नेदरल्यान्ड्सको विजयी सुरुवात

अन्तिम समयमा गरेको दुई गोलमा नेदरल्यान्ड्सले सोमबार अफ्रिकन च्याम्पियन सेनेगलमाथि २–० को जित हात पारेको छ । यसले समूह ‘ए’ मा लुइस भान गालको टोलीलाई सानदार सुरुआत दिलाएको छ ।

दोहामा ८४ औं मिनेटमा उत्कृष्ट लयमा रहेका विङ्गर कोडी गाक्पोले गोलको खडेरी तोडेका थिए । फ्रान्क डी जोङको क्रसमा उनले ग्लान्स हेडमार्फत गोल गरेका थिए । ८ मिनेट थपिएको इन्ज्युरी टाइम पार गरिसकेको अवस्थामा वैकल्पिक खेलाडी डेभी क्लासेनले डच टोलीबाट दोस्रो गोल थपेका थिए । प्रमुख खेलाडी साडियो मानेविनै खेलेको सेनेगलबाट गोलरक्षक इडुआर्ड मेन्डीले बिर्सनलायक प्रदर्शन गरे । नेदरल्यान्ड्सबाट गरेको दुवै गोलमा उनी दोषी देखिए । पहिलो गोलमा उनले डी जोङको क्रस ठम्याउन सकेनन् । उनी अगाडि बढेको मौकामा गाक्पोले गोल गरे ।

मेम्फिस डिपेको प्रहारलाई मेन्डीले नियन्त्रणमा लिन नसकेर फर्काएपछि क्लासेनले दोस्रो गोल गरेका थिए । तीनपल्टको उपविजेता डच चार वर्षअघिको विश्वकपमा भने छनोट हुन सकेको थिएन । कप्तान भर्जिल भान डाइकको नेदरल्यान्ड्स राष्ट्रिय टोलीबाट यो ५० औं खेल थियो । प्रमुख प्रतियोगितामा भने यो उनको पहिलो खेल हो । प्राय: दोस्रो रोजाइमा रहने नेदरल्यान्ड्सका २८ वर्षे गोलरक्षक एन्ड्रिज नोपेर्टले स्मरणीय प्रदर्शन गरे ।