सकेन ।

दोस्रो हाफमा कतारले सुधारिएको प्रदर्शन गर्‍यो । दोस्रो हाफको मध्यतिर घरेलु टिमका हजारांै समर्थकले रंगशाला छाडेका थिए । खेलाडीले मिहिनेत कायमै राखेका थिए । तर, कतारले विश्वकप डेब्युमा गोलको खाता खोल्न पनि सकेन । र, ९२ वर्षको इतिहासमा उद्घाटन खेलमै हार्ने आयोजक टिमका रूपमा खराब इतिहासबाट जोगिन पनि सकेन । अब कतारलाई अर्को खराब रेकर्डका रूपमा समूह चरणबाटै बाहिरिएको दक्षिण अफ्रिका (सन् २०१०) को कीर्तिमानबाट टाढा रहन पनि मुस्किल देखिएको छ ।

प्रशिक्षक फेलिक्स सान्चेजको टिमले दोस्रो खेलमा सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बायर्न म्युनिखका फरवार्ड साडियो मानेलाई चोटका कारण गुमाएको टिमविरुद्ध कतारले स्तब्ध पार्ने प्रयास गर्नेछ । इक्वेडरले दोस्रो खेलमा समूहकै सबभन्दा बलियो मािनएको नेदरल्यान्ड्सको सामना गर्नेछ ।