स्पेनको शानदार जित, कोस्टारिकाको पोष्टमा ७ गोल

कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह इको खेलमा स्पेनले कोस्टारिकालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ । विश्वकपमा स्पेनको यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । साथै यस विश्वकपको पनि यो फराकिलो जित हो । अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनलाई फराकिलो जित दिलाउने क्रममा युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । फेरान टोरेसले दुई गोल गरेको खेलमा ६ फरक खेलाडीले गोल गरे । फेरानले ३१औं र ५४औं मिनेटमा गोल गरे । डानी ओल्मोले ११औं र मार्को असेन्सिओले २१औं मिनेटमा गोल गरेका थिए ।

यस्तै गावीले ७४औं मिनेटमा गोल गरे । १८ वर्षीय गावी विश्वकपमा गोल गर्ने स्पेनको सबैभन्दा कान्छा खेलाडी बने भने समग्रमा पेले र मानुएल रोसासपछि तेस्रो कान्छा खेलाडी बने । यतिमै स्पेन रोकिएन । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कार्लोस सोलरले ९०औं र अल्भारो मोराटाले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले फराकिलो जित निकालेको हो । सन् २०१० को च्याम्पियन स्पेनले पहिलो खेलमै फराकिलो जित निकाल्दै उपाधि दाबेदारी पेश गरेको छ । यसै समूहमा रहेको पूर्व च्याम्पियन जर्मनी भने पहिलो खेलमै जापानसँग पराजित भएको छ ।