डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै एक एक अंक पाए । २२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो । यसअघि अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए ।

६२ प्रतिशत बल पोसेसन राखेको डेनमार्क खेलमा अघि देखिएको थियो । डेनमार्कले ११ सट प्रहार गर्दा ट्युनिसियाले १३ सट प्रहार गरेको थियो । तर गोल गर्न भने सकेनन् । खेलमा डेनमार्कका लागि आन्द्रेज कोर्नेलिउसले पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।