पोल्याण्ड र मेक्सिकोले अंक बाँडे

कप्तान रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न असफल भएपछि पोल्याण्डले कतारमा जारी फिफा विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको छ । समूह सी अन्तर्गत स्टेडियमा ९७४ मा मंगलबार भएको खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टोलीले समान एक अंक पाएका छन् । मंगलबारै भएको समूह सी को पहिलो खेलमा साउदी अरेबियाले उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो । पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेपछि यो समूह खुल्ला भएको छ । पोल्याण्ड र मेक्सिकोबीच खेलको पहिलो हाफ गोलरहितमा सकिएको थियो ।

दोस्रो हाफमा पोल्याण्डले अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मेक्सिकोका हेक्टर हेरेराले लेवान्डोस्कीलाई फउल गरेपछि भिएआरको सहयोगमा पोल्याण्डले पेनाल्टी पाएको थियो । यसमा लेवान्डोस्की चुके भने मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचाअ नायक बने । लेवान्डोस्कीको प्रहार ओचाअले डाइभ गर्दै शानदार बचाउ गरे । मेक्सिको र पोल्याण्डले बराबरी खेलेपछि पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनालाई केही राहत भएको छ ।  यो समूहमा साउदीकाे ३ अ‌ंक भएकाे छ भने मेक्सिको र पोल्याण्डको समान १-१ अंक छ । कुनै अंक नजोडेको अर्जेन्टिनाले अब मेक्सिको र पोल्याण्डसँग नै खेल्ने छ ।