फ्रान्सको विजयी सुरुवात

ओलिभए जिरु कीर्तिमानी गोलमा साविक विजेता फ्रान्सले फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभए जेरुले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा अस्ट्रेलियाले हार बेहोरेको हो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर फ्रान्सका लागि खेलको २७ औँ मिनेटमा राबिओटले बराबरी गोल फर्काए । खेलको ३२ औँ मिनेटमा जेरुले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।  खेलको ६८ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१ औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो ।

फ्रान्सका लागि ५१ गोल गरेका जेरुले थिएरी हेनरीको नाममा रहेको फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’ को फ्रान्स शीर्ष स्थानमा छ । अस्ट्रेलियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।