क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकियो

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह एफको खेलमा साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाँड्नु परेको हो । अफ्रिकन राष्ट्रविरुद्ध विश्वकपमा यसअघि दुई खेल खेल्दा दुवैमा विजयी भएको क्रोएसियाले मोरोक्को विरुद्ध भने गोल गर्न सकेन ।अल बात स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा क्रोएसियाले ६४ प्रतिशत बल पोसेसन राखेको थियो । तर लुका मोडरिचको टोलीले गोल गर्न भने सकेन ।

कतार विश्वकपमा बराबरी भएको यो चौथो खेल हो भने गोल नभएको तेस्रो खेल हो । यसअघि डेनमार्क र ट्युनिसिया तथा पोल्याण्ड र मेक्सिकोबीचको खेलमा पनि गोल भएको थिएन । अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए । यसै समूह अन्तर्गत मध्यराति पौने १ बजे बेल्जियम र क्यानडाबीच खेल हुनेछ । आजै समूह ई मा रहेका जर्मनी र जापानबीच पौने ७ बजे तथा स्पेन र कोस्टारिकाबीच राति पौने १० बजे खेल सुरु हुनेछ ।