आर्चरीमा गण्डकी टिम च्याम्पियन

गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा टीम च्याम्पियन बनेको छ ।  कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ कांस्य जित्यो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पारेको छ । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदक प्राप्त गरेको हो । चौथो स्थानमा रहेको पुलिसले १ स्वर्ण, २ रजत र १ कांस्य जित्यो । प्रदेश १ ले २ रजत जित्दा सुदुर पश्चिमले १ रजत र २ कांस्य तथा बाग्मती प्रदेशले १ कांस्य मात्र जित्न सक्यो । बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते ।

उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । एपीएफका विराट थापा तेस्रो भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै थिए । विराट पाँचौ वरियतामा थिए ।रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै संवरण जितिन् । आर्मीकै ज्ञानु अवाले तेस्रो भइन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा थिइन् । ज्ञानु तेस्रो वरियतामै थिइन् ।कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै खेलाडी फाइनल प्रतिस्पर्धा गरे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै थिए । सुरेश चौथो वरियतामा थिए ।

कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले पराजित गर्दै स्वर्ण जितिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राई तेस्रो नै भइन् ।स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । र्याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि परे । बाग्मतीका फर्माचन शेरचन तेस्रो भए । शेरचन पाँचौ वरियतामा थिए ।

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । आर्मीकी शारदा बिक तेस्रो भइन् । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा थिइन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा थिए ।कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड ९३० मिटर, कम्पाउण्ड ९५० मिटर र रिकर्भ ९७० मिटर  विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।